सुन तस्करी र यसको जालो, सुन मालिक किन पत्ता लाग्दैनन्, विनोद नेपालको लेख

बिजमाण्डू
२०७४ भदौ २२ गते ०९:५१ | Sep 7, 2017
सुन तस्करी र यसको जालो, सुन मालिक किन पत्ता लाग्दैनन्, विनोद नेपालको लेख


नेपाल तस्करीको केन्द्र बन्दै आएको छ । खुला सीमाना भएको छिमेकी भारतको त कुरै छाडौं, यो तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरुको आश्रयस्थल समेत बन्दै आएको छ ।

सहज आवागमन, विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदारता प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउंदै आएका छन् । कुनै व्यक्ति मुलुकभित्र छिर्दा कुन उद्देश्यले आएको हो, उसको संलग्नता, पेशा, व्यवसाय वा आबद्धता कुन क्षेत्रमा छ भन्ने जस्ता विषयमा विस्तृत जानकारी नलिइनुका कारण पनि आपराधिक चरित्रका व्यक्तिहरुले पछिल्लो समय नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय अपराधहरुमा संलग्न हुने गरेका छन् । 
 
हामीकहां हुने अपराधहरुमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं बन्य जन्तुका अंगहरुको तस्करी आदि प्रमुख छन् । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरु समेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुंदै आएका छन्  । नेपालीहरुको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ । 
 
सुन तस्करी हाम्रा लागि नयां र नौलो विषय होइन । यो निकै अघिदेखि हुंदै आएको हो । पञ्चायती शासनकालमा   सत्तासीनहरुकै संरक्षण र संलग्नतामा सुन तस्करी हुने गरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात पनि थुप्रै नेता र सरकारी अधिकारीहरु सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुन काण्ड’हरु चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने काम भएन बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरु नै संलग्न हुन थाले ।
 
विगत केही वर्षदेखि खासगरी तातोपानी नाका हुंदै स्थलमार्गबाट तस्करी हुने गरेकोमा गतवर्षको भूकम्पले सो नाका अबरुद्ध भएपछि अन्य नाकाहरु हुंदै तस्करी हुन थालेको छ । यसबाहेक हवाईमार्गबाट पनि सुन तस्करी हुने गरेको छ । यसै क्रममा भदौ १९ गते  चीनबाट रसुवा हुंदै काठमाडौ भित्रिएको र ८८ किलो सुन काठमाडौको क्षेत्रपाटीबाट बरामद भएपछि सुन तस्करीको विषय निकै चर्चामा छ । यस अघि गत वर्ष पुसमा हवाईमार्गबाट आएको सम्भवतः हालसम्मकै सर्वाधिक परिमाण झन्डै ३३ किलो अबैध सुन बरामद भएको थियो।

Tata
GBIME
Nepal Life

संयुक्त अरब इमिरेट्सबाट अबैध रुपमा काठमाडौ भित्रंदै गरेको उक्त परिमाणको सुन र सुनका गहना पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार नजिकै बरामद भएको हो । बिमानस्थलको भन्सार चेकजांच तथा सुरक्षा घेरा पार गरी बाहिरिंदै गरेको अवस्थामा दुईवटा सुटकेसमा लुकार्ई ल्याइएको उक्त परिमाणको सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले बरामद गरेको थियो । अबैध सुन तस्करीको विशेष सुराकीका आधारमा विमानस्थल परिसरमा खटिएको प्रहरी टोलीले एयर अरेविया मार्फत अबैध सुन बोकेर काठमाडौ आइपुगेका गोपाल शाहीबाट उक्त परिमाणको सुन बरामद गरी शाहीलाई पक्राउ गरेकोमा सो घटनामा संलग्न अन्य केहीलाई र केही दिन अघि मुख्य व्यक्तिसमेलाई पक्राउ गरिसकेको छ । 


सो घटनामा विमानस्थल भन्सार तथा विमानस्थल सुरक्षा संयन्त्र एवं सम्बद्ध निकाय र अधिकारीहरु संलग्न भएको    आशंका गरियो । त्यत्रो परिमाणको सुन सम्पूर्ण चेकजांच भई सुरक्षित रुपमा बाहिरिनुलाई रहस्यमय त हो नै यो काम कुनै सेटिङ बिना सम्भव नहुने र सामान्य व्यक्तिले यस्तो आंट गर्न सक्ने कुरै हुंदैन । निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अनपाउंछ तर आधुनिक प्रविधिले सम्भावित अपराधको पहिचान गर्न र त्यस्ता अपराधबाट जोगिन सक्ने सम्भावनाहरु पनि पहिल्याउंदै गएको अवस्थामा यति धेरै परिमाणको सुन जुन तौलका कारण पनि आशंकामा पर्नुपर्ने हो नपर्नु आफैमा आश्चर्य हो र यसले लापरवाही र मिलेमतो बेगर यस्तो काम सम्पन्न हुन सम्भव थिएन भन्ने अनुमान गर्न कठिन छैन ।  
 
नेपाल–चीन सिमानास्थित रसुवाको केरुङ नाका हुंदै राजधानी भित्रिएको करिब ४३ करोड रुपैयां बजार मूल्य पर्ने ८८ किलो सुन तस्करीको सन्दर्भमा सीमाना सम्म चिनियां नागरिकले र नेपाली भूभागमा नेपालकै चालकले सो सवारी साधन चलाएका र सुराकीको आधारमा प्रहरीले काठमाडौमा पक्रन सफल भएको बताइएको छ । मुख्य तस्करको आशंका गरिएका चिनियां नागरिक पक्राउ नपरेका भएपनि उनले नेपालमा लामो समयदेखि बसोवास र पेशा व्यवसाय गर्दै आएका बताइन्छ।
 
पछिल्लो समय हामीकहां बैध माध्यमबाट सुन आयात हुने क्रम घटेको छ । तर बजारमा सुनको अभाव छैन । यसरी तस्करी भइ आएका सुनले नै हाम्रो मागको ठूलो हिस्सा पूरा गरेको छ । हाम्रो आवश्यकता पूरा गरेर पनि ठूलो मात्रामा भारततर्फ तस्करी हुने गरेको अनुमान पनि गरिंदै आएको छ । यसले हाम्रा व्यवसायीहरु पनि तस्करका मतियार र सहयोगी नहोलान् भन्न सकिंदैन । यस सम्बन्धमा बेलाबखत चर्चा चलेपनि ठोस रुपमा कसैमाथि कुनै किसिमको गम्भीर अनुसन्धान र सोधखोज भएको पाइंदैन जसले गर्दा तस्करीको क्रम बढेको छ । विभिन्न आवरणमा बहुमूल्य धातुको तस्करी गर्ने काम भइ नै रहेको छ । 
 
बरम्बार दोहोरिइरहने यस्ता घटनाले मुलुकमा आपराधिक समूहको सक्रियता बढेको प्रष्टै हुन्छ । यसले सुन तस्करीको चुनौती झन्झन् बढिरहेको प्रष्ट हुन्छ । यदी यस्ता समुह र त्यसमा संलग्नको पहिचान गरी कारवाही गर्न नसके नेपाल आपराधिक गिरोह र तस्करको स्वर्ग बन्ने खतरा भएकोले पनि यस घटनाबाट यो सन्देश लिदै आफ्ना संयन्त्रहरुलाई जिम्मेवार रुपमा सञ्चालन गर्नुपनि उत्तिकै जरुरी छ । जहांसम्म तस्करहरुको कुरा हो, पक्राउ परेका सुनका वास्तविक मालिकहरुको पहिचान नहुनु र भरियाहरुमात्र कारवाहीमा पर्नु आफैमा आश्चर्यको विषय हो । यति धेरै परिमाणका अबैध सुन सामान्य व्यक्ति वा सानो कारोबारीले खरिद गरी ल्याउनै सक्दैन।

त्यसमा पनि सबैतिर सेटिङ मिलाउने र सुरक्षित रुपमा प्राप्त गर्न सक्ने कुराको प्रबन्ध मिलाउनुपनि सहजै सम्भव विषय होइन । पैसाको चांजोपांजो कसरी मिल्छ ? यो सम्पत्ति शुद्धीकरण निवारणसंग पनि सम्बन्धित विषय हो । यसैले पक्राउ परेका भरिया र सहयोगीहरुसंग राम्ररी सोधपुछ गर्ने हो भने मुख्य अपराधीसम्म पुग्न कुनै कठिन हुनेछैन । कमजोर र अस्थिर शासन व्यव्स्थाको लाभ आपारधिक तत्वले लिने प्रयास गर्छन् नै । यसैले राज्यले यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ भने   हाम्रा सुरक्षा संयन्त्रको विशेष सक्रियता आवश्यक छ । आशा गरौं राज्यलाई नै चुनौती दिनेगरी भएको यो घटनालाई राज्य र सम्बन्धित निकायले गम्भीर रुपमा लिनेछन् । यसको अनुसन्धान गम्भीरतासाथ हुनेछ र सुन तस्करीमा संलग्न गिरोहहरुको पर्दाफास हुनेछ ।