कुन प्रविधिमा घर बनाउँदा कति रुपैयाँ लाग्छ? १० लाख रुपैयाँमै बनाउन सकिन्छ बाँसको पक्की घर

बिजमाण्डू
२०७४ साउन ८ गते १३:२७ | Jul 23, 2017
कुन प्रविधिमा घर बनाउँदा कति रुपैयाँ लाग्छ? १० लाख रुपैयाँमै बनाउन सकिन्छ बाँसको पक्की घर


काठमाडौं। घर बनाउने सोचमा हुनुहुन्छ?इँट्टा,डन्डी र सिमेन्टबाट मात्रै घर बनाउनुपर्छ भन्ने जमाना पूरानो हुँदैछ।

Tata
GBIME
Nepal Life

अहिले घर बनाउने धेरै विकल्प आइसकेका छन्।विकसित देशमा रेसिडेन्सियल घर बनाउन प्रयोग हुने सामानहरु नेपालमा आइसकेका छन्।नयाँ प्रविधिबाट बनाइने घर देख्दा आकर्षक,सस्तो र छिट्टो बनाउन सकिन्छ।
 

बाँसको घरः चार कोठे घर १० लाख रुपैयाँ देखि सुरु
घर आवश्यकता मात्रै ठान्नेका लागि बाँसको घर विकल्पको रुपमा हुनसक्छ।शोख र समाजमा आफुलार्इ वेग्लै देखाउनका लागि यो राम्रो विकल्प बन्न सक्छ।

हिमालयन बेम्बो हाउसका बजार अधिकृत कृष्ण अर्यालका अनुसार ७०० वर्गफिट क्षेत्रफलमा बाँसको घर बनाउने हो भने १०/१२ साईजका चार वटा कोठा सँगै एउटा ट्वाईलेट पनि बनाउन सकिन्छ। जुन घर एक महिनामै बन्छ।बाँसलाई प्रशोधन गरेर किरा नलाग्ने बनाए पछि मात्र यसलाई घरबनाउन प्रयोग गरिन्छ। ईट्टाको वाल लगाउने ठाउँमा बाँसको प्रयोग हुन्छ।

बाहिरबाट सिमेन्टलेनै प्लास्टर गरिएको हुन्छ। छानोमा जस्ता लगाए पनि तल बाँसको टर्फ लगाईएको हुन्छ। भित्र बस्दा बाँसको घरमा बसेको आभास हुँदैन। नत बाहिर बाट हेर्दानै बाँसको घर जस्तो देखिन्छ।यो घर पचास वर्ष केही हुँदैन।जग्गा दिएपछि कम्पनीले नक्सा डिजाईनदेखि धारा विजुलीसहित पूरै घर फिनिसिङ गरेर घर हस्तान्तरण गर्ने अर्याल बताउँछन्।

यो घरको मूल्य प्रति वर्गफिट एक हजार पाँच सय देखि दुई हजार रुपैयाँ सम्म पर्छ।बाँसको घर भूकम्प प्रतिरोधी हुन्छ। तर यो एकतला भन्दा बढी बनाउन मिल्दैन। त्यसैले बजार क्षेत्रमा यस्ता घर उपयुक्त हुँदैनन्। व्यापारिक दृष्टिले सम्भावनायुक्त ठाउँमा दुई भन्दा बढी तला बनाउनु पर्ने हुनसक्छ।निजी आवासका लागि घर बनाउन बाँसको घर उपयुक्त हुने उनले बताए।
 

कम्पनीले दुई सय भन्दा बढी बाँसका घरहरु बनाई सकेको छ। भूकम्पपछि उपत्यकामा तीन वटा घर बनाएको यो कम्पनीले सिन्धुपाल्चोकमा सात वटा घर बनाएको छ। त्यो सँगै निजी विद्यालय भवन र जलविद्युत आयोजनाका लागि थुप्रै भवन बनाईसकेको छ। 

ईको प्यानल घरः चारकोठे घर १५ लाख रुपैयाँ देखि सुरु

गोर्खा ईको प्यानलले चार कोठे एक तले घर १५ लाख रुपैयाँमा बनाउँछ।

बहराईनको अलखाजा कम्पनीको संयुक्त लगानीमा स्थापना भएको यो कम्पनीले एक तल्ले घरको लागि नक्सा, डिजाईन र ट्वाईलेट वाथरुमका सामान घरधनीले आफ्नै तरिकाले राख्ने सर्तमा प्रति वर्ग फिट दुई हजार देखि २२ सय रुपैयाँ सम्ममा घर बनाउँदै आएको छ। यो घरका झ्यालढोकादेखि रंगरोगनको काम सम्म कम्पनीले गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक कृष्णभक्त दुवालले बताए।
 

सात सय वर्गफिटमा एक तले घर बनाउने हो भने १०/१२ साईजका चार वटा कोठाका साथै ट्वाईलेट पनि भित्रै बनाउन सकिन्छ। कोठाको साईज ठूलो बनाउने हो भने चार वटा कोठामात्र बनाउन सकिन्छ। यसरी बनाउने एकतले घर पनि एक महिना भित्र बनाउन सकिने उनले बताए।दुवालका अनुसार प्यानलमा ७० वर्षको वारेन्टी हुन्छ।

७० वर्ष भित्र प्यानलमा समस्या आए कम्पनीलेनै रिप्लेस गरिदिन्छ। आईएसओ ९००१ र २०१५ गुणस्तर चिन्ह प्राप्त प्यानल प्रति वर्ग फिट १८० रुपैयाँ देखि ४६५ रुपैयाँ सम्मका उपल्बध छन्। कम्पनीले सय भन्दा बढी निजी घर निर्माण गरिसकेको छ।दुई वा सो भन्दा बढी तलाको घर निर्माणको जिम्मा भने कम्पनीले लिँदैन। त्यस्ता घरमा प्यानलमात्र लगाई दिन्छ। जसमा प्यानल लगाउँदा ईट्टाको वाल भन्दा २० प्रतिशत सम्म सस्तो हुने दुवालले दाबी गरे।
 

उनका अनुसार कम्पनीले प्यानल लगाउँदा चिसो ठाउँमा हिटर राख्न नपर्ने र गर्मी ठाउँमा एसी पनि लगाउन पर्दैन। कम्पनीले स्वास्थ्यका लागि पनि कुनै हानी नपुग्ने गरि प्यानल उत्पादन गरिरहेको जनायो।विद्यालय भवन,जलविद्युत,सेनाको ब्यारेक लगायतका संरचना निर्माण गरिरहेको कम्पनीले जनाएको छ।
 
आरसिजी घरः तीनकोठे घर २१ लाख रुपैयाँ देखि सुरु
एक भन्दा धेरै तला बनाउन मिल्ने आरसिजी प्रविधिको घर सबै भन्दा महँगो प्रविधिमा पर्छ।


ईन्जिनियरिङ कन्सल्ट्यान्सको रुपमा लामो समय काम गरेपछि विगत एक वर्ष देखि भवन निर्माणमा हातहालेको 'मेरोघर' ले भने आरसिजी प्रविधिमै पनि प्रति वर्गफिट तीन हजार रुपैयाँमा घर बनाउँदै आएको छ।मेरोघरका प्रमुख संचालन अधिकृत बिजय शर्माले जग्गा धनीले जग्गा दिएमा नक्सा पास र डिजाईनिङ मात्र नभई निर्माण सम्पन्नताको प्रमाणपत्र पनि कम्पनीलेनै दिने बताए।
 
७०० वर्गफिट क्षेत्रफलमा १०/१२ साईजका तीन वटा कोठा, भर्याङ र ट्वाइलेट सम्म बनाउन सकिन्छ। घरधनीले कोठाको साईज ठूलो राख्न चाहेमा भने दुई वटा कोठा भर्याङ र ट्वाइलेट वाथरुम मात्र बनाउन सकिन्छ। जसको मूल्य २१ लाख रुपैयाँ पर्छ। आरसीजी प्रविधिमा घर बनाउन चार/पाँच महिना भन्दा बढी समय लाग्छ।