ललितपुरका मेयरको बाचा हुँदैछन् साकार, भोलिदेखि बुङमती-बुढानिलकण्ठ रुटमा साझा चल्ने

बिजमाण्डू
२०७४ असोज ८ गते १७:१४ | Sep 24, 2017

काठमाडौं।ललिपुरको बुङमतीबाट काठमाडौंको बुढानिलकण्ठ रुटमा साझा यातायात सेवा विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

सोमबार विहान ९ बजे बुङमतीबाट बुढानिलकण्ठका  लागि बस छुट्ने साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बिजमाण्डूलार्इ जानकारी दिए । उनले  पहिलो चरणमा एउटाले सेवा दिन लागेको  बताए। साझाका गाडीहरु खरिदको प्रक्रियामै रहेकाले योजना बनाएर अरु बसहरु विस्तार गर्ने दाबी गरेका छन्।

ललितपुर महानगरपालिकाको १ करोड रुपैयाँको सहयोगमा उक्त रुटमा बस सञ्चालन गर्न लागिएको हो। ललितपुर जस्तो सम्पादाले भरिएको महानगरमा बस सेवा थप विस्तार गर्न पाउनु खुसीको कुरा भएको पाण्डेको भनार्इ छ।

महानगरका मेयर चिरीबाबु महर्जन चुनावी दौरानमा हुँदा गरेका धेरै प्रतिवद्धतामध्ये ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायातमा सहजता भएकाले साझासँग सहाकार्य गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताएका छन्।

आजै मेयर चिरीबाबु महर्जनले साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितलार्इ १ करोड रुपैयाको चेक हस्तान्तरण गरेका थिए भने दिक्षितले मेयर महर्जनलार्इ उक्त रकम बराबरको शेयर प्रमाणपत्र प्रदान गरेका थिए।

यो बस ललितपुरको बुङमतीबाट जावलाखेल-रत्नपार्क-नारायणगोपालचोक हुँदै बुढानिलकण्ठसम्म पुग्ने छ। अहिले साझा यातायातका उपत्यकाका तीन जिल्ला र काभ्रेमा ४४ ठूला बसहरु सञ्चालनमा छन्।

ललितपुर महानगरपालिकाले दिएको १ करोड र काठमाडौं महानगरपालिकाले दिएको पाँच करोडका ठूला बस खरिद प्रक्रिया तत्काल अघि बढाइने साझा यातायातले जनाएको छ।

यो रुटमा बस सञ्चालनपछि ललितपुरका यात्रुहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।