दुई बर्षसम्म नबनेको वीरगंज बसपार्क सात महिनामा सक्न मेयर सरावगीको निर्देशन, नत्र ठेक्का रद्द

बिजमाण्डू
२०७४ असोज २९ गते १०:३५ | Oct 15, 2017
वीरगंज। वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंजमा बन्दै गरेको सुविधायुक्त अत्याधुनीक बसपार्कको निर्माण अबको ७ महीनाभित्र जसरी पनि सक्न निर्देशन दिएका छन्। निर्माणाधिन बसपार्कको स्थलगत निरिक्षण गरेपछि ठेकेदार कम्पनीका प्रतिनिधी र प्राविधीकहरुसँग छलफलपछि निर्देशन दिएका छन्। 


 
करिब दुई बर्ष बित्न लाग्दा पनि मुलुककै प्रमुख आर्थिक नगरी वीरगंजको बसपार्क बन्न सकेको छैन। सारोकारवालाहरु धेरै हुँदा आपसी समन्वय नहुदाँ बसपार्कको काममा ढिलाई भएको हो। उनले अबको ७ महिनामा काम सकेन भने अर्को पटक म्याद थप नगर्ने चेतावनी दिए।
 
‘काम सक्न ठेकेदारसँग हाल अढाई महिना समय बाँकी छ, चार महिना थप्ने सल्लाह भइरहेको छ, मोटामोटी ७ महिनामा काम सकेन भने ठेक्का रद्द गर्छु,’ उनले भने, ‘जनताको करलाई, ऋण अनुदानमा सञ्चालित परियोजनाको व्याजमा खर्च गर्न सकिदैन।’
 
उनले निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने– कमजोर नीतिका कारण थुप्रै परियोजना अलपत्र परेका छन्, माथिल्लो निकायले यसमा समन्वयकारी भुमिका निर्वाह गर्ने समिति बनाउनु पर्ने देखिन्छ।


 
जर्मन दातृ संस्थाको १८ करोडको ऋण अनुदानमा वीरगंज नगर विकास कोषले बसपार्कको निर्माण कार्य गर्न डेढ वर्ष अगाडि ठेक्का लगाएको थियो। २०७३ बैशाखदेखि निर्माण कार्यको ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०७३ चैत २४ देखि मात्र काम शुरु गरेको थियो। नाकाबन्दी, बालुवागिटीको समस्या तथा प्राविधिक कमजोरीका कारण काममा ढिलाई भएको ठेकोदार कम्पनी रोशन जेभीका निर्देशक अच्युत राउतले बताए। बसपार्कको ठेक्का आशिस, पप्पु, रोशन जेभीले सकार गरेका छन्।
 
ठेकेदारलाई शुरुमा १५ महिनाको समय दिइए तापनि एक पटक ७ महिनाको म्याद पनि थपिसकिएको छ। 

Tata
GBIME
Nepal Life