२५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ: कुकुरबारे जान्नै पर्ने ८ वटा तथ्य

बिजमाण्डू
२०७४ कात्तिक १ गते १०:०६ | Oct 18, 2017
२५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ: कुकुरबारे जान्नै पर्ने ८ वटा तथ्य
काठमाडौं। आज कुकुर तिहार। तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ।
 
केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्टले कुकुरबारे केही रोचक तथ्य बताएका छन्। पढौँ कुकुरबारे जान्नै पर्ने ८ तथ्य-


 
१. कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र हुन्छ।
 
२.सुन्न सक्ने क्षमता पनि मानिसको भन्दा कुकुरको धेरै गुणा बढी हुने गर्छ। मानिसले २० हर्जदेखि २० हजार हर्जसम्म सुन्न सक्छ। कुकुरले भने २० हर्जदेखि १० लाख हर्जसम्म सुन्ने क्षमता राखेको हुन्छ।
 
३.राति कुकुरले झनै मज्जाले देख्न सक्छ। मानिसको आँखाले पछाडि केही रहेको छ/छैन भन्ने देख्न सक्दैन। कुकुरले आफ्नो पछाडि, दायाँबायाँ मज्जाले देख्न सक्छ। कुकुरले २७० डिग्रीसम्मको एन्गलमा देख्ने गर्छ।
 
४.तालिम प्राप्त कुकुरले २५ जना खाली हात बराबरका मानिसले दिने सुरक्षा दिन सक्छ। त्यसैले कारागार, विशिष्ट व्यक्तिको सुरक्षामा कुकुरलाई खटाइने गरिन्छ।
 
५. अहिले प्रहरीसँग भएका कुकुरले १ दिनका घटनाको मात्र सुँघेर पत्ता लगाउने गरेको छ। तर व्लड हाउन्ड कुकुरले भने ४ दिनसम्मको घटनालाई सुँघेर पत्ता लगाउन सक्छ। व्लड हाउन्ड नेपाल प्रहरीले केही समयअघि भित्र्याएको छ। यो कुकुरको सुँघ्ने क्षमता ३ सय मिलियनभन्दा बढी हुन्छ।
 
६. व्लड हाउन्ड डग अमेरिकाका प्रहरीले जटिल प्रकृतिका घटनालाई पत्ता लगाउन प्रयोग गरिरहेको छ। अमेरिकी अदालतले व्लड हाउन्ड कुकुरले गरेको संकेतलाई मान्यता दिने गरेको छ।
 
७. कुकुरलाई ब्वाँसो प्रजातिबाट विकास भएको मानिन्छ।
 
८.कुकुरले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब फेरेर छोड्ने गर्छ। अर्को कुकुरले पिसाबकै माध्यमले पहिचान गर्दछ। कुकुरले खुट्टा उचालेर माथितिर पिसाब गर्नुको कारण आफूलाई शक्तिशाली मान्ने र प्रभाव छोड्न हो।

Tata
GBIME
Nepal Life