भैरहवा-लुम्बिनी हुँदै तौलिहवा पुग्ने सडक विस्तार सुरु, भैरहवादेखि लुम्बिनीसम्म चार लेनको हुने

बिजमाण्डू
२०७४ असोज १ गते ११:२६ | Sep 17, 2017

काठमाडौं।हुलाकी राजमार्ग अन्तर्गतको भैरहवा-लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवासम्म पुग्ने सडक  विस्तार कार्य सुरु भएको छ। 
एसियाली विकास बैंक (एडीवी)को  सहुलियत ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतीको काम सुरु गरिएको सडक विभाग आयोजना कार्यान्वयन निर्देशनालय(एडीवी)का आयोजना निर्देशक केशव कुमार शर्माले जानकारी दिए।
एसियाली विकास बैंक (एडीवी)ले २५ बर्षभित्रमा तिर्नुपर्ने शर्त सहित सहुलियत १ प्रतिशत व्याजदरमा यो सडक खण्डका लागि १ अर्व ९३ करोड ६३ लाख ६ हजार २ सय २७ रुपैयाँ ५५ पैसा उपलब्ध गराएको जनाएको छ।

Tata
GBIME
Nepal Life

एसियाली विकास बैंकले साउथ एसियन सब रिजनल इकोनोमीको अपरेशन रोड कनेक्टिभिटी प्रोजेक्ट अन्तर्गत सो सडकको स्तरोन्नतीकालागि सहुलियत ऋण उपलब्ध गराइएको निर्देशनालयले जनाएको छ।

भैरहवादेखि लुम्बिनी र लुम्बिनीदेखि तौलिहवा गरी दुर्इखण्डमा विभाजन गरेर निर्माण कार्य भैरहेको सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख शर्माले जानकारी दिए।

ठेक्काको काम मुल्याङकन भै सकिएकाले अहिले ठेकेदार कम्पनीले निर्माण कार्य नै अघि बढाएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।  

आयोजनाका अनुसार भैरहवादेखि लुम्बिनीसम्म १८ किलोमिटर चार लेनमा विस्तार गरिने छ भने लुम्बिनीदेखि तौलिहवासम्म २३ किलोमिटर २ लेनमा मात्र विस्तार हुनेछ।

चार लेनमा विस्तार हुने भैरहवा-लुम्बिनी सडक चार लेनको हुनेछ । जसमा ३.५/३.५ मिटरको चारवटा लेन हुनेछ भने दुवै तर्फ १/१ मिटरको साइड सोल्डर हुने उल्लेख छ।

त्यसै गरी दुर्इ लेन हुने लुम्बिनी-तौलिहवा भने ५/५ मिटरको दुर्इवटा लेन र १/१ मिटरको दुर्इतर्फी साडइ सोल्डर हुने छ।
अहिले भैरहवा-लुम्बिनी सडक २ लेनको मात्र भने लुम्विनी तौलिहवा सडक १ लेनको मात्र छ। यो सडक निर्माण सम्पन्न भएपछि पर्यटकीय नगरी लुम्बिनीसम्म पुग्नका लागि सहज हुने अपेक्षा गरिएको छ।

सडकको डिजार्इन तथा ऋणकालागि सबै प्रकृया पूरा भएर ठेक्काको काम समेत सकिएर ठेकेदार कम्पनीले निर्माणको काम नै अघि बढेको निर्देशनालयले जनाएको छ। यो सडकखण्डको ठेक्का इन्डियन कम्पनी गवार कन्ट्रक्सन लिमिटेडले पाएको छ।

नारायणगढ-बुटवलखण्ड पनि चार लेनमा विस्तारका लागि ठेक्का मुल्याङकनमा रहेको आयोजना निर्देशनालय(एडीवी)ले जनाएको छ। यो आयोजना पनि एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा विस्तार हुन लागेको हो ।