भारतमा महिन्द्रा तथा फोर्डबीच बजार बिस्तारका लागि साझेदारी,मारुती सुजुकीलाई हुनेछ चुनौती

बिजमाण्डू
२०७४ असोज ७ गते १३:५३ | Sep 23, 2017
भारतमा महिन्द्रा तथा फोर्डबीच बजार बिस्तारका लागि साझेदारी,मारुती सुजुकीलाई हुनेछ चुनौती


नयाँदिल्ली । भारतमा महिन्द्रा एण्ड महिन्द्रा तथा फोर्ड कम्पनीले उत्पादन, विकास, विद्युतीय सवारी उत्पादन तथा वितरणमा रणनीतिक साझेदारी गरेका छन्।

सोमबार दुर्इ कम्पनीबीच भएको सम्झौतामा आगामी तीन वर्षसम्म दुबै कम्पनीले मिलेर काम गर्ने सहमति भएको छ। फोर्डको विश्वब्यापी सञ्जाल तथा विशेषज्ञता तथा महिन्द्राको भारतभित्र रहेको पहुँचबाट दुबै कम्पनीले फाइदा लिन सक्नेछन्।

Tata
GBIME
Nepal Life

मोबिलिटी, कन्क्टेड भेहिकल प्रोजेक्ट, इलेक्ट्रिफिकसन तथा प्रोडक्ट डेभलपमेन्टका क्षेत्रमा दुर्इ अटोमोबाइल कम्पनीले सहकार्य गर्ने गरी सम्झौता भएको हो। यि दुर्इ कम्पनी बीचको सम्झौताले भारतमा अन्य कम्पनीलार्इ भने चुनौती थपिएको छ।

महिन्द्रा एण्ड महिन्द्राका प्रबन्ध निर्देशक पवन गोयन्काले यस सम्झौतालार्इ दुबै कम्पनीबीचको महत्वपूर्ण अवसर भएको बताएका छन्।

दुर्इ कम्पनीको साझेदारीले फोर्डलार्इ भारतीय बजारमा आफूलार्इ बिस्तार गर्न मद्दत पुग्नेछ। फोर्डको इको स्पोर्ट्सले  मास मार्केटमा सुजुकी ब्राण्डको भिताराको ब्रेजालार्इ चुनौती दिइरहेको अवस्थामा अब हुने सहकार्यले फोर्डलार्इ बजार बिस्तारमा अझ दह्रो सहयोग पुग्ने विश्लेषण गरिएको छ।

फोर्डले बिद्युतीय सवारीलार्इ भारतीय बजारमा ल्याउन चाहिरहेको छ। महिन्द्राले  अहिलेसम्म ७ हजार विद्युतीय सवारी भारतमा बिक्री गरिसकेको छ र अब महिन्द्रा विद्युतीय बस तथा ट्रक उत्पादन गरेर प्रतिश्पर्धीलार्इ टक्कर दिन चाहन्छ।   

फोर्डले भारतीय बजारमा बिगत छ वर्षदेखि बिद्युतीय सवारी ल्याउन प्रयास गरिरहेको छ। यसले गत वर्षमात्र विद्युतीय सवारी उत्पादनबारे सर्वेक्षण तथा विकासमा मात्रै ७.३ बिलियन डलर खर्च गरेको थियो। यो रकम  बिगत दुर्इ दशकमा महिन्द्राले आफ्नो सवारीको सर्वेक्षण र विकासमा खर्च गरेको रकम बराबर हो।

हालैमात्र टाटा र फक्सवागेनबीच भएको साझेदारी ६ महिना पनि नपुगी टुंगिएको बेला फोर्ड र महिन्द्राको साझेदारीलार्इ भारतीय बजारमा निकै चासोका साथ हेरिएको छ।