जिएसटीले भारतकै सामान त्यहाँभन्दा यता सस्तो, एफएनसीसीआर्इ निवर्तमान अध्यक्ष मुरारकाको बिचार

बिजमाण्डू
२०७४ असार २८ गते १०:५१ | Jul 12, 2017
जिएसटीले भारतकै सामान त्यहाँभन्दा यता सस्तो, एफएनसीसीआर्इ निवर्तमान अध्यक्ष मुरारकाको बिचार
भारतमा विभिन्न किसिमका कर लागिरहेका थिए। ती सबै कर हटाएर सरकारले एकीकृत रुपमा गुड्स एण्ड सर्भिसेज ट्याक्स (जिएसटी) कार्यान्वयनमा ल्याएको छ। त्यो कर कार्यान्वयनमा आएपछि नेपालमा पर्ने प्रभावका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। पहिला पनि नेपालले आयात गर्ने वस्तुमा कुनै कर लागेको थिएन र अहिले जिएसटी पनि लाग्दैन। त्यसैले भारतमा जिएसटी कार्यान्वयनमा आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन। जिएसटीका कारण लागत बढ्ने होइन बरु एक/दुर्इ प्रतिशत घट्न सक्छ। विभिन्न राज्यले लगाउँदै आएको चुँगिकर हट्छन्। व्यापारका अवरोध पनि कम हुन्छन्।
 
उदाहरणका लागि उत्तर प्रदेशबाट सामान आउँदा वहत्ति भन्ने कागज बनाउनुपर्थ्यो। त्यो कागज नबनाए अनावश्यक झझण्ट ब्योहोर्नुपर्थ्यो। अब राज्य तहमा हुने यस्ता समस्या सबै समाप्त भएका छन्। त्यसैले जिएसटीले नेपाल-भारतको व्यापारलार्इ सहज बनाउन सहयोग पुग्छ।
 
जिएसटी कार्यान्वयनको सुरुको अवस्थामा केही समस्या आउनसक्छन्। त्यो स्वभाविक पनि हो। तर, जिएसटीले दुर्इ देशबीचको वैध व्यापारलार्इ सहयोग नै गर्छ। नेपालबाट सामान निकासी हुँदा पनि कुनै समस्या रहँदैन। नेपालबाट निकासी हुने वस्तुमा शुन्य भन्सार दर छ। नेपालबाट भारतमा सामान निकासी गर्दा अन्तशुल्कको सट्टा काउन्टर भेलिङ ड्युटी(सिभिडी) लाग्थ्यो।अब अन्तशुल्कको सट्टा जिएसटी लाग्छ तर त्यो जिएसटी फिर्ता पाउने भएकोले निकासी अझै बढ्छ।
 
जिएसटी भनेको उपभोक्ताले तिर्ने कर हो। अहिले आयात गर्दा पनि सेवामा भने जिएसटी लागेको छ। कोलकाता बन्दरगाहमा क्लियरिङ चार्जमा सेवा कर १५ प्रतिशत लाग्थ्यो भने अब १८ प्रतिशत भएको छ। फ्रेटको सेवा कर साढे चार प्रतिशतबाट पाँच प्रतिशत भएको छ। यसले सामान ढुवानी केही महँगो भएको छ। उनीहरुको नोटिफिकेशन हेर्दा आयात र निकासीको सेवा शुल्क शुन्य हुने उल्लेख छ। त्यसैले फ्रेट र क्लियरिङमा लिइँदै आएको सेवा शुल्क हटाउन सरकारले पहल गर्नुपर्छ। वस्तुमा जस्तै सेवामा पनि जिएसटी नलाग्ने कुरा प्रष्ट भइ सकेको हुँदा सरकारले बलियो लबिङ गर्नुपर्छ।

Tata
GBIME
Nepal Life


 

जिएसटीबाट अर्को फाइदा भनेको हो भारतमा 'ग्रे ट्रेड'मा कमी ल्याउँछ। भारतमा कर छली धेरै थियो। जिएसटीले कर छलीलार्इ रोक्यो भने हाम्रो सामान निकासी सहज बन्छ। भातरीय उत्पादकले कर छली गर्ने र हामीले निकाशी गर्दा पूरै कर तिर्नु पर्ने अवस्थाले प्रतिस्पर्धी गर्न कठिन थियो। अब उनीहरुले पनि कर तिर्नैपर्ने भएपछि हाम्रो सामान पनि भारतमा प्रतिस्पर्धा गर्न सक्ने बन्छ। 
 
नेपालबाट निकासी हुने सामान प्रतिस्पर्धा गर्न नसकेर पनि धेरै उद्योग बन्द भएका थिए। तर, जिएसटीले यस्ता समस्या संबोधन गरेर निकासीको वातावरण तयार हुने आधार देखिन्छ। निकासीमा भारतका विभिन्न राज्य सरकारले लगाउने कर पनि अन्त्य भएको छ। 
 
साथै उपभोगका लागि भारत गएर सामान किन्ने परम्परामा समेत कमि आउने अपेक्षा गरिएको छ। व्यक्तिगत तवरमा मात्र होइन भन्सार छलेर विभिन्न सवारी साधनमा लुकाइ अहिले पनि ठूलो परिमाणमा सामान आउने गरेको छ। तर, आइन्दा यसरी बस्तु किन्दा भारतमा जिएसटी तिर्नु पर्छ।

कुनै कुनै वस्तुमा २८ प्रतिशतसम्म जिएसटी लाग्छ। त्यसकारण भारतमा सामान किन्नुभन्दा नेपालमै खरिद गर्ने परम्परा समेत बस्नेछ। यसले मुलुकको राजस्व बढाउन र अवैध व्यापार निरुत्साहित गर्न सघाउँछ। भारतमा जिएसटी लागेपछि कतिपय सामान भारत भन्दा यहीँ सस्तो पाइन थाल्छ।
 

जिएसटीका बारेमा अहिले पनि अन्यौल नभएको होइन। सरकारसँगै व्यवसायीले समेत जिएसटीको बारेमा बुझ्न सकेका छैनन्। भर्खरै मात्रै जिएसटीले नेपाललार्इ पार्ने प्रभावका बारेमा वार्ता गर्न एउटा टोली भारत जाँदैछ भन्ने सुनेको छु। सरकारले अर्थमन्त्रालयका राजस्व हेर्ने सहसचिव विष्णु नेपालको संयोजकत्वमा जिएसटीको प्रभाव बारे अध्ययन समिति बनाएको छ।
 
जिएसटी कार्यान्वयनमा आउनुअघिनै यसका बारेमा अध्ययन गर्न पाएको भए यो अन्यौल रहने थिएन। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा जिएसटी कार्यान्वयनमा आएपछि गर्नुपर्ने कामका बारेमा नोटनै बनाएर सरकारका निकायलार्इ पठाएको थिए। वस्तुमा कर लाग्दैन भन्ने त प्रस्ट नै छ तर सेवाका बारेमा रहेको अन्यौल हटाउन सरकारले तुरुन्त लविङ थाल्नु पर्छ।
(कुराकानीमा आधारित)