१० नयाँ जीवन बीमा कम्पनीका लागि बजार कहाँ होला? बीमा विज्ञ भोजराज शर्माको सुझाव




बीमा संस्थान आउनु अघि केही भारतीय कम्पनी नेपालमा सक्रिय थिए। जसले गर्दा नेपालमा पनि बीमा सेवा प्रदायकको आवश्यकता बोध भैरहेको थियो। यसै बीचमा ती कम्पनी नेपालमा एक लेभलको जनचेतना जगाउने काम गरेका थिए।
 
सन् १९९० को दशकमा अवलम्बन गरिएको आर्थिक उदारीकरणले बीमा कम्पनीहरुको प्रवेश सहज हुन पुग्यो। यहि क्रममा अहिले कम्पनीहरुको संख्या २६ पुगेको छ। 
 
हालै १० जीवन बीमा कम्पनीले सैद्धान्तिक अनुमति पाएसँगै विभिन्न प्रश्न उठ्न थालेको छ। यत्रा कम्पनीलाई म्यानपावर खोइ? विजनेश खोइ? कतै यहि ३५ अर्बको बजार नै बाँडिने पो हो कि? भन्ने समेत भएको छ। 
 
निश्चयनै सुरुको अबस्थामा केहि अस्वस्थ प्रतिस्पर्धा पनि हुन सक्छन्। हाल चालु कम्पनीको बैदेशिक बीमा बाहेक पनि ३२ अर्ब रुपैयाँ माथिको बिजनेश छ। यो विजनेश लामो अवधिको हुन्छ। त्यसैले खोसिने संभावना हुँदैन।
 
अहिलेसम्म पनि आठ प्रतिशतभन्दा बढी जनताको पहुँचमा बीमा पुगेको छैन। भएका कम्पनीहरु शहरमा नै रमाएर बसेका छन्। ग्रामीण क्षेत्रमा गएका छैनन्। माइक्रो इन्स्योरेन्स कन्सेप्ट आएको छ। त्यो भनेको तल्लो तहका सर्वसाधारणलाई थोरै प्रिमियम लिएर सेवा प्रवाह गर्नु हो। तर,यो पनि प्रभावकारी हुन सकेको छैन।
 
ग्रामीण भेगमा जाँदा खर्च धेरै हुन्छ। बरु शहरमै बसेर २/४ वटा विजनेश फुत्काउन सक्यो भने आनन्द भन्ने बुझाइ कम्पनीमा देखिन्छ। १० वटा कम्पनी थपिएपछि विजनेश बढाउन जानै पर्ने हुन्छ।
 
बीमा गर्ने बारे जनतामा सचेतना छैन, त्यसैले समस्या भयो भनिरहेका छौँ। तर, त्यो चेतना किन भएन त? भनेर सोच्नु पर्छ। अहिलेसम्म त्यस्तो सचेतना अभिवृद्धिका लागि कुनै वातावरण नै बनाइएन। अब नयाँ कम्पनी त्यही सचेतना अभिवृद्धि गर्दै गाउँ जानु पर्छ।
 
नयाँ कम्पनी अहिले रहेका कम्पनी नगएका ठाँउमा पोलिसी लिएर जानुपर्छ र बीमाको पहुँच बढाउनुपर्छ। साथै बजार खोज्न नसकेको खण्डमा कम्पनीहरुले मर्ज गर्न हिच्किचाउनु हुँदेन। मेरो प्रतिष्ठाको सवाल भनेर कुनै पनि कम्पनीले घिसिपिटी सञ्चालन हुने बाटो लिएमा आफ्नै लागि घातक हुन्छ।


 
हामी साना तीन कम्पनीभन्दा पनि मेगा कम्पनी होउन् भन्ने चाहन्छौँ। उनीहरुले सर्वसाधारणलाई दिने सेवा पनि वृहत हुन्छ। ठूला कम्पनीले फलानो गायकको बिमा भयो, फलानो खेलाडीको खुट्टाको बीमा भयो समेत भन्ने गरेका छन्। यस्ता बीमाबाट कम्पनीले फाइदा कमाउने होइन। तर, यसले दायराको विस्तार गरि रहेको हुन्छ। यस्ता गतिविधीले समग्रमा बीमा उद्योगको नै प्रवर्धन गरिरहेको हुन्छ।
 
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको जनशक्ति चाहिँ हो। यो अवस्था निजी क्षेत्रका बीमा कम्पनीहरु खुल्न थाले पछि साढे दुई दशक अघि देखिनै रहँदै आएको छ। 
 
बीमा संस्थान लगायत सरकारी निकायमा ३० बर्षे सेवा अवधिको कारण त्यहाँबाट निवृत्त कर्मचारीले पनि काम गर्ने मौका पाए। अहिले उपलब्ध जनशक्ति यहिँका कम्पनीले उत्पादन गरेका हुन्। नयाँ कम्पनी आउँदा कर्मचारी लैजाला भन्ने डर सदैव हुन्छ। तर, अहिलेसम्म बीमा कम्पनीहरुको गति कर्मचारी आदान प्रदानले रोकिएको छैन।  
 
आज भएका केहि कम्पनी लिड गर्ने जनशक्ति हिजो ती कम्पनी खुल्दा करियर सुरु गर्ने कर्मचारी थिए। उनीहरुले आज राम्रै गरिरहेका छन्। त्यसैले नयाँलाई विश्वास गर्ने बाटो सदैब खुला राखिनुपर्छ। अहिलेको अवस्थामा यहाँ जनशक्ति छैन भनिँदै आएको छ। त्यो वाक्य दोहोर्याइ रहनुको साटो नयाँ मान्छेलाई मौका दिने हिम्मत गर्नु पर्छ। बीबीए, एमबिए गरेका जनशक्ति बजारमा प्रशस्तै छन्।
 
त्यसो भएमा केही पुराना कर्मचारी लिने वित्तिकै संस्था सञ्चालन गर्न समस्या हुँदैन। केही व्यक्ति बीमा समितिबाट नै रिटायर्ड हुन लागेका छन्। केही बीमा संस्थान एवं निजी क्षेत्रका कम्पनीबाट पनि निवृत्त हुन लागेका हुन सक्छन्। उनीहरुलाई लिन सकिन्छ। त्यस बाहेक सिइओका लागि सेकेन्ड/थर्ड म्यानको रुपमा संस्थाको व्यवस्थापनमा सकृयलाई मौका दिन सकिन्छ।
 
अहिले भएका वीमा कम्पनीले जनशक्ति उत्पादनका लागि भनेर बजेट छुट्याएका छैनन्। अब यो प्रकृया पनि सुरु गर्नु पर्छ। साथै कम्पनीहरुले अभिकर्तालाई पनि राम्रो तालिम दिनु पर्छ। 


 
अहिले एकै पटक १० कम्पनी किन आए भन्ने प्रश्न पनि छ। यसको मूल कारण एक दशक देखि लाइसेन्स रोकेर राखेको कारणले हो। बिना कारण यति लामो समय रोकेर राखेपछि अहिले लाइसेन्स दिनु हाम्रा लागि वाध्यता नै थियो। साथै कम्पनीहरु सबल बनुन् भनेर चुक्ता पूँजी दुई अर्ब रुपैँयाँ रहने व्यवस्था गरिएको छ।
 
अहिले गरिवीको रेखामुनि २५ प्रतिशत हाराहारी जनसंख्या रहेको छ। उनीहरु मध्ये केही अत्यन्त न्यून आय भएको समूहमा छन्। त्यो जनसंख्यालाई माइक्रो इन्स्योरेन्सले समेट्नु पर्छ। 
 
अहिले आठ प्रतिशतमा सिमित बीमा बजारलाई ४० प्रतिशत जनसंख्यामा पुर्याउन सक्ने हो भने बजार धेरै ठूलो छ। बीमाका फाइदा बुझाउँदै सर्वसाधारणको घर घर पुग्ने दायित्व कम्पनीहरुकै हो। जस्तो हामी बालबालिकालाई बिभिन्न खाले खेलौना र उपहार दिइरहेका हुन्छौँ। त्यही रकमबाट उनीहरुको बीमा गरि दिएर बचत गर्न सकिन्छ। किनभने बीमा भनेको एक किसिमले बचत पनि हो। यही कुरा कम्पनीहरुले सर्वसाधारणलाई बुझाउनु पर्छ।

बीमा बिज्ञ शर्मासँग अरुण सापकोटाले गरेको कुराकानीमा आधारित।

Share this Story

   

१० नयाँ जीवन बीमा कम्पनीका लागि बजार कहाँ होला? बीमा विज्ञ भोजराज शर्माको सुझाव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.