भारतको मीरगञ्ज पुल विहिबारदेखि सञ्चालनमा आयो, रिरुट अझै चार दिन कायम रहने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ असोज २६ गते २०:०१ | Oct 12, 2017
विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीदेखि ५ किलोमिटर दक्षिणमा मुख्य सडकमा रहेको मीरगञ्ज खोलाको पुल विहिबारदेखि सञ्चालनमा आएको छ ।

Tata
GBIME
Nepal Life


बुधबार राति पुलको मर्मत सकिएपछि बिहिबार दिउँसो भारतीय प्राविधिकको समूहले पुलको भारवहन क्षमताको परीक्षण गरेको थियो ।पुल मर्मतका लागि पहल गरिरहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, महासङ्घको प्रदेश १ का सदस्य श्रवण अग्रवाल र विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र परासर बिहिबार मीरगञ्ज पुगेका थिए ।
 
केन्द्रीय सदस्य बोहराका अनुसार पुलमाथि ३२ मेट्रिक टन मालसामान लोड गरिएका ४ ट्रक  राखेर प्राविधिकको समूहले भारवहन क्षमताको परीक्षण गरेको छ ।परीक्षणको प्रतिवेदन आउन दुर्इ दिन लाग्न सक्ने भारतीय पक्षले बताएको छ । साउन २८ र २९ गतेको बाढी आउनुअघि सो पुलबाट ९० मेट्रिक टनसम्म मालसामान लोड गरिएका लरीहरू ल्याइएको विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष परासरले बताए ।
 
अध्यक्ष परासरका अनुसार ९० मेट्रिक टन सम्मको स्वीकृति प्राविधिकले दिएमा आयातनिर्यात सहज हुनेछ ।पुलबाट साना सवारी साधनमात्र सञ्चालन गर्न भारतीय पक्षले लगाएको फलामे ढाँट पनि बिहिबार दिउँसो फुकालेको छ ।विहिबार नेपालतर्फ आउने ४० मालवाहक ट्रक पुलबाट भित्रिएको उल्लेख गर्दै परासरले यताबाट जाने रित्ता ट्रक र कन्टेनर सबै त्यही पुलबाट गएको जानकारी दिए।
 
अझै चार दिन रिरुट
विहिबारदेखि पुल सञ्चालनमा आएपनि कम्तीमा आइतबारसम्म रिरुट कायम रहनेछ । रिरुटका लागि प्रक्रियामा रहेका र बाटामा रहेका मालवाहक सवारी आइतबारसम्म जाँचपास भइसक्ने आशा गरिएको छ ।
 
गत साउन २८ र २९ गते पुर्वी तराईमा आएको बाढीले मीरगञ्जको पुल भास्सिएको थियो । पुल भास्सिएको गत भदौ ५ गते पत्ता लागेको थियो ।यसपछि रिरुट गरेर भीमनगर–कोशी ब्यारेज नाकाबाट आयात गर्नुपर्दा ठुलो व्यापारिक नोक्सानी भइरहेको छ ।