मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा, सहकारीले दियो बिनाधितो ऋण, फेरिए कृषकका दिन

रासस
२०७४ असोज २६ गते १५:११ | Oct 12, 2017

पाल्पा। रिब्दिकोट गाउँपालिका–६ ठिमुरे इजरडाँडाका बासिन्दा मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा लागेका छन्।

Tata
GBIME
Nepal Life

उनिहरुले पहिला वर्षौंदेखि दैनिक ठूलो परिमाणमा मदिरा उत्पादन गरेरै परिवार पाल्ने गरेका थिए।


 फाईल फोटो
मदिराजन्य पदार्थको उत्पादन गरी बिक्री–वितरण गर्दा समाजमा नराम्रो छाप परेपछि उनीहरुले व्यवसाय नै परिवर्तन गरी गाई पाल्न शुरु गरेका छन्।गत वर्षबाट गाउँका १८ घरपरिवारले मदिरा उत्पादन छाडेर उन्नत जातका २/२ वटा गाई पाल्न शुरु गरेका छन्।
 
व्यवसायका लागि फूलबारी बचत तथा ऋण सहकारी संस्थाले बिना धितो ऋण लगानी गरिदिएपछि सजिलो भएको उनीहरु बताउँछन। गाईपालन गरि एकै जनाले दैनिक १५ देखि १८ लिटरसम्म दूध बिक्री गर्दै आएका छन्।
 
दाना र घाँसपानीको उपयुक्त तालमेल गराउन सके एउटा गाईबाट पनि मनग्य आम्दानी लिन सकिने कृषक ढालबहादुर उचै बताउँछन्। उचै लामो समयसम्म आर्थिक उपार्जनका लागि मदिराजन्य पदार्थ उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आईरहेका थिए।  
 
मदिरा उत्पादनबाट राम्रै कमाइ भएको थियो तर समाजमा प्रतिष्ठा मानमर्यादामा नराम्रो छाप पर्दै गएपछि व्यवसाय परिवर्तन गरेको उनले बताए।
 
यस्तै, विष्णु पाडेँ मगरले पनि घरखर्च र छोराछोरीको पढाईका लागि मदिरा उत्पादन गरि बजारका विभिन्न पसलमा बिक्री गर्थे। “घरव्यवहार चलाउनका लागि मदिरा उत्पादन गर्न बाध्य भए।” उनले भने। दूध बिक्रिबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको पाडेंले बताए।
 
मदिराजन्य पदार्थ उत्पादनभन्दा गाईपालन व्यवसाय गर्न सजिलो मात्र नभई अहिले सबैले व्यवसायको प्रशंसा गर्न थालेको माया गाहा बताउँछिन। “रक्सी उत्पादन गरेपछि बिक्रिका लागि डराई डराई लुकेर बजारका पसलमा पुर्‍याउनुपर्थ्यो, गाई पाल्न थालेपछि निर्धक्कसँग समाजमा खुलैरै दूध बिक्री गर्न पाउँदा आनन्द लाग्छ।” गाहाले भनिन्।

इजारडाँडा गाउँमा एक महिनामा दूध बिक्रीबाट झण्डै दुई लाख ४० हजार रुपैयाँभन्दा बढी रकम भित्रने गर्छ। यहाँ उत्पादित दूध डुम्रे दुग्ध उत्पादक सहकारीले व्यवस्थापन गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए।
 
“कृषकले उत्पादन गरे मात्र हुन्छ, गोठदेखि बजारसम्म दूध बिक्री गर्ने जिम्मा सहकारीले लिएको छ”, जिसिले भने। सहकारीले गोठमै पुगेर दूध संकलन गर्न थालेपछि कृषक अन्य व्यवसाय छाडेर गाईपालनतर्फ लागेका हुन्। दूध प्रतिलिटर ४८ देखि रु ५५ रुपैयाँ सम्ममा कृषकबाट खरिद गर्ने गरेको जिसीले बताए। दूध बिक्रीका लागि सहकारीले व्यवस्थापन गरिदिएपछि कृषक व्यवसाय बढाउने सोचमा छन्।
 
कृषकले अहिले दूध बिक्रीबाट मनग्य आम्दानी लिन थालेपछि व्यवसायमा उत्साहित हुँदै गएको जिल्ला पशु सेवा कार्यालयका नायब पशुसेवा प्राविधिक शेरबहादुर राना बताउँछन्। बजेट जति सबै स्थानीय निकायमा गएको हुँदा कार्यालयले प्राविधिक सेवासुविधाबाहेक पशु विकासका कार्यक्रम अहिले गर्न नसकेको रानाको भनाइ छ। कृषकलाई स्थानीय निकायले हौसला बढाउने खालका कार्यक्रम सञ्चालन गर्न जरुरी भएको रानाले बताए।