बल्ल बने मन्त्रिपरिषद्का समितिहरु, दुई जना सचिवमा बढुवा, सवारीको नम्बरप्लेट परिवर्तन हुने

बिजमाण्डू
२०७४ साउन १३ गते १६:०६ | Jul 28, 2017
काठमाडौं। मन्त्रिपरिषद् विस्तारमा ढिलाइका कारण मन्त्रिपरिषद्का समितिहरु बल्ल गठन भएका छन्।गत जेठ २४ गते गठन भएको मन्त्रिपरिषदमा अहिलेसम्म एउटा पनि समिति गठन भएको थिएन।
 

'मन्त्रिपरिषद् गठन भएर पनि मन्त्रिपरिषदमा रहने ५ वटै समिति गठन भएका थिएनन्,' एक मन्त्रीले भने, 'त्यसैले मन्त्रिपरिषद विस्तार भएपछि विहिबार ५ वटै समिति गठन गरिएको हो।' सरकारले बनाउने विषयगत कानुनका विधेयकलाई अन्तिम रुप दिने र मन्त्रिपरिषद्मात लगेर स्वीकृत गराउने समितिहरु नहुँदा यस क्षेत्रमा सरकारले काम अघि बढाएको थिएन। 
 
बिहीबार गठन भएका समितिहरुमा विधेयक समिति, राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति रहेका छन्।बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगका कामु सचिव महेश्वर न्यौपानेलाई सचिव पदमा बढुवा गरेको छ भने शहरी विकास मन्त्रालयमा प्राविधिक तर्फका कृष्णराज विसी पनि सचिवमा बढुवा गरिएको छ। 
 
दुबै सचिवलाई बढुवा समितिले एक नम्बरमा सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले नेपाल दक्षिण अफ्रिका परराष्ट्र मन्त्रालयस्तरीय परामर्श समन्वय गर्ने तथा सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूची दुईमा संशोधन गर्ने निर्णय गरेको छ। अनुसूची २ मा सवारीको नम्बर प्लेटसम्बन्धी व्यवस्था छ।  
 
संशोधन विधेयक संसदमा दर्ता हुने मिति भने तोकिएको छैन। मन्त्रिपरिषद् बैठकले जाम्वियाका सेनाप्रमुखलाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ। 
 

Tata
GBIME
Nepal Life