दश वर्षदेखि बन्द बुटवल धागो कारखाना बन्यो खण्डहर, फेरि खुल्ने टुंगो छैन, के गर्दैछ अध्ययन समिति?

बिजमाण्डू
२०७४ असोज २ गते १५:१५ | Sep 18, 2017
दश वर्षदेखि बन्द बुटवल धागो कारखाना बन्यो खण्डहर, फेरि खुल्ने टुंगो छैन, के गर्दैछ अध्ययन समिति?
रुपन्देही। पश्चिम क्षेत्रको गहनाको रुपमा रहेको बुटवल धागो कारखाना  बिगत १० बर्षदेखी  बन्द रहेको छ।  

Tata
GBIME
Nepal Life

व्यवस्थापनको अभाव, राजनीतिक खिचातानी र कर्मचारी बीच हानथापका  कारण  बुटबल धागो कारखना बन्द भएको हो ।२०३९ सालमा स्थापना भएको नेपालकै महत्वपूर्ण बुटवल धागो कारखानाले झण्डै ८ वर्ष पछि २०४७ सालबाट उत्पादन सुरु गरेको थियो । यहाँ उत्पादित धागोको माग नेपाल मात्र नभई भारतमा समेत राम्रो हुँदाहुँदै पनि उचित व्यवस्थापनको अभाव, खिचातानी र कर्मचारीको हानथापले पटक पटक बन्द हुँदै खुल्दै आएको थियो।
 

एकसय ४४ रोपनी जग्गामा फैलिएको  उद्योगले  बुटबल  औद्योगिक क्षेत्रको  कुल भुभागको एक तिहाई ओगटेको छ । जहाँ धागो उद्योगकालागि पर्याप्त भौतिक पूर्वाधार थिए । केही समय बन्द हुँदै फेरि केही समय खुल्दै गरेको कारखाना २०६४ साल फागुन देखि बन्द नै छ ।२०६६ सालमा चारसय २ जना कर्मचारीलाई पे अफ गरेर बिदा दिएपछि त यो उद्योगको उत्पादनदेखि सम्पूर्ण काम बन्द नै छ । यहाँ करोडौँ मूल्यका महत्वपूर्ण उपकरण खिया लागेर त्यसै थन्किएका छन् ।


नयाँ किनेर राखिएको धागो रंगाउने उपकरण त प्रयोग समेत हुन नपार्इ थोत्रिएको छ। १० वर्षदेखि बन्द उद्योगमा हाल पाँचजना मात्र कर्मचारी छन् । हाजिर गरेर मात्र दिन बिताइरेका ती कर्मचारीहरु कारखाना घुम्न आउनेलार्इ गाइड जस्ता भएका छन्। धागो कारखनामा  बत्ती समेत नभएका कारण ती कर्मचारीहरुले टर्चलाईट बालेरै आगन्तुकलार्इ कारखाना घुमाउने गर्छन्। बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माका अनुसार लामो समय बन्द भएकाले मेशिनका पार्टपूर्जा काम नलाग्ने भैसकेको छ।

नयाँ प्रबिधिका उपकरण जडान गरेर उद्योग संचालन गर्नुपर्ने शर्माको भनार्इ छ ।यो उद्योग संचालनमा आउँदा धेरै रोजगारीको समेत सृजना हुन्छ । यथास्थितीमा रहेका उपकरणलाई संचालनमा ल्याउनुभन्दा नयाँ प्रविधिका मेशिनहरु जडान गरेर धागो उद्योगसँगै सुतिका कपडा उत्पादन  तथा धागो रंगाउने गर्न सके यसले राम्रो रोजगार र आर्थिक मुनाफा दिन सक्ने प्रमुख शर्मा बताउँछन् । 
 

एक वर्षअघिनै औद्योगिक ब्यबस्थापन समितिले  कारखाना संचालनको विषयमा अध्ययन गर्नाकालागि  समितिबाट एकजना  अर्थमन्त्रालयबाट एकजना  उद्योगमन्त्रालयबाट एकजना र बिषेशज्ञ टोलीबाट एकजना गरी चारजनाको समिति बनाएको छ।  कारखाना बन्द भएपछि २०६७ साल पौषदेखि यहाँको गोदाम घर, कारखानाका केही भवन, बाहिरी बिल्डिङ्गमा दंगा नियन्त्रण प्रहरी गण बस्दै आएको छ । दङ्गा प्रहरी बसेपछि यो क्षेत्रको सुरक्षा र सरसफाईमा बल मद्दत पुगेको छ । उद्योगलाई आवश्यकता परे कुनैपनि बेला छाड्ने सहमतीमै दङ्गा नियन्त्रण प्रहरी गण बसेको कारखाना प्रमुख शर्माले जानकारी दिए।


आवश्यक भौतिक पूर्वाधार र जग्गा जमीन प्रसस्त भएपनि यो उद्योगको नाममा हालसम्म सरकारबाट करिव सवा १ अर्ब सरकारी ऋण र खिया लागेका महत्वपूर्ण मेसिनका कारण ठूलै चुनौती नै छ । बिगतमा पनि सरकारले करिव डेढ अर्व रुपैयाँ मिनाहा गरिदिएको थियो । यो उद्योग संचालनमा आए मजदुरले काम पाउने छन् भने कपास खेती र कपडा उद्योगलाई समेत निकै राहत पुग्ने छ ।
 
रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष गणेश अधिकारी सरकार आफैँले संचालन गर्न नसके ब्यवसायीहरुले संचालन गर्न तयार रहेको बताउँछन्। कारखाना चलाउन नसके सरकारले जग्गा भाडामा दिएमा स्थान अभावले समस्यामा परेका अन्य उद्योगहरु संचालन गर्ने अधिकारीले बताए।राम्रो बलियो र गुणस्तरीय धागो उत्पादन गर्दा गर्दै पनि व्यवस्थापनको कमजोरीले पटक पटक बन्द हुने संचालन हुने गरेको यो उद्योग पुन संचालनमा ल्याउँदा धेरै राम्रो हुने बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् धागो कारखाना समितिका संयोजक रहेका नवराज श्रेष्ठ  बताउँछन्। 


कर्मचारीलाई पे अफ गर्दा करिव ४८ करोड रुपैयाँ बाँडिएको थियो भने उद्योग संचालन गर्न ५० करोड लाग्ने अनुमान गरेको छ । ५० करोड लगानी गर्ने हो भने  पुरानो मेशिन संचालन गर्न र नयाँ मेशिन किनेर संचालन गर्न सकिने बताइएको छ। उद्योग संचालन गर्न करिब ३० करोड रुपैयाँ थप आवश्यक छ । कारखानामा रहेको धागो रंगाउने मेशिनलार्इ मात्र संचालन गर्न सकेपनि सरकारी कर्मचारीका कपडा उत्पादन मात्रै गरेर भएपनि कारखानालार्इ ब्यूझाउन सकिने श्रेष्ठको भनार्इ छ। 


अधिकृत पूँजी ६० करोड, जारी पूँजी ४५ करोड र चुक्ता पूँजी ३७.३ करोड रहेको उद्योगमा नेपाल सरकारकै बढी लगानी रहेको छ। ४ हजार ६ सय ३० जनाको शेयर रहेको कारखानामा नेपाल सरकारको लगानी ७९ प्रतिशत छ । निजी तथा सर्वसाधारणको लगानी २१ प्रतिशत छ ।