दुई दिन सञ्चालन गरेर बन्द गरियो मीरगञ्ज पुल, भन्सारले लेख्यो पत्र, पूर्वको ब्यापार संकट

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ कात्तिक ५ गते १४:५४ | Oct 22, 2017
दुई दिन सञ्चालन गरेर बन्द गरियो मीरगञ्ज पुल, भन्सारले लेख्यो पत्र, पूर्वको ब्यापार संकट
विराटनगर। सीमावर्ती भारतीय बजार जोगबनीदेखि ५ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुल २ दिन सञ्चालनमा ल्याएर भारतीय पक्षले फेरि अवरोध गरेको छ।
 
पुलको भारवहन क्षमताको रिपोर्ट प्राप्त नभएको भन्दै भारतीय प्रशासनले अवरोध गरेको हो। पुलमाथि फलामको आग्लो वेल्डिङ गरेर ठूला मालवाहक सवारी हिँड्न नसक्ने गरी अवरोध गरिएको छ।

 
पुलको मरम्मत गत असोज २५ गते सकिएको थियो। असोज २६ गते प्राविधिकले पुलको भारवहन क्षमताको परीक्षण गरेर मालवाहक सवारीलाई सञ्चालन सुरु गराएका थिए। 
 
तर २८ गते बिहानै पुलमाथि फलामे आग्लो वेल्डिङ गरेर फेरि अवरोध सृजना गरिएको छ।
 
पुलको भारवहन क्षमता परीक्षण गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, महासङ्घको प्रदेश १ का सदस्य श्रवण अग्रवाल र विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र परासर पनि मरम्मत स्थल पुगेका थिए।  
 
केन्द्रीय सदस्य बोहराका अनुसार पुलमाथि ३२ मेट्रिक टन मालसामान लोड गरिएका ४ ट्रक  राखेर प्राविधिकको समूहले भारवहन क्षमताको परीक्षण गरेको थियो।
 
परीक्षणको प्रतिवेदन अझै नआएको भन्दै भारतीय प्रहरी र प्रशासनले असोज २८ देखि मालवाहक सवारीका लागि पुल सञ्चालनमा रोक लगाएको छ।
 
पुलबाट मालवाहक सवारी आवतजावत गराउन नसकिएको ठिक २ महिना पुगिसकेको छ। साउन २८ र २९ को बाढीपछि भदौ ५ गते पुल क्षतिग्रस्त भएको पत्ता लागेको थियो। भदौ ५ देखि नै पुलबाट ठूला मालवाहक सवारी आएका छैनन्। 
 
भदौ ५ अघिसम्म उक्त पुलबाट ९० मेट्रिक टनसम्म मालसामान लोड गरिएका लरीहरू ल्याइएको विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष परासरले जानकारी दिए।
 
पुल क्षतिग्रस्त भएको पत्ता लागेपछि भीमनगर–कोशी ब्यारेज नाकाबाट रिरुट हुँदै मालासामान ल्याउने गरिएको छ। 
 
सामान्यतया कोलकाता बन्दरगाहबाट ५ दिनमा आइपुग्ने मालवाहक साधन रिरुट गर्दा कम्तीमा १० दिन लाग्ने गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले बताए।
 
मीरगञ्जको पुल अहिलेसम्म सञ्चालनमा आउन नसक्नु दुःखको विषय भएको उल्लेख गर्दै अध्यक्ष शारडाले यसका लागि अब सरकार नै प्रभावकारी ढङ्गले सक्रिय हुनुपर्ने आग्रह गरे।
 
रिरुट गरेर सामान ल्याउनु पर्दा ढुवानी खर्च दोब्बर बढेको र समयमा सिपिङ कम्पनीलाई कन्टेनर दिन नसक्ता बिलम्ब शुल्क (डिटेन्सन चार्ज)–को पनि मार खप्नु परेको उनले गुनासो गरे। यसबाट राष्ट्रिय अर्थतन्त्रमै गम्भीर प्रभाव परिरहेको अध्यक्ष पवनको दाबी छ।
 
भन्सारले लेख्यो पत्र 
यसैबिच विराटनगर भन्सार कार्यालयले भन्सार विभागलाई पत्र लेख्तै परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासमा पुल सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरेको छ।
 
‘हामीले विभागलाई यहाँको यथार्थ जानकारी उल्लेख गर्दै पत्र लेखेका छौँ’, भन्सार प्रमुख मीमांसा अधिकारीले भने, ‘विभागले परराष्ट्र मन्त्रालयमा र परराष्ट्रले भारतीय राजदूतावासको कार्यालयमा पुल मरम्मतका लागि पहल गर्न हाम्रो अनुरोध हो।’
 
रिरुट गरेर आयातनिर्यात गर्नुपर्दा व्यवसायी, स्थानीय बासिन्दा, क्लियरिङ एजेन्टमात्र नभई सुरक्षाकर्मी र भन्सारकर्मीले समेत विगत २ महिनादेखि धेरै झन्झट र दुःख ब्यहोर्नु परेको उनको गुनासो थियो।

Tata
GBIME
Nepal Life