स्थानीय तह निर्वाचनपछि लगानीकर्ताको मनोबल बढ्यो, भदौंमा मात्रै २५ अर्ब लगानी प्रतिवद्धता

बिजमाण्डू
२०७४ असोज ८ गते ०७:२२ | Sep 24, 2017
स्थानीय तह निर्वाचनपछि लगानीकर्ताको मनोबल बढ्यो, भदौंमा मात्रै २५ अर्ब लगानी प्रतिवद्धता


काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा मात्रै २४ अर्ब ९२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। साउनको तुलनामा भदौमा दोब्बर लगानी प्रतिवद्धता आएको हो।

Tata
GBIME
Nepal Life

साउनमा १४ अर्ब २९ करोडको लगानी प्रतिवद्धता आएको थियो।स्थानीय तहको निर्वाचनपछि लगानीकर्ताको मनोबल बढेको छ।लगानीका लागि राजनीतिक स्थिरता पहिलो शर्त हो।राजनीतिक स्थिरताले लगानीकर्ताको मनोबल बढेकोले विभिन्न क्षेत्रमा लगानीको प्रतिवद्धता आउन थालेको हो।

यो महिना सिमेन्ट उद्योगमा सर्वाधिक धेरै लगानी प्रतिवद्धता आएको छ। तीन वटा सिमेन्ट उद्योगको लागि १२ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आएको छ।
 
घोराही सिमेन्ट शाखा उद्योगमा ८ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ। मोरङमा आधुनिक सिमेन्ट उद्योगमा एक अर्ब ५६ करोड रुपैयाँ लगानी हुँदैछ।कपिलवस्तुमा २ अर्ब १८ करोड रुपैयाँ लगानीमा घोराही सिमेन्ट उद्योगकै शाखा स्वरुप कपिलवस्तु सिमेन्ट उद्योगमा लगानी हुँदैछ।
२६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता राख्ने सिमेन्ट उद्योगमा घोराही सिमेन्ट उद्योगले मात्रै दुवै शाखामा गरि वार्षिक करिब २० लाख मेट्रिक टन सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्नेछ।
 
दाङमा स्थापना हुने घोराही सिमेन्टको शाखा उद्योगले ९ लाख ४० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ।ओपीसी सिमेन्ट दुई लाख १० हजार मेट्रिक टन, पिएससी सिमेन्ट ९० हजार मेट्रिक टन्, र पीपीसी सिमेन्ट एक लाख २० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको उद्योग विभागले जनाएको छ।
 
कपिलवस्तुमा स्थापना हुने अर्को शाखा उद्योगले भने ओपीसी र पीपीसी दुवै  गरि ५ लाख मेट्रिक टन उत्पादन गर्नेछ। पीएससी भने एक लाख मेट्रिक टन मात्र उत्पादन गर्नेछ।आधुनिक सिमेन्ट उद्योगले पनि ६ लाख ५४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ।उद्योगले ओपीसी दुई लाख ६२ हजार मेट्रिक टन, पीपीसी, दुई लाख १८ हजार मेट्रिक टन र पीएससी एक लाख ७४ हजार मेट्रिक टन उत्पादन गर्नेछ।
 
जलविद्युतमा १० अर्ब लगानी प्रतिवद्धता
भदौंमा जलविद्युत परियोजनामा समेत ठूलो लगानीको प्रतिवद्धता आएको छ।

ताप्लेजुङमा निर्माण हुने ५४ मेगावाट क्षमताको सानिमा मध्य तमोर जलविद्युत आयोजनामा ९ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो। त्यस्तै म्याग्दी जिल्लामा ६ मेगावाटको जलविद्युत आयोजना बनाउन ९८ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।