बाढीले आठ अर्ब रुपैयाँ बराबरको कृषिबालीमा क्षति, सवा तीन अर्ब रुपैयाँ मूल्यको धानबाली नष्ट

बिजमाण्डू
२०७४ साउन ३२ गते १८:०७ | Aug 16, 2017
बाढीले आठ अर्ब रुपैयाँ बराबरको कृषिबालीमा क्षति, सवा तीन अर्ब रुपैयाँ मूल्यको धानबाली नष्ट


काठमाडौं। बाढीका कारण तराईका ३१ जिल्लामा ८ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको कृषिबाली क्षति भएको छ।

Tata
GBIME
Nepal Life

धानको पकेट क्षेत्र तराईमा बाढीले सबैभन्दा बढी धानखेतीनै क्षति भएको कृषि मन्त्रालयले जनायो।मन्त्रालयका अनुसार दुई लाख ३६ हजार १३१ हेक्टर क्षेत्रफलमा लगाएको धानबाली प्रभावित भएको छ। त्यो मध्ये ४७ हजार २२६ हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्णरुपमा नस्ट भएको छ।यो क्षेत्रफलको उत्पादनको मूल्य तीन अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
 

त्यसैगरि २० हजार ५९३ हेक्टर क्षेत्रफलमा गरिएको तरकारीखेती प्रभावित भएकोमा ८० प्रतिशत नष्ट भएको मन्त्रालयको अनुमान छ। तरकारीबाली मात्रै दुई अर्ब ९६ करोड ५४ लाख रुपैयाँको क्षति भएको छ।दलहन खेतीतर्फ ८ हजार ३८३ हेक्टर क्षेत्रफलमा क्षति भएको छ।मन्त्रालयका अनुसार २४ करोड १३ लाख रुपैयाँ बराबरको दलहन खेती क्षति भएको छ। माछा पालन गरिएको दुई हजार २२४ हेक्टर क्षेत्रफल प्रभावित भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार एक हजार ३२४ हेक्टर क्षेत्रफलमा ८० करोड रुपैयाँ बराबरको माछा नष्ट भएको प्रारम्भिक तथ्यांक छ। 
 
मन्त्रालयका अनुसार १ सय ८८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीमा क्षति भएको छ। मन्त्रालयका अनुसार १ सय ५५ हेक्टर क्षेत्रफलको तेलहन खेती, १५ हेक्टर क्षेत्रफलमा गरिएको बदाम खेती र तीन सय हेक्टर क्षेत्रफलमा गरिएको बेसार खेतीमा क्षति भएको छ। मन्त्रालयका अनुसार दुई लाख ७२ हजार ६३० हेक्टर क्षेत्रफलमा गरिएको कृषिबाली प्रभावित भएकोमा ७८ हजार ५१५ हेक्टर क्षेत्रफलको कृषिखेती नष्ट भएको छ।
 
क्षतिको विवरण एकिन गरेर कृषि ऋण मिनाहा गर्ने तयारी भैरहेको कृषि विकास मन्त्री रामकृष्ण यादबले बताए।उनले बिउबिजन तथा मलखाद निशुल्क वितरण गर्ने बताए।धानखेतीमा धेरै क्षति भएकोले ५४ लाख मेट्रिक टन धान उत्पादनकोलक्ष्य भेटाउन कठिन हुने बताउँदै उनले छरुवा धान खेतीलार्इ प्राथमिकता दिने बताए। तराईमा स्वर्ण-१, साम्बा मनसुली,सव-१ र सेहराङ जातको धान धेरै रोपिएको बताउँदै यो धान  दुई हप्तासम्म पानीमा डुबेपनि क्षति नहुने मन्त्रालयले जनाएको छ।मन्त्रालयका कर्मचारीले बाढी पीडितलार्इ सहयोगको समेत घोषणा गरेका छन्।
 
कृषि मन्त्रालय अन्तर्गत विशिष्ट श्रेणीका कर्मचारीहरुले ५ दिनको तलब, सहसचिव सरहका कर्मचारीले ४ दिनको तलब, उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीले तीन दिनको तलब, राजपत्र अनंकित कर्मचारीले दुर्इ दिनको तलब र श्रेणीबिहिन करमचारीले एक दिनको तलब राहत स्वरुप उपलब्ध गराउने मन्त्रालयले घोषणा गरेको छ।