नाकाबन्दीपछि समस्यामा परेको वीरगंज नाकालार्इ रक्सौंलको नयाँ नियमले पार्यो संकट, गाडीको लाम

बिजमाण्डू
२०७४ असोज २६ गते १०:०२ | Oct 12, 2017
नाकाबन्दीपछि समस्यामा परेको वीरगंज नाकालार्इ रक्सौंलको नयाँ नियमले पार्यो संकट, गाडीको लाम


वीरगंज।ट्राफिक जाम हटाउन नयाँ नियम लगाएपछि नेपाल आउने सयौं मालवाहक सवारी साधन रक्सौंलमा रोकिएका छन्।

Tata
GBIME
Nepal Life

रक्सौंलबाट वीरगंज आउने मालवाहक गाडीलार्इ राती मात्रै प्रवेश दिने नियमपछि यो समस्या आएको हो।अब रक्सौंलबाट बेलुका ८ बजेदेखि विहान ८ बजेसम्म मात्रै मालबाहक गाडी नेपाल प्रवेश गर्न पाउनेछ।रक्सौंलको व्यापारीहरुको संस्था रक्सौंल अनुमण्डलले यो निर्णय गरेको हो।अनुमण्डलले दिउँसो नेपालबाट खाली गाडी मात्रै रक्सौंल प्रवेश गर्न पाउनेछन्।

तीन सातादेखि कार्यान्वयनमा आएको यो नियमका कारण रक्सौंलमा झनै जाम बढेको छ भने भारतीय प्रहरीले गाडी चाँडै नेपाल प्रवेश गराउन अतिरिक्त पैसा लिन थालेका छन्।रक्सौंलमा पेट्रोल र ग्यास जस्ता अत्यावश्यक वस्तु रोकिएका छन्।त्यसले पेट्रोलियम पदार्थको आपूर्तिमै समस्या हुन थालेको छ।नाकाबन्दीपछि संकटमा परेको यो नाकालार्इ रक्सौंलको नयाँ नियमले थप समस्यामा पार्नेछ।नाकाबन्दीका कारण यो नाकाहुँदै सामान ल्याउन कम हुँदै गएको छ।नाकाबन्दीमा सबैभन्दा लामो समय यही नाका बन्द भएकोले व्यवसायीले भैरहवा र विराटनगर नाकाबाट सामान ल्याउन थालेका छन्।
 

रघुनाथपुरमा राखिएको अस्थायी पुलिस ढाँटका प्रहरीले घुस लिएर जाममा रहेका गाडीलार्इ प्राथमिकता दिएर नेपाल प्रवेश गर्न दिएको छ।रक्सौल बजार भन्दा चार किलोमिटर दक्षिणमा रहेको रघुनाथपुरमा रक्सौल प्रहरीले गाडी लाइनमा लगाउन ढाँट खडा गरेको छ ।केशव ओभरसिज वीरगंजका संचालक त्रिलोक दारुकाले गाउँका केही दलालमार्फत नेपाल आउन लागेका गाडीसँग अतिरिक्त रकम असुल्ने काम भइरहेको बताए।
 
हरेक गाडीको ड्राइभरसँग पैसा मागिँदैछ ,जसले दिन्छ उसको गाडी चाडै लाइनमा लाग्छ र नदिनेको गाडी जाममा फस्छ ,’उनले भने।उनी बाइकको हेल्मेट आयातकर्ता हुन्।उनका अनुसार अतिरिक्त पैसा नदिँदा भारतबाट नेपाल आउन १४ दिन लाग्यो।उनले समयमा नेपाल गाडी नआएको भन्दै २० हजार नेपाली रुपैयाँ विलम्ब शुल्क समेत तिरे।

गाडी जामका बारेमा वीरगंज उद्योग वाणिज्य संघ र भारतीय महावाणिज्यदूतावासमा समेत जानकारी गराइसकेको उनले बताए।तर महावाणिज्य दूतावासले समेत कुनै पहल नगरेको दारुकाले बताए।दैनिक जागरण रक्सौंल ब्यूरो प्रमुख विजय गिरीका अनुसार केही दिन यता रक्सौंलमा जाम घटेको छ।रक्सौंलका डिएसपी राकेश कुमारले कसैले चालकसँग रकम असुली गरेको भए फोनमै जानकारी दिन आग्रह गरे।'कसैले चालकसँग अतिरिक्त पैसा मागेको भए मलार्इ प्रत्यक्ष टेलिफोन गर्न सक्नुहुन्छ,उनले भने,मेरो मोबाइल नम्बर ९४३१८०००६६मा फोन गर्न सक्नुहुन्छ।'