राजधानीमा सरकारलेनै बढायो जग्गाको मूल्यः सहरमा १५ र गाउँमा ५०% सम्म भाउ महँगीयो

बिजमाण्डू
२०७४ साउन १३ गते ११:१९ | Jul 28, 2017
काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्रका जग्गाको भाउ बढाएको छ। चक्रपथभित्र वाहेक सबै ठाउँको मूल्य बढाएको हो। 
 
मालपोत कार्यालयले शहरी ईलाकामा १०/१५ प्रतिशत मात्रै बढाए पनि ग्रामीण ईलाकामा ५० प्रतिशतसम्म वृद्धि गरेको छ। चक्रपथभित्र भने विगत तीन वर्षदेखि मूल्यांकन हेरफेर गरिएको छैन। चक्रपथ बाहिरका क्षेत्रहरुमा १० देखि ५० प्रतिशत सम्म मूल्यवृद्धि गरिएको हो।
 
काठमाडौंको साँखु मालपोत अन्तर्गतका जग्गामा १० देखि ५० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ। मुल सडकसँग जोडिएका जग्गाहरुमा १० देखि ५० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत किरणकुमार भट्टराईले बिजमाण्डूलाई बताए।


 
साँखु मालपोत कार्यालय अन्तर्गत मूल्यवृद्धि भएका ठाउँहरुमा आलापोट, ईन्द्रायणी, गागलफेदी, डाँछी, पुखुलाछी, भद्रवास र लप्सीफेदी रहेका छन्। जहाँ पिच सडक भएका मूलबाटो र भित्री बाटोको जग्गाको मूल्याङ्कन बढाईएको भट्टराईले बताए।
 
मूल्याङ्कन बढाएसँगै यस क्षेत्रमा सबैभन्दा महँगो साँखु जाने मुल सडकसँग जोडिएका डाँछीका जग्गा भएका छन्। डाँछीमा न्यूनतम मुल्याङ्कन १० लाख रुपैयाँ प्रति आना गरिएको छ। यसअघि डाँछीमा ९ लाख रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको थियो।
 
लप्सीफेदीमा भने ५० प्रतिशतले मूल्याङ्कन बढाईएको छ। एक लाख रुपैयाँ प्रति आना मूल्याङ्कन भएका लप्सीफेदीका जग्गाहरु अब एक लाख ५० हजार रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको छ। चलनचल्तीको मूल्यसँग नजिक पुग्न मूल्याङ्कन बढाईएको भट्टराईले बताए। 
 
यो वर्ष सँखुपछि भक्तपुरमा जग्गाको मूल्याङ्कन बढाईएको छ। भक्तपुर मालपोत कार्यालयले न्यूनतम १० प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्म मूल्यवृद्धि गरेको मालपोत कार्यालय भक्तपुरका लेखा अधिकृत बालकृष्ण अधिकारीले बताए।
 
स्थानीय गाउँ विकास समिति गाभिएर बनेका नगरपालिकामा घर जग्गाको कारोबार बढेपछि मालपोत कार्यालयले पनि मूल्याङ्कन बढाएको अधिकारीले बताए।
 
भक्तपुरमा नगरकोट जाने मुल सडक, दधिकोट जाने मुल सडक, बालकोट जाने मुल सडक र त्यसका सहायक सडकमा जग्गाको मूल्याङ्कन ४० प्रतिशतसम्मले बढाईएको अधिकारीले बताए। अन्य सहायक पिच सडकमा १५ देखि ३० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ। उनका अनुसार, भिरपाखाको जमिनको मूल्याङ्कन यो वर्ष हेरफेर गरिएको छैन।
 
भक्तपुरको मूल्याङ्कन ४० प्रतिशत पुर्याउनुको कारण मुआब्जासँग सम्बन्धित छ। सरकारले अधिग्रहण गर्ने जग्गाहरुको मूल्य अत्यन्तै कम भएका कारण मुआब्जा रकम पाउँदा जग्गाधनी मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मूल्यांकन बढाउन सिफारिस गरेका थिए। 
 
भक्तपुरमा प्लानिङ भएका जग्गाको मूल्याङ्कन पनि बढाईएको छ। खासगरि २० फुटे बाटोले छोएका जग्गाहरुको मूल्याङ्कन बढाईएको हो। यो बाहेक धेरै कारोबार भएका ठाउँमा पनि मूल्याङ्कन बढाईएको छ।
 
कलंकी मालपोत कार्यालयले पनि त्रिभुवन राजपथमा १५ प्रतिशतसम्म जग्गाको मूल्याड्कन बढाएको छ। मालपोत कार्यालय कलंकीका सूचना अधिकारी विष्णु गौतमका अनुसार कलंकी, सतुङ्गल र नैकाप सम्मको त्रिभुवन राजपथमा १५ प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ। अन्य मूख्य सडकमा ५ देखि १० प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ।
 
मूल्याङ्कन बढाईएको त्रिभुवन राजपथमा ७ लाख रुपैयाँ प्रति आनादेखि ११ लाख रुपैयाँ प्रति आनासम्म कायम गरिएको छ। अन्य ठाउँमा भने गत वर्षकै मूल्याङ्कन यथावत गरिएको छ। 
 
यो वर्षको मूल्याङ्कन नवनिर्वाचीत जनप्रतिनिधि सहितको टोलीले गरेको हो। निर्वाचित प्रतिनिधिले मूल्याङ्कन नबढाउन सुझाव दिएपछि अन्य ठाउँको मूल्याङ्कन हेरफेर नगरिएको गौतमले बताए।


 
ललितपुर मालपोत कार्यालयले पनि सहरी र ग्रामीण दुवै क्षेत्रमा १० प्रतिशतले मूल्याङ्कन बढाएको ललितपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत घनश्याम उपाध्यायले बताए। केहि ठाउँमा पुरानै मूल्य यथावत राखिएको छ। केहि सहरउन्मुख ग्रामिण क्षेत्र र महानगरपालिकाका मुल सडकमा १० देखि १५ प्रतिशतसम्म मूल्याङ्कन बढाएको उनले बताए।
 
मूल्याङ्कन बढेसँगै ललितपुर महानगरपालिकाभित्र कुपण्डोल जावलाखेल लगनखेल सडकमा प्रति आना ३० लाख रुपैयाँ कायम गरिएको छ। चक्रपथ वरपर भने १८ लाख रुपैयाँ प्रति आना कायम भएको छ।
 
मनमैजु मालपोत कार्यालयले पनि १५ प्रतिशतसम्म मूल्याङ्कन बढाएको मनमैजु मालपोतका प्रमुख मालपोत अधिकृत श्रवणकुमार पोखरेलले बताए। मुलसडकसँग जोडिएका जग्गामा १० देखि १५ प्रतिशतसम्म मूल्याङ्कन बढाईएको छ। अन्य ठाउँमा पुरानै मूल्याङ्कनलाई निरन्तरता दिएको उनले बताए।
 
टोखा मालपोत कार्यालय अन्तर्गतका क्षेत्रमा पनि १० देखि १५ प्रतिशतसम्म मूल्याङ्कन बढाईएको टोखा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विनोद पोखरेलले बताए। 
 
चक्रपथभित्र तीन वर्षदेखि मूल्याङ्कन बढेन
काठमाडौं महानगरपालिकाभित्र तथा डिल्लीबजार मालपोत कार्यालय अन्तर्गत कारोबार हुने ठाउँ र चावहिल मालपोत कार्यालय अन्तर्गतका चक्रपथभित्र तथा बाहिरका ठाउँमा तीन वर्षदेखि मूल्याङ्कन हेरफेर गरिएको छैन। 
 
डिल्लीबजार मालपोत अन्तर्गत सबैभन्दा महँगो मूल्याङ्कन न्युरोड दरवार मार्ग क्षेत्रमा ५० लाख रुपैयाँ प्रति आना कायम गरिएको छ। तर त्याहाँ जग्गाको किनबेचनै शून्य जस्तै रहेको डिल्लीबजार मालपोतका प्रमुख पद्दनिधि सोतीले बताए।
 
सबैभन्दा मूल्यवान जग्गाको कारोबार हुने डिल्लीबजार मालपोत अन्तर्गत वर्षेनी चार हजारको संख्यामा मात्र घरजग्गा किनबेच हुन्छन्। तर सबैभन्दा धेरै कर उठाउनेमा डिल्लीबजार मालपोत कार्यालय पहिलो नम्बरमा पर्छ। गत आर्थिक वर्षमा पनि डिल्लीबजार मालपोत कार्यालयले तीन अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन कुल राजस्वको १७ प्रतिशत हो। गत वर्ष देशभरबाट २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

Tata
GBIME
Nepal Life