रियल सेक्टरका ‘ब्लुचिप’ कम्पनी आइपिओमा, ५९ कम्पनी पब्लिक

बिजमाण्डू
२०७४ असार २८ गते ०९:२४ | Jul 12, 2017
रियल सेक्टरका ‘ब्लुचिप’ कम्पनी आइपिओमा, ५९ कम्पनी पब्लिक


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ दर्ता तथा निष्काशन नियमावलीमा केही आकर्षक प्रावधान राखेसँगै वास्तविक  (रियल) क्षेत्रका कम्पनी सर्वसाधारणलाई शेयर जारी गर्न उत्साहित देखिन थालेका छन्। निजी कम्पनीको रुपमा खुलेकामध्ये ५९ वटा अहिलेसम्म पब्लिक कम्पनीमा रुपान्तरण भइ सकेका हुन्। सर्वसाधारणलाई शेयर बिक्री गर्नु अघि कम्पनी रजिष्ट्रारको कार्यालय मार्फत पब्लिकमा रुपान्तरण हुनुपर्छ।
 
निजी कम्पनीको रुपमा स्थापित अधिकांश जलविद्युत कम्पनीहरु यस अघि नै पब्लिक बनि सकेका थिए। पछिल्लो समय सिमेन्ट उत्पादक, रेमिट्यान्स कारोबारी, कलेज लगायत बिभिन्न क्षेत्रका कम्पनी पब्लिकमा रुपान्तरण भएका छन्।

Tata
GBIME
Nepal Life


 

शिवम सिमेन्ट, कालिन्चोक दर्सन, सीजी फिन्को, आईएमई रेमिट्यान्स, एससिटी, चन्द्रागिरी हिल्स, डिसहोम, नेपाली उत्पादन घर लगायतका कम्पनी पब्लिकमा बदलिएका हुन्।
 
सात वर्ष अघि चार अर्ब लगानीमा स्थापना भएको शिवम सिमेन्ट ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्छ। दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योग हेटौंडाको हटियामा सञ्चालित छ। उद्योगले दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्छ। आफ्नै क्लिंकर खानी रहेको यो उद्योग सर्वसाधरणमा जान दुई बर्ष अघि नै पब्लिकमा कम्पनीमा रुपान्तरण भइसके पनि प्राथमिक शेयर निष्काशन बारे सञ्चालक समितिबाट निर्णय हुन बाँकी छ।

कम्पनीका चिफ फाइनान्स अफिसर ज्योती थापाले जनताको सहभागितामार्फत सिमेन्ट उद्योगलार्इ अझै विस्तार गर्ने उदेश्यले सर्वसाधरणमा शेयर जारी गर्न लागिएको बताए। 'जनताको सहभागिताले हाम्रो उद्योग अझै विस्तार हुने विश्वास हामीले लिएका छौं, उनले बिजमाण्डूसँग भने। कम्पनीले नेपाल गुणस्तर चिन्ह सहित आइएसओ ९००१-२००८, आइएसओ १४००१-२००४ र ओएचएसएएस १८००१-२००७ पाइसकेको छ। 


 
नेपाल उद्योग बाणिज्य बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट पनि अघिल्लो महिना पब्लिकमा रुपान्तरण भएको थियो। जनतालाई शेयर बिक्री गरि पूँजी जुटाउन आफुहरु तयार रहेको मुरारकाले बताए। पछिल्लो समय धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले प्रिमियममा शेयर जारी गर्न सक्ने प्रावधान राखेसँगै रियल क्षेत्रका कम्पनीलाई पब्लिकमा जान सहज भएको उनको भनाइ छ। 
नेपालमा रेमिट्यान्स कारोबारको जग बसाउने आइएमई पनि पब्लिक कम्पनीमा रुपान्तरण भइ सकेको छ। मुलुकभर सबैभन्दा धेरै नेटवर्क भएको र अधिकांश देशबाट रेमिट्यान्स भित्र्याउने आइएमईको शेयर सर्वसाधारणमा बिक्री गर्न उपयुक्त समयको पर्खाइमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। 'हामीले आइपिओ मार्पत सर्वसाधारणलाई शेयर दिन तयार छौँ, उनले भने।
 
अर्को रेमिट्यान्स कम्पनी सिजी फिङ्को पनि गत जेठमा पब्लिक कम्पनीमा रुपान्तरण भइ सकेको छ। चौधरी ग्रुप अन्तर्गतको कम्पनीले वेष्टर्न युनियन मार्फत विश्वभरबाट रेमिट्यान्स भित्र्याउने गर्छ। 
 
नेपाली बैंकहरुमा एटिएम सेवा उपलब्ध गराउदै स्मार्ट च्वाईस टेक्नोलोजी (एससिटी) पब्लिकमा रुपान्तरण भएको अर्को कम्पनी हो। हालै मात्र यो कम्पनी पब्लिक बनेको थियो। कम्पनीले देशभर ४८ बैंक तथा वित्तिय संस्थाका १४ सय ४९ वटा एटिएम मेसिन जडान गरेको छ। आफ्नो नेटवर्कमा १६ लाख जनताले एटिएम सेवा लिएको कम्पनीले जनाएको छ।


 

काठमाडौं नजिकको रमणीय गन्तव्य चन्द्रागिरी जाने केवलकार सञ्जालन गरि रहेको चन्द्रागिरी हिल्स २०७१ सालमै पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। सर्वसाधारणलाई विकासमा साझेदार बनाउन पब्लिकमा जाने तयारी गरेको कम्पनीले जनाएको छ। एक बर्ष भित्र सर्वसाधारण शेयर बिक्री गरि सक्ने कम्पनीको योजना छ। 'हामी आउँदो साधारणसभाबाट शेयर निष्काशनबारे निर्णय लिन्छौँ' कम्पनीका सञ्चालक अम्बिका पौडेलले भने। त्यतिन्जेलमा होटल समेत निर्माण भइ सक्ने उनले जानकारी दिए। कम्पनीले १० प्रतिशत स्थानीय र १० प्रतिशतसम्म आम सर्वसाधारणका लागि शेयर बिक्री गर्नेछ। 
 
नेपालमा पहिलो डाइरेक्ट टु होम (डिटिएच) टिभीको सेवा दिदै आएको डिस मिडिया नेटवर्क पनि गत बर्ष पब्लिकमा रुपान्तरण भएको छ। ४० करोड रुपैयाँ रुपैयाँको प्राथिमक शेयर जारी गरि सर्वसाधारणसँग साझेदारी गर्ने कम्पनीको तयारी छ। यस्तैथ अहिलेसम्म निर्माण सुरु नभएको कालिन्चोक दर्शन पनि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। यो कम्पनी दोलखाको कालिन्चोक भगवती दर्शनका केवलकार निर्माणको तयारीमा छ।
 
स्वदेशमै विभिन्न कस्मेटिक सामान उत्पादन गर्दै आएको नेपाली उत्पादन घर पनि पब्लिकमा रूपान्तरण भएको छ। कम्पनीले साबुन, स्याम्पो लगायत उत्पादन गर्छ। 
 
त्यस बाहेक लुम्बिनी मेडिकल कलेज एण्ड टेक्निकल हस्पिटल, ज्ञान सेक्युरिटीज एड इन्भेस्टमेन्ट, नेशनल बैकिङ इन्स्टिच्युट, त्रिबेणी इन्टरनेशनल कलेज, सेन्चुरी बुक्स, नामी कलेज, क्रेडिट इन्फर्मेसन सेन्टर, अयुमी हिमालयन एग्रो लगायत कम्पनी पब्लिकमा रुपान्तरण भइ सकेका छन्।

सर्वसाधारण शेयर जारी गर्न पब्लिकमा रुपान्तरण भएका कम्पनी-

 

नेपाल धितोपत्र बोर्डले दर्ता तथा निष्कासन नियमावली २०७३ मा शेयर बजारमा आउन वास्तविक क्षेत्रका कम्पनीले १० प्रतिशत मात्र शेयर जारी गर्दा हुने प्रावधान लागु गरेको थियो। त्यस अघि ३० प्रतिशत शेयर प्राथमिक निष्काशनमा बेच्नै पर्ने बाध्यकारी प्रावधान थियो। एकै पटक ३० प्रतिशत शेयर जारी गर्दा भविश्यमा आफुलाई कम्पनी चलाउन कठिन पर्ला की भन्ने आशंकामा प्रवर्धकहरुले पब्लिकमा जान रुची देखाउने गरेका थिएनन्। साथै नियमावलीमा प्रिमियममा शेयर जारी गर्न सक्ने अर्को व्यवस्था पनि गरिएको छ। नियमावलीलाइ ब्यबस्थित गर्न ल्याईएको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, मा यसलाई थप प्रष्ट्याइएको छ।
 
बैंकको ब्याजदरमा आउने तिब्र उतार चढावले पनि कम्पनीलाई पब्लिकमा गएर पूँजी संकलन गर्दा फाइदा हुने देखिन थालेको उद्योग बाणिज्य माहासंघका निवर्तमान अध्यक्ष मुरारकाले बताएका छन्। 'बैंकबाट एउटा दरमा ऋण लियो तिर्दै जाने क्रममा अर्कै हुन्छ' मुरारकाले भने- बरु सर्वसाधारणकहाँ गएर पूँजी उठाउन सजिलो भन्ने बुझाइ व्यवसायीमा आउन थालेको छ।'