सुनको मूल्यमा कसरी उतारचढाव आउँछ? नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७४ साउन २९ गते ११:४३ | Aug 13, 2017
सुनको मूल्यमा कसरी उतारचढाव आउँछ? नीरव पुडासैनीको लेख
विगत एक दशकदेखिको अनवरत प्रयासपछि गत साता संसदबाट कमोडिटी विधेयक पारित भएको छ। राष्ट्रपतीले लालमोहर लगाएको करिब ९० दिनभित्र धितोपत्र बोर्डले सम्पूर्ण नियम तयार गर्नु पर्छ। यससन्दर्भमा सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथाशुभकामना। तर यहाँ यस विषयमा कुनै चर्चा गर्न खोजेको होईन सुनका बिषयमा चर्चा गर्न खोजिएको हो। 
 
सुन नेपाली समाजको जीवनचर्या हो। सदियौदेखि प्रत्येक नेपाली महिला र घरहरुको शोभा बढाइरहेको छ सुनले। लगानीको एक प्रमुख वस्तुको रुपमा नेपालीहरु माझ प्रियवस्तुको रुपमा परिणत भइरहेको छ। यसैको जगमा रहेर नेपाली पूँजी बजारमा पनि यसको प्रमुख हिस्सा रहने अनुमानका साथ धितोपत्र बोर्डको अग्रसरतामा नेपालमा कमोडिटी बजारको सुरुवात विधिवत् रुपमा अगाडि बढेको विध्यमान अवस्थामा सुनको मूल्यमा हुन सक्ने उतारचढाबबाट कसरी पूँजीको सृजना गर्न सकिन्छ? यो प्रश्न खोज्न जरुरी छ। 
 
सुनको मूल्यमा आउनसक्ने उतारचढाबको प्रमुख कारणहरुको चर्चा गर्दा वैश्विक संकट प्रमुख कारकको रुपमा अगाडि आउँछ। सुनको मूल्य त्यस बखत बृद्धि हुन्छ, जुन वेला विश्वभरका सुनका लगानीकर्ताहरुको भरोसा विश्व अर्थतन्त्रमा कमजोर रुपमा प्रकट हुन्छ। त्यसैगरी विश्व भू–राजनैतिक क्षेत्रमा देखिने अविस्वाश,  युद्धको सम्भावना आदिका कारण पनि सुनको मूल्यमा परिवर्तन आउँछ। यसको कारण सुनलाई भविष्यको मूल्य बृद्धि बिरुद्ध प्रयोग गर्न सकिने प्रमुख औजारको रुपमा प्रयोग गर्न सकिने भएर नै हो।
 
वैश्विक अर्थतन्त्रमा मुद्रास्फिति एउटा समस्या हो,  तसर्थ सुन यस विरुद्ध प्रयोग हुने बीमा योजना सरह आममानिसहरुले प्रयोग गर्छन। त्यस कारण अर्थतन्त्रमा मुद्रास्फितिको छनक पाउने वित्तिकै लगानीकर्ताहरु सुनमा लगानी गर्न लालायित हुन्छन्। यसको कारण पनि सुनको मूल्यमा वृद्धि हुन जान्छ, भविष्यको जोखिम व्यवस्थापन गर्न। पक्का पनि डलर संसारको लागि एउटा साझा, प्रमुख मुद्रा हो। यसको मूल्यमा हुने उतारचढाबको प्रत्यक्ष प्रभाव पनि सुनको मूल्यमा पर्छ। जब डलरको मूल्य बढ्छ तब सुनको मूल्य घट्छ।  
 
विश्व अर्थतन्त्रलाई प्रभावमा पारिरहेका केन्द्रीय बैंकहरु जस्तै फेडरल रिजर्भ बैंक,  यूरोपियन सेन्ट्रल बैंक, बैंक अफ जापान आदि बैंकहरुले मासिक र त्रैमासिक रुपमा लिने विभिन्न नीतिहरुको कारण सुनको मूल्यमा उतारचढाब आउँछ। साधारणतया ब्याजदर लगायतका विषयमा निर्णय सार्वजनिक गर्ने क्षणमा लगानीकर्ताहरु बढो चनाखो भएर यसको प्रतिक्षा गरिरहेका हुन्छन्। कारण सुनको मूल्यमा आउन सक्ने उतारचढाबबाट मूनाफा आर्जन गर्नु नै हो। कमोडिटी बजारमा मूल्यमा आउने गिरावटमा पनि लगानीकर्ताहरु अवसरको खोजिगरिरहेका हुन्छन्। बजारमा बस्तु खरिदबिक्री दुवै माध्यमबाट बजारमा प्रवेश गर्न सकिन्छ। ब्याजदर घटेको वा घटाईएको बेला सुनको मुल्यमा बृद्धि हुन्छ किनभने सुन खरिद गर्ने कस्ट अफ होल्डिङ्गमा कमी आउँछ। 
 
मात्रात्मक उपाय एउटा यस्तो मौद्रिक नीति हो, जस अनुसार केन्द्रीय बैंकले बजारमा रहेको सरकारी धितोपत्रहरुको साथै अन्य धितोपत्रहरु खरिद गर्छ। बजारमा ब्याजदरलाई न्यून बिन्दुमा राख्न केन्द्रीय बैंकले यस्तो नीति लिएको हुन्छ। जसको कारण बजारमा पैसाको आपूर्ति गर्न सहयोग गर्छ र सुनको मूल्यमा बृद्धि हुन जान्छ। सुन खरिद गर्दा लाग्ने अप्रत्यक्ष मूल्यमा कमी ल्याउन मात्रात्मक उपाय निक्कै लाभदायक हुन्छ। तर सुनको मूल्यसँग यसको कुनै सरोकार रहँदैन। जस्तो फेडरल रिजर्भ बैंकले सन् २०१४ को अक्टुवरमा मात्रात्मक उपायको प्रयोग हाललाई बन्दगर्ने घोषण गरेसँगै सुनको मूल्यमा पनि केहि गिरावट आएको थियो। यसका साथै जब विश्वका केन्द्रीय बैंकहरुले आफ्नो सुन मौज्दातमा बृद्धि गर्ने उद्देश्यका साथ विश्वबजारबाट सुन खरिद गर्ने धारणाहरु सार्वजनिक गर्छन्,  त्यस बेला पनि सुनको मूल्यमा बृद्धि हुन सक्छ। तसर्थ लगानीकर्ताहरु यस्ता निर्णयहरुलाई चनाखोपूर्वक हेरिरहेका हुन्छन्। 
 
गहना बजारको मागको कारण पनि सुनको बजार भाउमा प्रत्यक्ष असर पारेको हुन्छ। भनिन्छ विश्व सुनको आधा माग चीन र भारतको गहना बजारको मागबाट आउँछ। सुनको मागको १२ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रले पनि ओगटेको छ। तसर्थ यस्तो मागको कारण पनि सुनको मूल्यमा उतार–चढाब आउँछ।
 
सुनको बार्षिक उत्पादन २५ सय मेट्रक टन भएको अनुमान गरिन्छ, तर यसरी उत्पादन हुने सुनको उत्पादन मूल्यमा बृद्धि भईरहेको अनुमान गरिन्छ। जसको कारण बजारमा सुनको मूल्यमा बृद्धि हुन जान्छ। त्यकारण सुन उत्पादन गर्ने संस्थाहरुले उत्पादन मूल्यमा बृद्धि हुने बित्तिकै बजारमा सुनको आपूर्तिमा केहि खुला गरिदिन्छन्। यसले गर्दा तत्कालको लागि सुनको मूल्यमा गिरावट आउँछ, तर केहि समयपछि पुनःमूल्य बद्धि हुन्छ। विश्व पुरातत्वविधहरुको अनुसार विगत पाँच हजार वर्षदेखि मानिसहरु सुनको उत्खनन् गरिरहेकाछन्। तसर्थ सुन प्रतिको मानिसको रुचि धेरै पुरानो रहेछ भन्ने आँकलन गर्न सकिन्छ। मूल्यमा जतिसुकै उतारचढाब आएता पनि यस प्रतिको रुचिमा कमी नआउने पक्का छ।
 
नेपाली बजारमा विश्व बजारमा चलिरहेको मूल्यको आधारमा कमोडिटी बजारमार्फत लगानीकर्ताहरुले प्रत्यक्षरुपमा अत्याधुनिक सफ्टवयर प्रयोग गरेर यस क्षेत्रमा लगानी गर्न सक्छन्। 
 
माथि उल्लेखित प्रमुख कारणहरुको सुक्ष्म अध्ययनको साथै अन्य प्राबिधिक कारणहरुको आँकलन गरेर सुनको मूल्यमा गरिने कारेवारमा लाग्नु उचित हुन्छ। यसको लागि अध्ययनको साथै जोखिम बहन गर्न सक्ने आफ्नो क्षमताको पनि शुरुमा नै ख्याल राख्नु उत्तम हुन्छ। 

Tata
GBIME
Nepal Life