सञ्चालक हुँदा दोस्रो बजारबाट शेयर किनेको भेटिएपछि गुरुप्रसादको दुई करोड १२ लाखको शेयर जफत




काठमाडौं। नेपाल राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेको शेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको छ। जनता बैंकको संञ्चालक रहेकै बेला न्यौपानेले श्रीमतीका नाममा शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले सबै शेयर जफत गर्न निर्देशन दिएको हो।
 
राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेख्दै सर्वसाधारण समूहमा रहेको ५२ हजार ४७० कित्ता एवं त्यसबाट प्राप्त बोनस र हकप्रद शेयरसमेत जफत गर्न निर्देशन दिएको हो। 
 
न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवी न्यौपानेको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट खरीद गरेका थिए। त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट छ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या कुल शेयर संख्या ८५ हजार एक कित्ता पुगेको छ।
 
यो सबै शेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ।
 
ऐनको दफा १२ लाई टेकेर राष्ट्र बैंकले निर्देशन बमोजिम न्यौपानेको शेयर जफत गर्न जनता बैंकले प्रकृया सुरु गरिसकेको छ। बैंकले आफ्नो २३२औं सञ्चालक समिति बैठकबाट शेयर जफत गर्ने निर्णय गरेको हो। निर्णय अनुसार बैंकले जफत शेयरलाई बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।
 

अहिले जनता बैंकको साधारण शेयरको मूल्य २५० रुपैयाँ हाराहारी छ। यही मूल्यमा शेयर बिक्री हुँदा न्यौपानेको दुई करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढीको सम्पति जफत हुन्छ। जफत भएको सम्पति बैंकको आम्दानीमा देखाइन्छ।
 
न्यौपानेले श्रीमतीका नाममा शेयर खरीद गरेको भन्ने उजुरी परेपछि राष्ट्र बैंकले छानविन गरेको थियो। २०७३ मंसिर २५ गते परेको उजुरीका आधारमा केन्द्रीय बैंकले पुस १२ गते जनता बैंकसँग स्पष्टीकरण माग गरेको थियो। 
 
त्यसपछि बैंकले अर्का सञ्चालक नारायणप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले छानबिन थालेपछि न्यौपानेले प्राथमिक निष्कासनमै श्रीमतीलाई शेयर परेको भन्दै ढाकछोप गर्न खोजेका थिए। त्यसबेला सावित्रीको डिम्याट खातामा जनता बैंकको कुल ६४ हजार ३९५ कित्ता सर्वसाधारण शेयर थियो। 
 
छानविन समितिले त्यसमध्ये ११ हजार ९२५ कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा खरीद गरेको र बाँकी दोस्रो बजारबाट किनेको निष्कर्ष निकाल्यो। बैंकले त्यही अनुरुप केन्द्रीय बैंकलाई पुस २५ गते जानकारी गराइको थियो।  यसैको आधारमा राष्ट्र बैंकले न्यौपानेको शेयर जफत गर्ने निर्देशन दिएको हो।
 
राष्ट्र बैंकले छानविन निर्देशन दिएपछि न्यौपानेले हतार/हतार २०७१ पुस ११ गतेबाट लागू हुने गरी भन्दै राजीनामा दिएका थिए। ‘ब्याकडेट’को राजीनामा देखाइ कारबाहीबाट बच्न उनले यसो गरेका थिए। तर, सञ्चालक समितिले भने २०७३ पुस २१ गते मात्र राजीनामा स्वीकृत गरेको थियो। 
 
न्यौपाने जनता बैंकका संस्थापक समेत हुन्। उनको नाममा बैंकको १.१४ प्रतिशत शेयर रहेको छ। उनले बिभिन्न जलविद्युत कम्पनी पनि प्रवर्धन गर्दै आएका छन्। राष्ट्र बैंकका पूर्व कर्मचारी न्यौपानै आफु संलग्न हरेक संस्थामा विवादित छन्।

Share this Story

   

सञ्चालक हुँदा दोस्रो बजारबाट शेयर किनेको भेटिएपछि गुरुप्रसादको दुई करोड १२ लाखको शेयर जफत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.