प्राधिकरणको ‘क्विक एक्सन’ले काम गर्यो, पूर्वका धेरै जस्तो स्थानमा मर्मत पछि बिजुली बल्यो

बिजमाण्डू
२०७४ साउन ३२ गते ०८:४४ | Aug 16, 2017
काठमाडौँ । गत साता देखि परेको अबिरल वर्षा रोकिएसँगै नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचना मर्मतमा तीब्रता दिएको छ। बिभिन्न सब स्टेसन डुब्ने एवं प्रशारण/वितरण लाइनको क्षतिका कारण अन्धकार भएको पूर्वाञ्चलमा उज्यालो फर्किन थालेको हो। 
 
प्राधिकरणले आइतबार नै चार जना सञ्चालकलाई चार क्षेत्रमा खटाएर क्षतिको जाँच एवं तत्काल उद्धारको प्रयास थाल्ने निर्णय गरेको थियो। त्यस अनुरुप पूर्वमा सञ्चालक चेतराज जोशी नेतृत्वको टोली खटिएको थियो। उद्दार टोली २४ घण्टा खटेर पानी रहने वित्तिकै उज्यालो फर्काएको प्राधिकरणले जनाएको छ। 

Tata
GBIME
Nepal Life


इलामको चुलाचुलीमा ढलेको प्रशारण लाईनको टावर। तीन दिन भित्र अस्थायी व्यवस्था गरि यहाँबाट बिजुली प्रशारण गर्ने प्राधिकरणको तयारी छ। तश्विर- सुनिल उप्रेतीको फेसबुकबाट। 
 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिन छिनमा उद्दारमा खटिएको टोलीसँग अपडेट लिँदै द्रुत काम गर्न निर्देशन दिएका थिए।
पूर्वको सबैभन्दा ठूलो सब स्टेसनको रुपमा रहेको दुहवी सब स्टेशन बिराटनगरको  फिडर बाहेक चार्ज भइ सकेको प्राधिकरणले जनाएको छ। दुहवी सब स्टेशनबाट बिराटनगर अलावा धरान, इटहरी, इनरुवा लगायत पूर्वका मूख्य शहरमा बिजुली वितरण हुन्छ। यो सब स्टेशन चार्ज भएसँगै उक्त क्षेत्रमा उज्यालो फर्किएको छ। 
 
साउन २७ गतै नै जलमग्न भएर बन्द भएका दमक र अनारमनी सब स्टेशन पनि चार्ज भइ सकेका छन्। यसले झापामा पनि उज्यालो फर्काएको छ। 
त्यस बाहेक कावेली करिडोर अन्तर्गत दमक-गोदक खण्डएको चुलाचुलीमा ढलेको टावरको पनि तीन दिन भित्र अस्थायी संरचना बनाइ बिजुली चालु गर्ने प्राधिकरणले जनाएको छ। १३२ केभी प्रशारण लाइनको उक्त टावर ढल्दा सानीमा माई, अपर माई, जोगमाई लगायत कावेली करिडोरका परियोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रशारण लाइनमा जोडिन पाएको छैनन्। 
 
यस्तै हेटौंडा सब स्टेशन अन्तर्गत हेटौंडा सिमेन्ट नजिक ६६ केभी टावर पल्टिन लागेपछि औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएको थियो। अहिले टावरको बेस मर्मत गरि लाइन चार्ज गरि सकिएको छ। औद्योगिक फिडर लामो समय अवरुद्ध नहोस् भनेर वैकल्पिक लाइनबाट बिजुली दिइएको थियो।
 
यस्तै साउन २७ गते देखि बन्द रहेको  ढल्केबर-चपुर १३२ के.भी. सर्किट नम्बर १ पनि चालु भइ सकेको छ।
 
चपुर-पथलैया १३२ केभी प्रशारण लाइनको सर्किट नम्बर २ रुख ढलेको कारण अवरुद्ध भएको थियो। रुख हटाइ सके पनि लोड कम रहेको कारण यो प्रशारण लाइन चालु हुन सकेको छैन। यस्तै गण्डक नहरमा पानी नछोडिएको कारण उक्त आयोजना पनि चलेको छैन।