भारतीय राजदूतसँग व्यवसायीको मागै माग, भारतमा खाता खोल्नेदेखि रेलबाट सामान ल्याउनेसम्मका माग

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ साउन ८ गते १७:४१ | Jul 23, 2017
भारतीय राजदूतसँग व्यवसायीको मागै माग, भारतमा खाता खोल्नेदेखि रेलबाट सामान ल्याउनेसम्मका माग


विराटनगर ।कोलकता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत् तेस्रो मुलुकका सामान ल्याउन पाउने गरी पारवहन सन्धि गर्न विराटनगरका व्यवसायीले माग गरेका छन् ।

Tata
GBIME
Nepal Life


नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीको सम्मानमा आयोजित कार्यक्रममा व्यवसायीले पारवहन सन्धिमा परिमार्जनको माग गरेका हुन्।
मोरङ व्यापार संघको आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष एवम् सांसद् पवन शारडाले विराटनगरमा निर्माणाधीन एकीकृत जाँच विन्दु (आइसिपी)–सम्म बल्क कार्गोसहितको मालवाहक रेल आइपुग्ने गरी पारवहन सन्धि गर्नुपर्ने बताए।
 
विराटनगर शहर नजिकको भेडियारी र त्यसैको अगाडि भारतीय भूमिमा भारत सरकारले आइसिपीको निर्माण गरिरहेको छ । भारततर्फको आइसिपी सञ्चालनमा आइसकेको छ । नेपालले निर्माणका लागि जमिन हस्तान्तरण गरेको छ महिना भएको छ ।‘समुद्रीमार्ग हुँदै पैठारी गरिने मालसामान हामीले रेलमार्गबाट नेपाल ल्याउन पायौँ भने ढुवानी खर्च कम पर्नेछ, मालसामान छिटो आइपुग्नेछ’, अध्यक्ष शारडाले भने, ‘यसबाट नेपालका व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता बढ्नेछ ।’
 
विरानगरबाट १० किलोमिटर दक्षिणमा पर्ने भारतीय भूमि बथनाहामा भारतले रेलमार्ग हुँदै ढुवानी गरिने कार्गोको व्यवस्थापनका लागि यार्डलगायतका विभिन्न पूर्वाधारको निर्माण गरिरहेको छ ।बथनाहासम्म रेलमार्ग हुँदै ल्याइएका मालसामान आइसिपीसम्म ल्याउन सकिन्छ तर यसका लागि हालसम्म नेपाल र भारतको पारवहन सन्धि वाधक छ । तेस्रो मुलुकबाट समुद्रीमार्ग हुँदै पैठारी गरिएका मालसामान भारतका कुनै पनि वन्दरगाहबाट रेलमार्ग हुँदै विराटनगर नाकासम्म ल्याउन पाउने बुँदा सन्धिमा हालसम्म उल्लेख छैन ।
 
अध्यक्ष शारडाले विराटनगरको छेउमै निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)–मा भारतीय लगानीकर्तालाई राजदूत सिंहमार्फत् आग्रह गरिएको बताए। भारतीय भूमिसित नजिक पर्ने र विराटनगर शहरबाट १५ किलोमिटर पश्चिमदक्षिणमा रहेको सुनसरीको अमडुवामा नेपालले विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको तयारी गरिरहेको छ ।
 
‘हाम्रा भाषा, संस्कृति, संस्कार, खानपान, भेषभूषा, रहनसहन सबै मिल्छन्’, शारडाले भने, ‘अमडुवामा निर्माण हुने भनिएको विशेष आर्थिक क्षेत्रमा भारतीय व्यवसायीको लगानी बढी मात्रामा हुनुपर्छ । भारतीय लगानीकर्तालाई यो गतिलो ठाउँ हुनेछ । विहार, गुवाहटी, पश्चिम बङ्गाल, झारखण्ड, उत्तर प्रदेश र उडिसाजस्ता राज्य विराटनगरबाट नजिकै पर्छ।’
 
भारतमा खाता खोल्न दिन माग
दुई हप्ताअघि भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेनसित गरेको भारतीय बैङ्कमा खाता खोल्न पाउनुपर्ने मागलाई अध्यक्ष शारडाले राजदूत सिंहसमक्ष पनि दोहोर्याए ।
 
‘नेपालका लाखौँ विद्यार्थी भारतमा अध्ययन गरिरहेका छन्, लाखौँ मानिस मजदुरी गर्दैछन्’, उनले भने, ‘अर्कातिर भारतले कारोबार क्यासलेस ट्रान्जेक्सनलाई अभियानकै रूपमा अघि बढाएको छ ।’नेपालबाट पर्यटन, तीर्थाटन र उपचारका लागि पनि भारत जाने नेपालीको सङ्ख्या उल्लेखनीय रहँदै आएको उनको भनाइ थियो ।
 
शारडाले भने, ‘यस्तो अवस्थामा नेपालको नागरिकताको प्रमाणपत्र वा पासपोर्टलाई भारत सरकारले त्यहाँको आधार कार्डसरह मान्यता दिएर त्यहाँका बैङ्कमा खाता खोल्न पाउने व्यवस्था गरिदिनु पर्छ ।’अध्यक्ष शारडाले नेपालबाट भारततर्फ निर्यात गरिने जुटका सामग्रीमा भारतले गैरन्यायिक ढङ्गले काउन्टर भ्यालिङ ड्युटी (सिभिडी) लगाइरहेको गुनासो गरे ।
 
उनले भारतले जबर्जस्ती यस्तो शुल्क लिएको प्रतिक्रिया व्यक्त गर्दै यसलाई खारेज गर्न भारत सरकारसित पहल गरिदिन अनुरोध गरे ।
 
टेलिफोन शुल्क घटाउन अनुरोध 
शारडाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल आउँदा भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने गरेको महँगो शुल्क घटाउने घोषणा गरेको स्मरण गराए ।
 
नेपालबाट भारतमा टेलिफोन गर्दा एक मिनेटको करिब ४ रुपैयाँ लाग्छ भने भारतबाट नेपालमा गर्दा एक मिनेटको भारु १२ रुपैयाँ तिर्नुपर्छ ।टेलिफोनको यस्तो महँगो दररेटले सर्वसाधारण मर्कामा परेको गुनासो गर्दै उनले भारतबाट नेपालमा टेलिफोन गर्दा प्रति मिनेट भारु २ को दररेट हुनुपर्ने बताए ।
 
दुई दिने पूर्वाञ्चल भ्रमणमा आएका राजदूत सिंहले विराटनगरस्थित उद्योग सङ्गठन मोरङका पदाधिकारी तथा सदस्यलाई पनि भेटेका थिए ।कार्यक्रममा सांसदद्धय डा. शेखर कोइराला र ऋषिकेश पोखरेल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतको उपस्थिति थियो ।