snickers

बैंकहरुले मुद्दति खाताको ब्याज दर घटाउन थाले, तरलता बढ्न थालेपछि बचत खाता घटाउन दवाव




काठमाडौं। लगानी योग्य पूँजी (तरलता) बढ्न थालेपछि बैंकहरुले मुद्दति निक्षेपको ब्याज दर घटाउन थालेका छन्। १४ प्रतिशतभन्दा माथि ब्याज दर दिइरहेका बैंकले अहिले ७/८ प्रतिशत हाराहारीमा झार्न थालेका छन्। कुनै कुनै बैंकले भने सर्वसाधारणलाई ९/१० प्रतिशतसम्म ब्याज दिइरहेका छन्।
 
'तरलता बढ्न थालेपछि पूँजी लागत घटाउन बैंकहरुले पहिलो चरणमा मुद्दति निक्षेपको ब्याज दर घटाउन सुरु गरिसकेका छन्' कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बिजमाण्डूसँग भने, 'विस्तारै अरु ब्याज दरहरु पनि घट्न थाल्ने छ।'
 
सरकारले गत आर्थिक बर्षको अन्त्यतिर गरेको ठूलो खर्चहरु विस्तारै बैंकिङ प्रणालीमा आउन थालेपछि तरलतामा सुधार आएको हो। स्थानीय तहमा गएको पैसा पनि बैंकिङ प्रणालीमा बसेको छ। साथै ऋणको माग खासै नआएका कारण बैंकहरुसँग तरलता थुप्रिने क्रमले निरन्तरता पाएको छ।
 
'गत बर्षको तुलनामा अझै पनि ब्याज दर माथि भए पनि घट्दो क्रममा भने आइरहेको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'लगानी गर्न सक्ने पैसा पनि करिव ६० अर्बजति छ। त्यही भएर बैंकहरुले खर्च घटाउन मुद्दति निक्षेपको ब्याज दर तल झारेका हुन्।'
 
बचतको ब्याज दर भने असोज मसान्तपछिको अवस्थाले निर्क्यौल गर्ने बैंकरहरु बताउँछन्। 'तरलताको अवस्था कायमै रहेमा मुद्दतिपछि बचत खाताको ब्याज दर झर्न थाल्छ' दाहालले भने।
 
असार मध्यदेखि सहज भएको तरलता राष्ट्र बैंकले एउटा वित्तीय संस्थाले अर्को संस्थामा राखेको निक्षेपलाई कर्जा-पूँजी-निक्षेप (सिसिडी रेसियो) अनुपातमा गणना गर्न नपाइने ब्यवस्था गरेपछि ब्याज दर फेरि बढ्न थालेको थियो। अर्को हप्ता नै राष्ट्र बैंकले नीतिमा संशोधन गरेपछि बैंकहरुबाट खोसिएको करिव ८० अर्ब रुपैयाँ फिर्ता भएको थियो। यसपछि बैकहरुले मुद्दति निक्षेपको ब्याज दर क्रमिक रुपमा घटाउन थालेका हुन्।
 
समग्र स्रोतको लागत घटेर आधार दर कम हुन थालेपछि ऋणको ब्याज पनि सस्तो हुने छ। यद्यपी कतिपय बैकले तरलता बढ्न थालेको र मुद्दति निक्षेपको ब्याज घटाउन थालेपछि आधार दर (बेस रेट) भन्दा तल गएर ऋण लगानीसमेत गर्न थालेका छन्। यसले गर्दा कर्पोरेट ग्राहकले केही कम ब्याजमै ऋण पाउन थालेका छन्।
 
'मुद्दति र बचतको ब्याज दर केही कम भएपछि बैंकहरुले पूँजी लागतका आधारमा बिस्तारै ऋणको ब्याज पनि घटाउन थाल्ने छन्' भण्डारीले भने, '६ महिनाभित्र अवस्था कतातिर जान्छ भन्ने प्रस्ट हुन्छ।'
 
एक बर्षको तथ्यांक हेर्दा बाणिज्य बैंकहरुको ब्याज दर लगभग दोब्बरले बढेको छ। एक बर्षमा निक्षेपको औसत ब्याज दर ३.२८ प्रतिशतबाट ६.१५ प्रतिशत पुगेको छ। 
 
राष्ट्र बैंकका अनुसार बचत खाताको ब्याज दर २.२४ प्रतिशतबाट ४.०१ प्रतिशत, मुद्दति निक्षेपको ५.५७ प्रतिशतबाट १०.०८ प्रतिशत र कल डिपोजिटको ३.८१ बाट ४.१४ प्रतिशत पुगेको छ। ऋणको औसत ब्याज दर ८.८६ प्रतिशतबाट ११.३९ प्रतिशतमा उक्लिएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। 
 
'बजारमा पैसा अभाव भएन र तरलता सहज भइरहेमा निक्षेपको ब्याज दर थप घट्ने छ' दाहालले भने, 'बैकहरुको लागत कम हुन थालेपछि ऋणको ब्याज पनि सस्तिँदै जाने छ।' 


Share this Story

   

बैंकहरुले मुद्दति खाताको ब्याज दर घटाउन थाले, तरलता बढ्न थालेपछि बचत खाता घटाउन दवाव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.