प्राधिकरणमा कुलमान कमाल, ३५ अर्ब रुपैयाँको आय ५० अर्ब पुग्यो, संस्थान सञ्चालन मुनाफामा

बिजमाण्डू
२०७४ भदौ १ गते १२:०५ | Aug 17, 2017
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वित्तिय अवस्थाआमा ‘चमत्कारी’ सुधार आएको छ। प्राधिकरणको आम्दानी झन्डै १५ अर्ब रुपैयाँले बढेको छ भने सञ्चालन मुनाफा समेत कमाएको छ। 
 
लोडसेडिङ अन्त्य गरि नियमित विद्युत आपूर्ति एवं चुहावट नियन्त्रणमा चालेका कदमले प्राधिकरणको आम्दानी बढेको हो। गत असोजमा कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि प्राधिकरणले चुहावट नियन्त्रणमा तीव्र अभियान थालेको थियो। माग पक्ष व्यवस्थापनमा जोड दिएर तिहार यता लोडसेडिङ अन्त्य गर्न समेत प्राधिकरण व्यवस्थापन सफल भयो।
 
प्राधिकरणको ३२ औँ बार्षिकोत्सवको अवसर पारेर बिहीबार कार्यकारी निर्देशक घिसिङले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा बिजुली बिक्री अन्य आम्दानीबाट ५० अर्ब २२ लाख ९४ हजार रुपैयाँ प्राधिकरणे कमाएको छ। अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ मात्र थियो।
 
त्यस्तै खर्च पनि ३६ अर्ब आठ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यसरी आर्थिक बर्ष २०७२/७३ मा तीन अर्ब छ करोड रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको प्राधिकरणले गत आर्थिक बर्षमा दुई अर्ब ४० करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। पुरानो घाटाको कारण खुद मुनाफा भने गत बर्ष पनि कमाउन नसकेको प्राधिकरणले जनाएको छ। गत बर्ष प्राधिकरणलाई ९० करोड हाराहारी खुद नोक्सान भएको हो। चालु आर्थिक बर्षमा खुद मुनाफा आर्जन गर्ने प्राधिकरणको लक्ष छ।

Tata
GBIME
Nepal Life


 

प्राधिकरणको ग्राहक संख्या २९ लाख ७० हजारबाट बढेर ३२ लाख ६० हजार पुगेको कार्यकारी निर्देशक घिसिङले जनाएको छन्। ग्राहक संख्या थपिनुमा चुहावट नियन्त्रणको पनि ठूलो हात छ। तराईमा हुकिङ गरेर बिजुली बाल्ने सर्वसाधारणलाई प्राधिकरणले गत बर्ष मिटर बाँडेको थियो। 
 
नियन्त्रण अभियानका कारण अघिल्लो बर्ष २५.७८ प्रतिशत रहेको प्राधिकरणको चुहावट २२.९ प्रतिशतमा झरेको छ।
 
प्राधिकरणको प्रणालीमा गत आर्थिक बर्ष २०७३/७४ मा छ हजार २५७ गिगावाट आवर बिजुली प्राप्त भएको छ। जुन, अघिल्लो आर्थिक बर्षको तुलनामा २३ प्रतिशत बढि हो। राष्ट्रिय गृड प्रणालीमा उपलब्ध विद्युतमध्ये सबैभन्दा धेरै ३७ प्रतिशत प्राधिकरणको आफ्नै उत्पादन रहेको छ। यस्तै भारतबाट ३५ प्रतिशत र निजी क्षेत्रबाट २८ प्रतिशत बिजुली उपलब्ध भएको थियो।