घरजग्गा किनबेचको पारो उकालोमा, घरजग्गाबाट राज्यको ढुकुटीमा २१ अर्ब गयो, पूँजीगत लाभकर दोब्बर

बिजमाण्डू
२०७४ साउन ९ गते १२:०३ | Jul 24, 2017
घरजग्गा किनबेचको पारो उकालोमा, घरजग्गाबाट राज्यको ढुकुटीमा २१ अर्ब गयो, पूँजीगत लाभकर दोब्बर
काठमाडौं।सरकारले गत आर्थिक वर्ष २०७३/७४ घरजग्गा किनबेचबाट मात्रै २० अर्ब ९९ करोड रुपैयाँ राजस्व पाएको छ।

Tata
GBIME
Nepal Life

यो अघिल्लो वर्ष भन्दा आठ अर्ब बढी हो।देशभरका १ सय १३वटा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षमा १३ अर्ब मात्रै राजस्व संकलन गरेका थिए।घरजग्गा रजिष्ट्रेसन दस्तुर मात्रै १९ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको छ। अन्य शुल्कमा एक अर्ब ५७ करोड रुपैयाँ संकलन भएको छ। जसमध्ये बागमती सभ्यताको लागि एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ।
 

सरकारले उठाएको राजस्व रकम लक्ष्यको १ सय ३८ प्रतिशत बढी हो। गतवर्ष १४ अर्ब रुपैयाँ राजस्व लक्ष्य राखिएको थियो।गत वर्षको तीन महिना भदौ, जेठ र असारमा लक्ष्य भन्दा दोब्बर राजस्व उठेको छ। साउन, असोज, कार्तिक, मंसिर, माघ र वैशाखमा लक्ष्य भन्दा सामान्य बढी राजस्व उठेको छ। पुस, फागुन र चैत महिनामा भने राजस्व लक्ष्य समेत भेट्न कठिन भयो।
 
पूँजीगत लाभकर चार अर्ब ६१ करोड
गत वर्ष घरजग्गाको पूँजीगत लाभकर समेत दोब्बर संकलन भएको छ।गत आर्थिक वर्षमा चार अर्ब ६१ करोड पूँजीगत लाभकर संकलन भएको छ।अघिल्लो वर्ष पूँजीगत लाभकर २ अर्ब ७ करोड मात्रै थियो।
 
भूमीसुधार सचिव कृष्ण देवकोटाले थालेको सुधारका कारण पूँजीगत लाभकर दोब्बर भएको हो।उनी सचिव भएर आएपछि पूराना कर्मचारीको सरुवा गर्दै पूँजीगत लाभकरमा हुने अनियमितता रोकेका थिए।यो वर्ष सबै भन्दा धेरै पूँजीगत लाभकर काठमाडौं मालपोत कार्यालय डिल्लीबजारले संकलन गरेको छ। डिल्लीबजारबाट ८६ करोड ८१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ।

काठमाडौं मालपोतपछि ललितपुर मालपोत कार्यालयले ५७ करोड ७० लाख रुपैयाँ पूँजीगत लाभकर असुली गरेर दोस्रो नम्बरमा परेको छ। तेस्रो नम्बरमा कलंकी मालपोत कार्यालयले ४५ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ। सबै भन्दा धेरै लाभकर संकलन गर्ने मालपोत कार्यालयहरुमा क्रमश चावहिल ४० करोड, भक्तपुर ४ करोड ६४ लाख, चितवन २३ करोड, पोखरा १६ करोड ७९ लाख, मनमैजु १६ करोड ५८ लाख, कावासोती १५ करोड, रुपन्देही १४ करोड र बुटवलले १३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेका छन्।

उपत्यकामा साँखु र टोखा मालपोत कार्यालयले १० करोड रुपैयाँ पूँजीगत लाभकर पुर्याउन सकेनन्। साँखुको ९ करोड ८१ लाख रुपैयाँ र टोखाको ७ करोड २२ लाख रुपैयाँ मात्र संकलन भएको छ।
 

बागमती सभ्यताको लागि एक अर्ब ३० करोड रुपैयाँ 
उपत्यकाका मालपोत कार्यालय बाट मात्र उठाईने बागमती सभ्यताको सेवा शुल्क यो गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ। अघिल्लो वर्ष ९६ करोड रुपैयाँ मात्र उठेको बागमती सभ्यताको कर यो वर्ष ३४ करोड रुपैयाँ बढी संकलन भएको छ।
 
बागमती सभ्यताको लागि पनि सबै भन्दा बढी काठमाडौं मालपोत कार्यालय डिल्लीबजारले २६ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ। दोस्रो नम्बरमा ललितपुर मालपोत कार्यालय लगनखेलले २४ करोड ९२ लाख रुपैयाँ र तेस्रो नम्बरमा चावहिल मालपोत कार्यालयले २० करोड ३७ लाख रुपैयाँ संकलन गरेका छन्।
 
अन्य मालपोत कार्यालयहरुमा भक्तपुरले १९ करोड ८२ लाख रुपैयाँ, कलंकीले १९ करोड ७१ लाख रुपैयाँ, मनमैजुले ८ करोड ६५ लाख रुपैयाँ, शाँखुले ६ करोड ६६ लाख रुपैयाँ र टोखा मालपोत कार्यालयले तीन करोड ४८ लाख रुपैयाँ संकलन गरेका छन्।बागमती सभ्यताको लागि थप ०.५ प्रतिशत कर लिने गरिएको छ।