अदालतको विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी चण्डी ढकालले किशोर प्रधानको भोट मागे

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ भदौ २८ गते १७:३६ | Sep 13, 2017
विराटनगर। नेपाल उद्योग बाणिज्य महासङ्घका विशिष्ट सदस्य चण्डीराज ढकालले सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दाको पनि विचार गरेनन्।
 
 
उद्योग सङ्गठन मोरङको सभाकक्षमा बुधबार ९ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेला भएको मौका छोपेर विशिष्ट सदस्य ढकालले किशोर प्रधानकालागि भोट मागिछाडे। उनले औपचारिक रूपमा मञ्चबाट भाषण गर्दै प्रधानलाई मत दिन आग्रह गरे।
 
अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी कसैले पनि बोल्न र लेख्न नपाइने नियमलाई चण्डीले उल्लङ्घन गरेका हुन्।
 
‘हुन त मुद्दा अदालतमा विचाराधीन छ’,  ढकालले भने,  ‘तर मलाई लाग्छ, फैसला निर्वाचनकै पक्षमा हुन्छ र चुनाव हुन्छ। यो चुनावमा उद्योग सङ्गठन मोरङले सहर्ष र सगर्व किशोरजीलाई उठाएको छ। म उहाँलाई मत दिन अनुरोध गर्दछु।’
 
महासङ्घका जिल्लानगर उद्योगवाणिज्य सङ्घतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चुनाव लड्न गएपछि उनको पद खारेज भएको थियो। 
 
जसअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घले निर्वाचन गराउने तयारी सुरु गरेको थियो। तर यस बारेमा फेरि सर्वोच्चमा रिट परेपछि भदौ २७ गते पेशी तोकिएको थियो।
 
भदौ २७ मा डिआइजी नवराज सिलवालको मुद्दाको फैसला गर्ने दिन परेकाले सर्वोच्चले नभ्याएका कारण अर्को पेशी असोज २४ लाई तोकिएको छ। 
 
‘महासङ्घका तर्फबाट हामीले दिनुपर्ने लिखित जबाफ पेश गरिसकेका छौँ’,  ढकालको विश्वास थियो,  ‘अब चुनावकै पक्षमा अदालतको आदेश आउनेछ।’
 
यसरी ढकालले स्पष्ट रूपमा विचाराधीन मुद्दालाई प्रभाव पार्न खोजेका हुन्।
 
महासङ्घका अध्यक्ष भवानी राणासहित महासङ्घको टोली उद्योग सङ्गठनमा आउनुको कारण नौ वटा सम्झौतापत्रमा हस्ताक्षर गर्न थियो।
 
उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्योग तथा विप्रेषण आयोजना (समृद्धि) ले पूर्वका ९ जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्षलाई सम्झौता पत्रमा हस्ताक्षर गर्न बोलाएको थियो।
 
तर आफ्नै विशिष्ट स्वभाव अनुसार विशिष्ट सदस्य ढकालले सभालाई चुनावी रङ दिइछाडे। जबकी आफ्नो मन्तव्यमा महासङ्घका अध्यक्ष भवानी राणाले चुनावको 'च' पनि उच्चारण गरिनन्।
 
परियोजनाका सञ्चालक राकेश झाका अनुसार समृद्धि नेपालका १६ जिल्लामा लागु गरिएको ७ वर्ष अवधिको आयोजना हो। यसलाई कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) ले सहयोग गरेको छ। यो आयोजनाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका आप्रवासी घरपरिवारलाई दिगो आम्दानीको स्रोत दिलाउने उद्देश्य लिएको छ।
 
आयोजनाले ६० हजार उद्यम सञ्चालन गर्ने र बेरोजगार ३० हजार युवालाई रोजगारी दिने लक्ष्य राखेको झाले बताए। एक युवकले उद्यमका लागि बढीमा १५ लाख रुपैयाँको ऋण पाउनेछन्।
 
कार्यक्रममा पूर्वका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, सप्तरी, सिरहा र त्रियुगा गरी ९ उद्योगवाणिज्य सङ्घका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Tata
GBIME
Nepal Life