नारायणी अस्पतालमा कर्मचारीकै गर्भवती छोरीको मृत्यु, बिहान ३ बजे पुगेको बिरामी ८ बजेमात्र भर्ना

बिजमाण्डू
२०७४ कात्तिक ५ गते १२:४८ | Oct 22, 2017

वीरगंज। मध्य तराईंको पुरानो अस्पताल नारायणी उपक्षेत्रीय अस्पताल डाक्टरहरुको लापरवाहीको अखडामा परिणत हुन थालेको छ।

Tata
GBIME
Nepal Life

चिकित्सकको चरम लापरवाहीको कारण अस्पतालका कर्मचारीकै छोरीबेटी मर्न थालेपछि वीरगंजमा खैलाबैला भएको छ।

अस्पतालका स्वीपर विनोद राउतकी २२ वर्षिया छोरी कबिता देवीको शुक्रबार राती १ बजे उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा चरम लापरवाही भईरहेको कुरा पुष्टी भएको छ।

३५ जना विशेषज्ञ डाक्टर भएको नारायणी अञ्चलकै ठूलो अस्पतालमा गर्भवती छोरीको ज्यान जोगाउन नसकेको बिनोदले बताए।

"हामी माथी त यसरी लापरवाही हुन्छ भने अरुको हालत के होला" विनोदले भक्कानिदै भने, " आफु कार्यरत अस्पताल भएरनै छोरीलाई यही अस्पताल ल्याएको थिए, डाक्टरहरुले छोरी मारिदेलान भन्ने लागेको भए अन्तै लगेर उपचार गराउँथे।"

कबिता प्रसुती गराउन अस्पताल भर्ना भएकी थिईन। डाक्टरहरुको लापरवाहीले गर्भवती श्रीमतीको मृत्यु भएको कबिताका पति कुन्दन शाहले बताए।
प्रसव पिडाले च्यापेपछि बिहान ३ बजे अस्पताल पुगेकी कबितालाई नर्सहरुले ८ बजे मात्र आउनु भनी घर फर्काई दिएका थिए।

८ बजे परिवार सहित प्रसुती गराउन पुगेकी कबिता हाँस्दै आउने आशमा परिवारका सदस्यहरु बसेका थिए, तर राती बच्चा जन्माउने वार्डबाट आमा र बच्चाको शव आएको कुन्दन बताउँछन्।

बिहिबार चिकित्सकहरुले बच्चा जन्माउन प्रयास गरेपनि सफल भएनन्। अपरान्ह ४ बजे सम्म बच्चा नजन्मिएपछि भ्याकुम प्रविधिबाट जन्माउने प्रयास गरियो। त्यसरी पनि बच्चचा नजन्मिएपछि कबिताको अवस्था नाजुक हुँदै गएको थियो।

साझ ६ बजे शल्यक्रिया गरि बच्चा जनमाउन सुझाव दिएपछि प्रसुती वार्ड प्रमुख डाक्टर सुरेन्द्र चौधरीले शल्यक्रिया गरि बच्चा निकालेका थिए। तर बच्चाको पेटमै मृत्यु भईसकेको थियो।

शल्यक्रिया पछि अत्याधिक रक्तश्राव भएकाले कबिताको मृत्यु भएको अस्पतालले परिवारलाई बताएको छ।

कबिताको अवस्थामा चिकित्सकहरुले किन बिहानै देखि चासो दिएनन्? जिम्मेवारी कसले लिने? कर्मचारीकै परिवारमा यस्तो घटना हुन थालेपछि अरुको अवस्था के होला भन्ने प्रश्नको वीरगंज बासीहरु उत्तर खोजिरहेका छन्।

प्रसुती वार्डका प्रमुख डाक्टर सुरेन्द्र चौधरीले चिकित्सकले सक्ने जति गरे पनि उनको अवस्था नियन्त्रण भन्दा बाहिर गएकाले मृत्यु भएको दावी गरे।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्र रञ्जन शाह असोज ३० गते फेलोसिपमा अध्ययनका लागि काठमाडौं गएपछि अस्पतालमा लापरवाही बढेको हो।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ईनामुल हकले यो विषयमा मुख खोलेका छैनन्।