snickers

भारतले निकासीमा नयाँ प्रावधान ल्यायो, बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्न पाइने




विराटनगर।भारतबाट निर्यात गर्ने व्यवसायीले जिएसटी बिलमा आफ्नो व्यावसायिक फर्मको एडी कोड (अर्थोराइज्ड डिलर कोड) उल्लेख गर्नैपर्ने नियम भारत सरकारले लगाएपछि भारतबाट हुने आयात प्रभावित भएको छ ।


भारतको केन्द्रीय भन्सार विभागले एक हप्ताअघि सीमा क्षेत्रका सबै भन्सार कार्यालयलाई परिपत्र गर्दै एडी कोड नभएका जिएसटी बिल स्वीकार नगर्न निर्देशन दिएको थियो ।सम्बद्ध स्रोतका अनुसार ती भन्सार कार्यालयले एडी कोड उल्लेख नगरिएका जिएसटी बिललाई पहुँच र भनसुनका आधारमा मान्यता दिँदै आएका थिए । 
 
केन्द्रीय भन्सार विभागले बुधबारदेखि कम्प्युटर नेटवर्कको प्रणालीमै परिवर्तन गरेर एडी कोड नलेखिएका जिएसटी बिल ‘एक्सेप्ट’ (स्वीकार) नै नहुने बनाइदिएको छ । यसका कारण एडी कोड उल्लेख नगरिएका जिएसटी बिललाई सीमा क्षेत्रका भारतीय भन्सारको कम्प्युटर प्रणालीले स्वीकार गर्दैन । साथै एडी कोड उल्लेख नगरिएका जिएसटी बिलबाट ती भन्सार कार्यालयले बिल अफ एक्स्पोर्ट बनाउन सक्तैनन् ।विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष वीजेन्द्र परासरका अनुसार १४ अङ्कको एडी कोडमा त्यस व्यावसायिक फर्मको बैंक खाताको विवरण पनि लिंक गरिएको हुन्छ ।
 
जिएसटी बिलमा उल्लेख भएअनुसारको रकम त्यस फर्मको बैंक खातामा क्रेताले जम्मा गरेको छ कि छैन भनेर भारतीय भन्सारका अधिकारीले आफ्नो कार्यालयमा रहेको विद्युतीय प्रणालीबाटै हेर्न सक्नेछन् ।यसबाट न्यून विजकीकरणमा नियन्त्रण हुने विश्वास भारतीय पक्षले गरेको छ । सबै कारोबार बैंकिङ प्रणालीबाट होस् भन्ने उद्देश्य राखेको भारत सरकारले यही मौद्रिक नीतिलाई कार्यान्वयन गर्न यस्तो नियम लगाइएको तर्क पनि गरिएको छ । 
बैङ्किङ प्रणालीबाट थोरै रकम भुक्तान गरेर बाँकी रकम हुन्डी वा नगदै तिर्ने व्यवसायीलाई पनि यो नियमले कडाइका साथ नियमन गर्ने भएको छ । अब कारोबारको रकम बैङ्किङ प्रणालीबाटै भुक्तानी गर्नुपर्ने अनिवार्य भएको छ।
 
व्यवसायी शंकर राठीका अनुसार नेपालतर्फ निकासी गर्दै आएका अधिकांश भारतीय व्यवसायीले आइसी कोड (इम्पोर्ट–एक्स्पोर्ट कोड) नै लिएका छैनन् । आइसी कोड लिएका व्यवसायीले मात्र एडी कोड पाउँछन् । आइसी र एडी कोड लिन भारतीय सरकारी कार्यालय र बैंक प्रशस्त झन्झट छ । नेपालमा जस्तो सजिलो छैन । त्यसैले भारतबाट हुने लोकल पैठारी प्रभावित भएको हो ।यसका कारण भारतबाट नेपालतर्फ आयात गरिने रङ्गरोगन, हार्डवेयर, बाथवेयर, कपडा, शृङ्गारका सामान, इलेक्ट्रिकल सामान, स्टेसनरी लगायतका धेरै वस्तुको आयात अवरूद्ध भएको छ ।
 
नेपालतर्फ पनि कडाइ 
भारत सरकारलेझैँ नेपाल सरकारले पनि भदौ महिना लागेपछि कडाइ सुरु गरेको थियो । भदौ १ देखि भन्सार विभागले नेपालका सबै भन्सार कार्यालयलाई परिपत्र गर्दै भारतबाट गरिने सबै प्रकारका आयातमा जिएसटी बिल अनिवार्य हुनुपर्ने निर्देशन गरेको थियो ।
 
तर केही व्यवसायीले जिएसटी बिल नै नक्कली बनाएको र कसैले जिएसटी बिलमा पनि न्यून विजकीकरण गरेको पाइएपछि भन्सार विभागले भदौ १० गते फेरि सबै भन्सार कार्यालयलाई अर्को परिपत्र गरेको थियो । उक्त परिपत्रमा भारतबाट गरिने पाँच हजारभन्दा माथिको आयातमा भारतीय भन्सारले जारी गरेको बिल अफ एक्स्पोर्ट अनिवार्य हुनुपर्ने निर्देशन गरिएको छ ।
 
उक्त नियमबाट पनि न्यून विजकीकरण र फर्जी वा गलत बिलिङको समस्या समाधान हुने विश्वास गरिएको छ ।नेपाल सरकारले यसअघि साउन १ गतेदेखि सबै आयात–निर्यातकर्ताले निकासी–पैठारी सङ्केत नम्बर (एक्जिम कोड) लिनै पर्ने अनिवार्य नियम लागु गरेको छ ।भारतमा जुलाई १ देखि जिएसटी पूर्ण कार्यान्वयनमा आएको हो ।
 
भन्सार राजस्व प्रभावित
साउन २८ र २९ को बाढी, जोगबनी बजारनजिकको पुल क्षतिग्रस्त र जिएसटी बिल तथा एडी कोड लगायतका कारणले भारतबाट हुने पैठारी प्रभावित हुँदा राजस्वमा पनि असर परेको छ ।
 
विराटनगर भन्सार कार्यालयले भदौ २२ गते सम्ममा १ अर्ब ७६ करोड सङ्कलन गर्नुपर्नेमा १ अर्ब ४ करोडमात्र सङ्कलन गरेको छ ।
 


Share this Story

   

भारतले निकासीमा नयाँ प्रावधान ल्यायो, बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्न पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.