बाढीपीडित अतिविपन्न परिवारलाई तत्कालै १५ हजार रुपैयाँ दिइने, क्याम्प बनाएर राहत वितरण गरिने

रासस
२०७४ साउन ३१ गते २१:५५ | Aug 15, 2017
काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
 
बैठकले बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गरेको छ । सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे/नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।निर्वाचन क्षेत्र निर्धारण आयोगको १५ दिन म्याद थप्ने सहमति यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकबाटै भइसकेको उनले बताए।
 
मुख्यसचिवको नेतृत्वमा कार्यदल
चिकित्साशास्त्र अध्ययनका लागि आशयपत्र पाएका संस्था सरकारले आफ्नो स्वामित्वमा लिन चाहेमा वा लिने सक्ने सम्भावना देखिएमा सोको सम्बन्धमा नितिगत, कानुनी र प्रक्रियागत आवश्यक राय सुझाव दिन सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
 
आजै बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थ सचिव, सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले बताउनुभयो । कार्यदलले आवश्यकता अनुसार विज्ञको राय, सल्लाह लिन सक्नेछ ।
 
बैठकले डा गोविन्द केसीका माग सम्बोधन गर्न प्रक्रियागत विषय अगाडि बढाउने निर्णयसमेत गरेको छ । 
 

Tata
GBIME
Nepal Life