शेयर नामसारी गर्नेबारे दुविधा छ! यसरी गर्न सकिन्छ घरायसी र मृत्युपछिको शेयर नामसारी

बिजमाण्डू
२०७४ साउन १३ गते १४:५९ | Jul 28, 2017

काठमाडौँ। काठमाडौँ धापाखेलका खुमप्रसाद आचार्यका बुवा अशक्त भएका छन् । बुवा अशक्त भएपछि उनको नाममा रहेको कृषि बिकास बैंकको शेयर आफ्नो नाममा ल्याउन आचार्यले प्रक्रिया सुरु गरेका छन् । "बुवा अशक्त हुनु भयो त्यसैले वहाँको शेयर मेरो नाममा नामसारी गर्न लागेको छु।"- नेपाल स्टक एक्सचेन्ज(नेप्से)को घरायसी नामसारी शाखामा भेटिएका आचार्यले भने।
अध्ययनकालागि विदेश जान लागेकी सुनिता सापकोटालेपनि आफ्नो नाममा भएको शेयर बुवाको नाममा नामसारी गर्न चाहन्छिन्।

Tata
GBIME
Nepal Life

प्रक्रियाबारे बुझ्न  नेप्सेको कार्यालयमा पुगेकी सापकोटाले नामसारी गर्दा लाग्ने रकम धेरै भएको गुनासो गरिन्।

इलामका जसबहादुर लुंगेलीका बुवाको २०५४ सालमा मृत्यु भयो । उनको नाममा भएको कृषि बिकास बैंकको शेयर नामसारी गर्न लुंगेली काठमाडौँ आए।

लामो र झन्झटिलो प्रक्रिया र केन्द्रमै धाउनुपर्ने हैरानी उनले पोखे।

एकाघर र मृत्युपछिको शेयर नामसारी गर्न नेप्सेमा दैनिक मान्छेहरुको भिड लाग्ने गर्छ।

देशैभरीका लगानीकर्ताले शेयर नामसारी गर्न काठमाडौँ नै आउनुपर्छ।

यसैकारण नेप्सेमा नामसारी गर्नेको भिड लाग्ने गरेको नेप्सेका घरायसी नामसारी शाखाका सिनियर अफिसर सुरेश जोशीले बताए ।

आफ्नै घरका नातेदार र मृत्युपछिको नामसारी गर्ने प्रक्रिया नेप्सेमा हरेक दिन चलिरहेको हुन्छ। तर सबै प्रक्रिया पुरा हुन १५ देखि दुई महिना सम्म लाग्ने जोशीको भनाई छ । हजुरबुबा र नातिबीचमा आउने सबै नाताको घरायसी नामसारी गर्न सकिने जोशीले जानकारी दिए। मृत्युको हकमा भने सबैभन्दा नजिकको हकदारको नाममा नामसारी गर्न सकिन्छ।     
   
यस्तो छ प्रक्रिया

घरायसी नामसारी गर्न सबैभन्दा पहिले नेप्सेमा नामसारीको लागि निवेदन दिनुपर्छ। नामसारी दिने र लिने दुबैले २/२ वटा निवेदन फारम भर्नुपर्ने जोशीले बताए।

निवेदनसंगै दुवै पक्षको नागरिकताको प्रतिलिपि, शेयरको सक्कल प्रमाणपत्र, लिने दिने बीचको नाता प्रमाणको दुइ/दुई प्रतिलिपि र ग्लोबल आईएमई बैंकमा बुझाएको शुल्कको भौचर समेत संगै राख्नुपर्छ । साथै सबै प्रतिलिपिको सक्कल लिएर आफैं उपस्थित हुनुपर्ने नियम छ।

कागजी शेयर भए शेयर संख्याको आधारमा फेस भ्यालुमा गणना गरी तीन प्रतिशतदेखि एक प्रतिशत र डिम्याट गरेको भए दुई प्रतिशत नामसारी शुल्क बैंक मार्फत बुझाउनुपर्ने पनि जोशीले बताए।
 
मृत्यु नामसारी गर्न चाहनेले  मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि  दुई प्रति, हकवाला भए उसको मञ्जुरीनामा दुई प्रति, शेयर लिने र मञ्जुरीनामा दिने समेतको नागरिकताको दुर्इवटा प्रतिलिपि, हकवालाको मञ्जुरीनामा दुर्इ प्रति, नाता प्रमाणितको प्रतिलिपि दुई प्रति, शेयर लिनेको निवेदन दुई प्रति र शेयरको सक्कल प्रमाणपत्र लिई आफैं आउनुपर्ने जोशीले बताए ।यसमा ०.५ प्रतिशत देखि ०.३ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने प्रावधान छ ।

सबै निवेदन फारम र कागजी प्रक्रिया पूरा गरेपछि नेप्सेले आवश्यक जाँचबुझ गरेर सम्बन्धित शेयर रजिस्टारलाई नामसारी गर्न निबेदन दिएकै दिन सिफारिस गरिदिने जोशीको भनाई छ ।

नामसारीलाई सजिलो होस् भन्नालागि नेप्सेले वेबसाइटमा गएर निवेदन फारम र नमुना हेर्न र डाउनलोड गरी त्यसैमा भरेर ल्याउन सकिने सुविधा समेत  दिएको छ।

नेप्सेले आफ्नो प्रक्रिया सकिएपछि  शेयर रजिस्टारलाई सिफारिस गरिदिन्छ। त्यसपछि रजिस्टारले आवस्यकता हेरी प्रक्रियालाई अघि बढाउँछन् ।

एकाघरको भए त्यहिँबाट नामसारी हुन्छ भने  मृत्युपछिको नामसारी भए ३५ दिने सूचना जारी गर्ने प्रक्रियामा लैजान्छ।