भारतमा रेनल्टको क्यापचर सार्वजनिक, एसयुभि सेग्मेन्टमा मारुतीको एस क्रससम्मलाई चुनौती थपिंदै

बिजमाण्डू
२०७४ असोज ८ गते ०९:५८ | Sep 24, 2017
भारतमा रेनल्टको क्यापचर सार्वजनिक, एसयुभि सेग्मेन्टमा मारुतीको एस क्रससम्मलाई चुनौती थपिंदै


नयाँदिल्ली । भारतको सातौं ठूलो कार निर्माता रेनल्ट इण्डियाले विश्वमा सफल मानिएको एसयुभि सेगमेन्टको 'क्यापचर' शुक्रवार भारतमा सार्वजनिक गरेको छ। भारतमा क्यापचरको व्यवसायिक विक्रिको सुरुवात दिपावली अघिबाट हुनेछ। लाइभमिन्टकाअनुसार भारतमा यो गाडिको मूल्य १५ लाख भारु नजिक हुनेछ।

Tata
GBIME
Nepal Life

विश्वभर दश लाख युनिटभन्दा बढी विक्रि भैसकेको क्यापचरले भारतमा १४ लाख ९५ हजार भारु मूल्यमा विक्रि भैरहेको जीप कम्पासलाई चुनौती दिने अनुमान गरिएको छ। त्योसँगै क्यापचरले सात सिटे महिन्द्राको एसयुभि र टाटाको हेक्जालाई चुनौती दिनेछ।


त्यसैगरी रेनल्ट क्याप्चरले हुण्डाईको क्रेटा तथा फेसलिफ्ट गरेर सार्वजनिक गर्न लागिएको मारुती सुजुकीको एस क्रसलाई समेत चुनौती दिने फाइनान्सियल एक्सप्रेसले टिप्पणी गरेको छ।

कम्पनीले क्यापचरको मूल्यका वारेमा अहिले नै जानकारी दिन अस्वीकार गरेको छ तर बजारले यो गाडी १५ लाख भारुभन्दा तल बजारमा आउने अपेक्षा गरेको छ। अहिलेलाई व्यवसायिक विक्रिको प्रतिक्षा गर्नुहोस्, यो ग्लोबल र प्रिमियम कार हो त्यसैले मूल्य रेनल्टकै डस्टरभन्दा केही माथि हुनेछ, रेनल्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक सुमित सह्वानेले बताए।

फ्रेन्च कार निर्माता रेनल्टसँग अहिले भारतमा जम्मा दुई वटा मोडल मात्रै छन्। एउटा कम्प्याक्ट एसयुभि सेग्मेन्टमा डस्टर र अर्को सानो कार सेग्मेन्टमा दुई वटा भेरियन्ट शुन्य दशमलव आठ लिटरको क्विड र एक लिटरको क्विड। यी दुई मोडलमार्फत रेन्ल्टले सन् २०२० लाई राखेको बजार हिस्सा पाँच प्रतिशत पुर्याउने लक्ष्यलाई अहिले नै भेटिसकेको छ।

विश्वमै सफल मानिएको बिओ प्ल्याटफर्ममा निर्माण गरिएको क्यापचर डेढ लिटरको डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ। यो बजारमा अहिले उपलब्ध पियर ग्रुपका कारभन्दा धेरै ग्राउण्ड क्लियरेन्समा सबैभन्दा राम्रो २१० एमएममा उपलब्ध हुनेछ।

भारतमा व्यवसायिक विक्रीको सुरुवातका लागि अहिले मिति तय नभए पनि १९ अक्टोवरमा मनाइने दिपावलीभन्दा पहिले नै कार बजारमा आउनेछ। कम्पनीले त्यसको बुकिङ समेत लिन सुरु गरेको छ।

भारतमा पाँच वर्ष मात्रै पुरानो कम्पनीका लागि क्यापचर जस्तो कारको विक्रि सुरुवात गर्नु महत्वपूर्ण अवसर बन्नेछ,  प्रवन्ध निर्देशक सह्वानेले बताए।

भारतमा वितेको केही वर्षमा एसयुभिको विक्रिमा उल्लेखनीय वृद्धि भएको छ। कारको विभिन्न सेग्मेन्टमध्ये एसयुभिको वृद्धि सबैभन्दा बढि छ। क्यापचर विश्वभरमा सफल एउटा प्रमियम एसयुभि हो, यसको डिजाइन, उपलब्ध फिचरका लागि निक्कै प्रशंसा समेत गरिन्छ। यो कारले हाम्रो एसयुभि सेग्मेन्टमा नयाँ बेञ्चमार्क तयार गर्नेछ, प्रवन्ध निर्देशक सह्वानेले भने।
 
पेट्रोल र डिजल दुवै इन्जिनमा उपलब्ध हुने क्यापचरको पेट्रोल अप्सनमा १६ भल्भ, चार सिलिण्डर, १.५ लिटर एचफोरके पेट्रोल इन्जिन लगाइएको छ। यसमा पाँच स्पिडको म्यानुअल गियर बक्स उपलब्ध छ। उता डिजेल भर्सनमा १.५ लिटर के नाइन के डिजेल इन्जिनमा छ स्पिडको म्यानुअल गियर बक्स उपलब्धछ । प्रवन्ध निर्देशक सह्वानेले कार बुकिङ गर्दा आफ्नो मन परेको रङ्ग छान्न पाउने बताए।