अख्तियारले एक अर्बमाथि ऋण हुने सबै ब्यवसायीको विवरण माग्यो, लोकमान पथमा दीप बस्न्यात

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ भदौ ३० गते १२:५८ | Sep 15, 2017
काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले एक अर्बभन्दा बढी ऋण लिने ब्यवसायीको विवरण माग गरेको छ। केही दिनअघि राष्ट्र बैंकलाई पत्र लेख्दै अख्तियारले ऋणीको सबै विवरण यथाशिघ्र उपलब्ध गराउन भनेको हो।
 
'अख्तियारबाट एक अर्बमाथि ऋण लिएकाहरुको विवरण माग गरेपछि हाम्रो नियमन विभागले विवरण संकलन गर्ने काम सुरु गरिसकेको छ' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले शुक्रबार बिजमाण्डूसँग भने, 'सबै विवरण तयार भएपछि हामी अख्तियार पठाउँछौं।'


 
अख्तियारले लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा पनि ऋणीको विवरण माग गरेको थियो। नियुक्त भएको केही समयमै उनले दुई करोड रुपैयाँभन्दा माथि ऋण लिनेहरु सबैको विवरण पठाउन निर्देशन नै दिएका थिए।
 
लोकमानपछि प्रमुख आयुक्तमा बढुवा भएका दीप बस्न्यातले भदौ २५ गते राष्ट्र बैंकलाई पत्र लेख्दै ऋणीको विवरण मागेका हुन्।
 
एक अर्बभन्दा माथिका सबै ऋणहरु सहवित्तीयकरण अन्तर्गत गएका छन्। चार पाँच वटा बैंकबाट २०/२५ करोडका दरले ऋण चलाएर एक अर्बमाथि पोर्टफोलियो बनाएका सबैको विवरण राष्ट्र बैंकमार्फत अख्तियार पठाउन लागिएको हो। 
 
राष्ट्र बैंकको नियमन विभागले कुन बैंकसँग एक अर्बमाथिका ऋणी कति छन् भनेर केही दिनमै सोध्न लागेको छ। बैंकहरुबाट विवरण आएपछि त्यो अख्तियार पठाइने तयारी राष्ट्र बैंकको हो।
 
अख्तियारले लगानी भएको ऋण असुली सन्दर्भमा के भइरहेको छ? उनीहरुले कसरी साँवा तथा ब्याज तिरिरहेका छन्? कति किस्ता भुक्तानी भयो? कति बाँकी छ? भन्ने विवरण माग गरेको छ। 
 
अख्तियारको पत्रमा आर्थिक बर्ष २०७३/७४ सालदेखि अहिलेसम्म प्रवाह भएको ऋणको विवरण पठाउन भनिएको छ। साथै एक अर्बभन्दा माथिको भाका नाघेको ऋणको विवरणसमेत मागिएको छ। गत आर्थिक बर्ष सेटल भइसकेको ऋणको विवरण पनि माग गरिएको छ। 
 
आयोग स्रोतले भने राष्ट्र बैंकको नियमनलाई थप बलियो र प्रभावकारी बनाउन ठूला ऋणीको विवरण मागिएको दावी गरेको छ। अख्तियारले बाणिज्य बैंकहरुसँग भएका ऋणीहरुको मात्र विवरण माग गरेको हो। विकास बैंक र फाइनान्समा एक अर्ब माथि ऋण लिएकाको विवरण माग गरिएको छैन। 
 
लोकमानले दुई करोडमाथिको फाइल माग्दा राष्ट्र बैंकले पठाएको थिएन। त्यसबेला गभर्नरका रुपमा डा. युवराज खतिवडा थिए। अवकाशपछि राष्ट्र बैंकको एक कार्यक्रममा उनले यस बारेमा सार्वजनिक मन्तब्यसमेत दिएका थिए।
खतिवडाले लोकमानले दिएको दुख सम्झँदै भनेका थिए- केन्द्रीय बैंकलाई दुई करोडमाथिका ऋणीको सबै फाइल तीन दिनभित्र टंगाल (अख्तियार कार्यालय) मा बुझाउन उर्दी नै आयो। तर हामीले बुझाएनौं। अडान नै लियौं। त्यो अडान लिने क्षमता हामीमा हुनुपर्छ र त्यो नैतिक बल हामीले कायम गरेर राख्न सक्नुपर्छ। 
 
लोकमानले फाइल मागेको सार्वजनिक भएपछि उद्यम गर्ने ब्यवसायीलाई प्रताडित गर्न अख्तियारले षड्यन्त्र बुनेको भन्दै बैंकर तथा ब्यवसायीले राष्ट्र बैंकसँग गुहार लगाएका थिए। पछि ब्यापक विरोध भएका कारण लोकमानले फाइल पठाउने उर्दी दिन छाडेका थिए।
 
'अख्तियारले एक अर्ब ऋणको विवरण किन चाहिएको पत्रमा खुलाएको छैन' राष्ट्र बैंक स्रोतले भन्यो, 'उसको निहित उद्देश्य थाहा नभएकाले यस्ता कृयाकलापबाट ब्यावसायिक क्षेत्रमा त्रासको वातावरण बन्ने छ।'

Tata
GBIME
Nepal Life