दुर्इ निकायले जिम्मा लिएपनि रानीपोखरी पुनर्निर्माण अलपत्र, तीन पटक डिजाइन फेरियो, भएन काम

बिजमाण्डू
२०७४ साउन १३ गते १४:०२ | Jul 28, 2017

काठमाडौं।भुकम्प गएको दुर्इबर्ष वितिसक्दा पनि रानीपोखरी पुनर्निर्माण अघि बढ्न सकेको छैन। २०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभुकम्पमा रानीपोखरी पूर्ण रुपमा क्षति भएको थियो।  पुनर्निर्माणको जिम्मा काठमाडौ महानगरपालिका र पुरातत्व विभागले लिएपनि काम सुरु नहुँदा रानीपोखरीको सौन्दर्य गुमेको छ।

Tata
GBIME
Nepal Life

बालगोपालेश्वर मन्दिर पुननिर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ भने बाँकी निर्माणको जिम्मा काठमाडौ महानगरपालिकाले लिएको छ। यस अन्तर्गत महानगरपालिकाले बगैँचा,पर्खाल र पोखरीको निर्माण गर्नुपर्नेछ। 
रानीपोखरीको मुख्य आकर्षणको रुपमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्दा रड र सिमेन्टको प्रयोग गरी पिलर उठाएपछि चौतर्फी बिरोध भएको थियो। त्यसलगत्तै पुरातत्व विभागले पत्र मार्फत काम रोक्न निर्देशन दिएको थियो । युनेस्कोले पनि पुरानै सामाग्रीको प्रयोग गर्नुपर्ने भनेपछि काम नै रोकिएको हो।

अन्तत:विवादित बनेको कामबाट काठमाडौं महानगरपालिकाले हात झिक्यो । मन्दिर बनाउने जिम्मा पुरातत्व आफैँले लियो। बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले र बाँकी रहेको रानीपोखरीको निर्माणको जिम्मा काठमाडौं महानगरपालिका आफैले गर्नेगरी निर्माणको टुङ्गो लागेपनि काम हुन सकेको छैन।

पुरातत्व विभागका इन्जिनियर प्रेमराज पोखरेलका अनुसार आगामी ०७५ असारसम्म सक्ने लक्ष्यका साथ ठेक्का दिएको थियो। विभागले एक करोड ४० लाख रुपैयाँमा गत वैशाखमा कँडेल-राम जेभी रानीवारीलार्इ ठेक्का दिएको हो। ठेकेदार कम्पनीले मन्दिर निर्माणका लागि महानगरले उठाएको आरसिसि पिलर काटेर अलपत्र छाडेको छ। बाँकी काम पनि सुरु गरेको छैन ।

दुर्इ निकायले जिम्मा लिएपनि पुनर्निर्माण अगाडी भने बढाउन सकेका छैनन् । तीन पटकसम्म डिजाइन तयार पारि सकिएपनि पुननिर्माणको काम भने अघि बढ्न सकेको छैन। महानगरपालिकाले छ करोड ३९ लाखमा रानीपोखरी, पर्खाल, बगैँचाको ठेक्का दिएको थियो। काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले करोडभन्दा माथि पैसा लिएर पनि ठेकेदार कम्पनीले विनाकारण काम रोकेको बताए।
 

ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रुपमा रहेको रानीपोखरी बेवारिसे जस्तो देखिन्छ। पोखरीको पानी सुकेर चौर भएको छ। पोखरी छाडा गाइबस्तुको चरन क्षेत्र जस्तो देखिन्छ। बालगोपालेश्वर मन्दिरलार्इ भत्काएर अलपत्र  छोडिएको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता कार्कीका अनुसार रानीपोखरीको माटो परीक्षण गर्दा लगभग ४० फिटसम्म वालुवा भेटिएको छ। रानीपोखरीमा वालुवाले पानी सोस्ने र सुक्ने समस्याको दिर्घकालीन समाधान पनि खोजिरहेको बताए। अब रानीपोखरीको लागि फेरि छुट्टै टेण्डर गर्नुपर्ने महानगरपालिकाले जनाएको छ। पुनर्निर्माण सकिनुपर्ने समयमा फेरि टेण्डर खोल्ने बिषयमा छलफल भैरहेको महानगरपालिकाको भनार्इले तत्काल रानीपोखरी निर्माण हुने देखिन्न।