दशैँ अर्थतन्त्रः गाउँदेखि शहरसम्म यस्तो पर्छ प्रभाव, रामेश्वर खनालको विश्लेषण

रामेश्वर खनाल
२०७४ असोज ८ गते १०:२१ | Sep 24, 2017
दशैँ आयो दशा आयो, यो गाउँ-घरमा चलनचल्तीको आख्यान हो। वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मज्जाले मासु-भात खाने, रमाइलो गर्ने र नातागोतालार्इ न्यानो आतित्थ्य प्रदान गर्ने दशैंको समय आश्रितहरूका लागि खुशीको आशा गर्ने समय हो भने परिवार पाल्ने जिम्मा लिएका घरमुलीहरूका लागि चिन्ताको। असत्यमाथि सत्यको विजय भएको अवसरमा खुशियाली र सामाजिक सद्भावकालागि मनाइने यो चाड घरमुलीहरूको चिन्ताको अभिव्यक्तिका रुपमा हाम्रो समाजमा देखिनुको प्रमुख कारण विपन्नता नै हो।
 
पचास वर्ष अघि, २०१८ सालको जनगणनाले ९४ प्रतिशत जनसंख्या आफ्नो जीविका र रोजगारीकालागि कृषिमा आश्रित देखाएको थियो। त्यो बेला कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान दुर्इ-तिहाई भन्दा केहि बढी नै थियो। २०१५ सालसम्म देसभरि गहुँ उत्पादन जम्मा १३७ टन रेकर्ड गरिएको परिप्रेक्ष्यमा कृषि-आम्दानिको मूल स्रोत भनेको एउटा वाली मात्रै हुन्थ्यो। पहाडमा खाद्यान्न आवश्यकता पुरा गर्न मकैसँगै बारिमा कोदो रोप्ने चलन थियो। तराइ-मधेसमा धान एकमात्र प्रमुख वाली थियो। दशैँको अवसरमा धान भित्र्याइएको हुदैनथ्यो। मकै वा कोदो पनि बजार पुर्याउने गरी तयार हुदैनथ्यो। त्यसैले साना हाट-बजार नजिक रहेका किसानले अफ्नो भण्डारमा संचित गेडागुडी, घ्यु र वर्षादको मौसममा हुने तरकारी तथा फलफुल बजार पुर्याएर आर्जेको रकम दशैंको गर्जो टार्न प्रयोग गर्थे। खेतीपातीको आम्दानीले नपुग्ने र भूमिहीन श्रमिकहरू दशैँको पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्न गाउँघरमै हुनेखानेसँग कर्जा लिन्थे।
 
मासिक वेतनधारी कर्मचारीहरूको दशैँ पनि खासै भिन्न हुदैनथ्यो। तर पछि सरकारी कर्मचारीहरूलाई दशैंअघि एक महिनाको तलब चैत मसान्तसम्ममा दामासाहीले फर्स्योट गर्नुपर्ने गरी दशैँ-पेश्की दिने चलन शुरू भयो। २०३७ सालपछि सरकारले पेश्कीको प्रथा हटायो र दशैँअघि एक महिनाको पुरै तलब अतिरिक्त भुक्तानी दिन थाल्यो। त्यसपछि सरकारी कर्मचारीहरूको दशैँमा केहि रौनक थपियो। क्रमैसँग संस्थागत निजिक्षेत्रले पनि आफ्ना कामदार कर्मचारीलाई सरकारले जस्तै सुबिधा दिन थाल्यो।
 
२०४६ साल पछिको आर्थिक उदारीकरणले गरिबीमात्र घटाएन, शहरी तथा शहरोन्मुख ग्रामिण क्षेत्रमा मध्यमवर्गीय तथा उच्च-मध्यमवर्गीय परिवारको संख्या उच्च दरले बढ्दै गयो। यस्ता परिवारहरूले दशैंमा प्रत्येक वर्ष अफ्नो खर्च बढाउँदै लागेका छन्। यिनीहरूको दशैं मनाउने शैलीमा मात्र होइन प्राय सबैजसो चाड मनाउने शैली र खर्चको प्रवृत्तिमा आमुल परिवर्तन आएको छ। दुर्इ दशक अघिसम्म तीजको पूर्वसन्ध्यामा दरको तयारी गरेर राति बाह्र बजेपछि मिठा परिकार बाँडेर खाने परिवारहरूबीच गएको पाँच-छ वर्षमा एउटा भद्दा-शोखको विकास भएको छ। तीजको एक महिना अघिदेखि दर-खाने निम्तामान्न महिलाहरूलार्इ भ्याइनभ्याई हुन्छ। कतिपयले तीजको अघिल्लो दिनसम्म पनि साथी- संगातिलाई दर खुवाउने सम्पन्नता देखाउन नपाएर तीज सकिएपछि पनि दर खुवाउने निम्ता दिन्छन्।
 
खर्च गर्ने तथा सम्पन्नता प्रदर्शन गर्ने शैलीमा आएको परिवर्तनसँगै खाशगरी उच्च-मध्यमवर्गीय परिवार तथा सानो परिवारमा बस्न रुचाउने युवा-पेशाकर्मीहरू (यङग प्रोफेसनलस्) मा दशैको रमझम घरैमा मनाउनुको सट्टा दशैको लामो बिदाको उपयोग टाढा-टाढा घुम्न जाने प्रवृत्ति विकास भएको छ। एउटै पुस्तामा गाउँबाट शहर र शहरबाट पश्चिमा विकसित मुलुकमा बसाईं सारेका सम्पन्न तर विखण्डित परिवारमा छोरा-छोरीलाइ टिका लगाइदिन अमेरिका वा युरोप हान्निने चलन बढ्दो छ।

दशैँका लागि लामो बिदामा घर फर्कने “लाहुरे” कहलिने वर्ग एक जमानामा सुनौली नाकामै बास बस्दा ठगिएर बुटीटाट परेका कथाहरू बिगतमा सुनिन्थ्यो। नाकाबाट उम्केर गन्तव्य हिडेको लाहुरे रात बिताउने अर्को कुनै वासमा ठगिन सक्थ्यो। ठगीका यस्ता घटना अहिले पनि हुन्छन्।
दशैँ, तिहार र छठ अघिको करीब एक महिनाको समय बजारमा एकदमै चहलपहल रहने समय हो। खासगरी भदौको उत्तरार्ध र असोजको पूर्वार्धमा बजारमा अत्यधिक तरलता प्रवाह हुन्छ। मुलुकभरी नै संचित धन, नियमित तथा अतिरिक्त आयको राम्रै हिस्सा मानिसहरू खर्च गर्छन्। प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले दशैकै मौकामा नयाँ नोट बजारमा ल्याउँछ। यस वर्ष करीब ३० अर्ब बराबरको नयाँ नोट बजारमा आउँदै छ। सरकारी कोषबाट तलब तथा निवृत्तिभरण पाउनेले दशैँ अघि करीब १२/१५ अर्ब थप रकम पाउछन्। दशैँ खर्चसँगै महिना भुक्तान नभएपनि त्यो महिनाको तलब पाइने भएकाले सरकारी कर्मचारीहरूको हातमा २५/३० अर्ब जति रकम पर्छ। औपचारिक संस्थागत क्षेत्रमा रोजगार व्यक्तिहरूले दशैंको मौकामा सरकारी कर्मचारीले पाउने रकमको करीब दोब्बर नै पाउछन्। बिगत पाँच-छ वर्षको विप्रेषणको प्रवृत्ति हेर्दा अरू महिनामा जुन दरले विप्रेषण रकम बढेको हुन्छ, त्यो भन्दा उच्च दरले दशैंको बेलामा बढ्छ। विप्रेषणको त्यो अतिरिक्त रकम दशैंका लागि प्रयोग हुन्छ। गएको साउन महिनामा ५५ अर्ब ५५ करोड विप्रेषण बैंकिंग माध्यमबाट भित्रिएको छ। अतिरिक्त आय र वर्षभरीको आयबाट संचित धन उपभोगकालागि खर्च गरिने दशैं अघिका दुर्इ-तीन हप्ताको अवधिमा मात्र वर्ष भरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुन्छ भन्ने अनुमान गर्न सकिन्छ।    
 
व्यापारीहरूका लागि यो समय एक किसिमले वर्षभरिलार्इ पुग्ने गरी नाफा कमाउने समय हो। यो समयमा पनि नाफा आर्जन गर्न नसक्नेले सम्भवतः वर्षको अरू बेलामा नाफा आर्जन गर्न सक्दैन। अमेरिकामा थ्याँक्स्-गिभिंग पछिको कालो-शुक्रबारको नामबाट चिनिने नोभेम्बर महिनाको तेस्रो वा चौथो हप्ताको शुक्रबार खुद्रा-व्यापारीका लागि स्वर्ण दिन भनेर चिनिन्छ। त्यो दिन पनि नाफा कमाउन नसक्नेले त्यो वर्ष घाटा खानु पर्छ भनिन्छ। अर्थात, वर्षभरि घाटा खाएपनि कालो-शुक्रबारको व्यापारले नाफा हुन्छ भन्ने आशामा व्यावसायी रहन्छन्।
 
अमेरिकी कालो-शुक्रबार र दशैं अघिको नेपाली बजारको प्रवृत्तिमा भने समानता देखिदैन। सकेसम्म बढी बिक्री गर्न अमेरिकी खुद्रा व्यापारीहरू थरी-थरीका डिस्काउन्ट र छुटका योजना ल्याउछन्। कतिपय उत्पादकले नै त्यो शुक्रबार परेको हप्ताभरकै लागि आमरुपमा खुद्रा मुल्यनै घटाइदिन्छन्। खर्च गर्ने मनस्थितिमा रहेका ग्राहकहरूलार्इ लोभ्याउने यो शैलीले व्यापारीहरुले नाफा कमाउछन्। तर नेपाली बजारमा भने आमरुपमा दशैं अघिको बजारमा आउने ग्राहकबाट सकेसम्म बढी नाफा असुल्न भाउ बढाउने चलन छ। खशीको मासुको भाउ प्रत्येक वर्ष बढ्ने बेला यहि हो। अधिकांश खाद्यवस्तु, मिठाइ, व्यक्तिगत सेवा आदिको मूल्य यहि बेलामा बढ्छ। तर हालका केहि वर्षहरूमा खाशगरी काठमाडौँ र एक दुर्इ ठुला शहरमा संस्थागत खुद्रा-ब्यापारिक प्रतिष्ठानले लत्ताकपडा, घरायशी उपकरण आदिमा अमेरिकी शैलीमा छुटको घोषणा गर्छन्। लत्ताकपडामा भनिएको छुट कतिपय अवस्थामा भाउ बढाएर छुट दिइने हुँदा छुट पछि तिरिने मूल्य सामान्य अवस्थाको मूल्य सरह हुन्छ।
 
दशैँ अर्थतन्त्रको उल्लेख्य विशेषता शहरबाट गाउँमा आय वितरणको हो । द्वन्दकालका चार-पाँच कठिन वर्षमा रोजगारीका लागि शहर वा विदेशमा रहेकाहरूले गाउँ फर्कने जोखिम मोलेनन। त्यसैले दशैंको बेलमा गाउँमा रौनक रहेन र ग्रामिण अर्थतन्त्र दशैका बेलामा पनि सुस्त रह्यो। त्यो बेला गाउँमै जेनतेन गुजारा गरेर बसेका बुढापाका पनि आफ्ना छोरा-नातिलाई टिका लगाइदिन दशैंअघि शहरतिर लाग्थे। अहिले स्थिति फेरिएको छ र दशैँको रौनक वास्तवमा शहरमा भन्दा गाउँमा देखिन्छ। रोजगारी तथा व्यवसाय गरेको शहर वा विदेशबाट दशैंका लागि फिरेकाहरूसँग गोजीमा पैसा र पैसा खर्च गर्ने फुर्सद हुने हुँदा गाउँको आर्थिक गतिविधि ह्वात्तै माथि उठ्छ।
 
गाउँ फिर्ने क्रममा सार्वजनिक यातायातको एकोहोरो यात्रा दशैं अघि शहर र मूल नाकाहरूबाट जिल्ला सदरमुकाम अनि गाउँतिर लाग्छ र दशैँपछि उल्टो यात्रा हुन्छ। मूल नाकाहरू र यात्रु बिसौनी वरपर होटल तथा रेस्टुरेन्टहरूमा ठगिनु दशैको समयमा सामान्य जस्तै हुन्छ। दशैँका लागि लामो बिदामा घर फर्कने “लाहुरे” कहलिने वर्ग एक जमानामा सुनौली नाकामै बास बस्दा ठगिएर बुटीटाट परेका कथाहरू बिगतमा सुनिन्थ्यो। नाकाबाट उम्केर गन्तव्य हिडेको लाहुरे रात बिताउने अर्को कुनै वासमा ठगिन सक्थ्यो। ठगीका यस्ता घटना अहिले पनि हुन्छन्।
 
मनोरंजनका साधनको प्रचुरता, रहन-सहनमा आएको परिवर्तनले गर्दा नयाँ पुस्ताका युवामा जुवा-तासको प्रचलन अघिल्लो पुस्ताको जस्तो छैन। जुवा खुल्यो भनेर घोषणा गर्ने चलन अहिले बिलाएको छ।

Tata
GBIME
Nepal Life