सील लागेको दरबारमार्गका ब्राण्डेड शप बीस दिनपछि खुल्यो, कसको दबाबले खुल्यो सिलबन्दी?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ असोज ८ गते २१:२६ | Sep 24, 2017
काठमाडौं।बढी मुनाफा लिएर उपभोक्तालार्इ सामान बिक्री गरेको आरोपमा सिलबन्दी लागेका दरबारमार्गका ब्राण्डेड शप आइतबार साँझबाट खुलेका छन्।

Tata
GBIME
Nepal Life

बीस दिनपछि आपूर्ति व्यवस्थापन विभागले अनुसन्धान प्रकृयालार्इ निरन्तरता दिने शर्तमा पसलको सील खोल्न राजी भएको हो।आपूर्तिमन्त्री शिवकुमार मण्डल र दरबारमार्ग विकास बोर्डका प्रतिनिधीबीच भएको छलफलमा अनुसन्धान प्रकृयालार्इ निरन्तरता दिने र पसलको सिलबन्दी खोल्ने सहमति भएपछि आइतबार साँझ ६ बजे सील गरेका सबै पसल खुलेको हो। पसल खुल्नेवित्तिकै सामान किन्ने उपभोक्ताको चहलपहल सुरु भइसकेको थियो।


बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले लामो छलफलपछि अनुसन्धानलार्इ नरोक्ने शर्तमा पसलको सील खुलेको बताए।‘अनुसन्धान अघि बढाउने तर दशैंका बेलामा पसल बन्द गर्दा व्यापारनै चौपट हुने भएकोले पसल खोल्न आग्रह गरेका थियौ’उनले बिजमाण्डूसँग भने,चाडपर्वमा उपभोक्ताले आवश्यक सामान किन्नबाट बञ्चित नहुन भनेर हामीले मन्त्रीज्यूलार्इ आग्रह गरेका थियौ।उहाँले पनि हाम्रो आग्रहलार्इ मान्नुभयो र पसल पनि खुलेका छन्।‘

पसल खोल्न व्यवसायीले प्रधानमन्त्री तहमै पनि दबाब दिएका थिए।स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका मण्डललार्इ मनाउन अध्यक्ष प्रचण्डलार्इ समेत व्यवसायीले निरन्तर दबाब दिएका थिए।त्यही दबाब थेग्न नसकेर अनुसन्धान र कारवाही अघि बढाउने शर्तमा पसलको सील खोलिएको हो।यो वाहेक नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले पनि उच्च सरकारी निकायदेखि राजनीतिक तहमा दबाब दिएको थियो। दरबारमार्गको ब्राण्डेड शपमा छापा मारेपछि महासंघ टोलीले आपूर्तिमन्त्री मण्डललार्इ भेटेर कारवाही रोक्न दबाब दिएपनि मन्त्रीले अस्विकार गरेका थिए।त्यसपछि महासंघको टोलीले उच्च राजनीतिक तहलार्इ समेत दबाब दिएको थियो।
 

 

बीस दिन अघि आपूर्ति व्यवस्थापन विभागको टोलीले दरबारमार्गमा रहेका पसलमा अनुगमन गरेको थियो।अनुगमनको क्रममा दरबारमार्गमा रहेका ब्राण्डेड शपले 'सेल'का नाममा ठगी गरेको सरकारी अधिकारीले बताएका थिए।दरबारमार्गमा ५० प्रतिशत भन्दा बढी छुट लागेका बोर्ड भएपनि  मूल्य ५० प्रतिशत भन्दा बढी थपेर सेलका नाममा ठगी गरेको पाइएको उनीहरुको जिकिर थियो। 
 
धेरै मुनाफा लिएर सामान बिक्री गरेको भेटिएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको पसलमा सिल गरेको थियो। ती पसलका बिलविजक हेर्दा १० गुणासम्म नाफा लिएको भेटिएको थियो।नाइकले २६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो।विभागले पसल संचालकलार्इ वयानका लागि बोलाएको थियो।
 
विलविजकसहित वयानका लागि बोलाएर अनुसन्धान अधिकृत समेत तोकिसकेको छ।विभागले राजस्व छलीको अनुसन्धान गर्न अर्थमन्त्रालयलार्इ आग्रह गरेको थियो तर अर्थले वेवास्ता गर्दै आएको छ।
 
 मूल्यसूची च्यातेर कपडा बिक्री
सरकारले अनुगमन गरेर पसलमा सील गरेपछि दरबारमार्गमा रहेका पसलले कपडा र जुत्तामा मूल्यसूचीको लेवल च्यातेका छन्।उनीहरुले लेवल च्यातेर आधा मूल्यमा सामान बिक्री गरिरहेका छन्।

दरबारमार्गका रहेका अधिकांश पसलमा रहेका सामानमा मूल्यसूची च्यातिएको छ।केही पसलले भने चालिस प्रतिशतसम्म छुट दिएका छन्।मोन्टे कार्लोको आउटलेटले सबै सामानमा चालिस प्रतिशत छुटमा लत्ताकपडा बिक्री गर्दै आएको छ।