नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा अमेरिका जाने, तीन प्रतियोगितामा सहभागी हुने

बिजमाण्डू
२०७४ असार १३ गते १७:२० | Jun 27, 2017
नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा अमेरिका जाने, तीन प्रतियोगितामा सहभागी हुने


काठमाडौं। नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा शेर्पा वैदेशिक प्रशिक्षणका लागि अमेरिका जाने भएकी छिन्।
 

प्रशिक्षक सचिन भट्टराईसँगै प्रतिमा आगामी जुलाई २ तारिखमा अमेरिका प्रस्थान गर्नेछिन्। मंगलबार नेपाल गल्फ संघको कार्यालयमा भएको कार्यक्रममा नेपाल गल्फ संघले उक्त जानकारी गराएको हो।
 
नेपाल गल्फ संघको सहयोगमा जान लागेकी प्रतिमा र प्रशिक्षक सचिनलाई कतार एअरवेजले आउने जाने टिकट प्रदान गर्ने भएको छ। मंगलबारै कतार एअरवेजका कन्ट्री डिरेक्टरले उनीहरुहलाई टिकट प्रदान गरे। कतार एअरवेजले ४ लाख बराबरको जाने आउने टिकटको लागि प्रायोजन गरेको हो।
 
रोचक के छ भने प्रतिमाले दुई महिना अगाडी मात्र आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन्। बुबाबो नागरिकता नभएका कारण यसअघि नागरिकता नबनेका कारण प्रतिमाले दुई पटक इन्टरनेशनल फाल्डो सिरिजमा छनोट भएर समेत खेल्न पाइनन्।
 
अहिले आएर विदेशका प्रशिक्षण गर्ने र खेल्ने मोका प्राप्त भएपछि उत्साहित हुँदै प्रतिमाले खुशी व्यक्त गरिन्। 'एनजिएले मेरो प्रशिक्षणको लागि गर्नुभएको सहयोग र कतार एअरवेजले स्पोन्सर गरेकोमा धन्यवाद।'
 
दुई महिना अमेरिकामा रहने प्रतिमाले ३ टुर्नामेन्टमा भाग समेत लिनेछिन्। प्रतिमाले क्यालिफोर्नियाको भेन्टुरामा रहेको गल्फ एकेडेमी अफ ओलिभिया लिङ्स गल्फ कोर्समा प्रशिक्षण गर्नेछिन्।
 
नेपाल गल्फ संघको आग्रहमा उक्त गल्फ कोर्सले प्रतिमालाई प्रशिक्षणको लागि व्यवस्था मिलाएको हो। यस्तै संघले प्रतिमाको गल्फ फिटनेसको ट्रेनिङको लागि सान डियागोमा रहेको टिटलिस्ट परफरमेन्स इन्स्टिच्युटलाई पत्र लेखेको र त्यसको लागि प्रक्रिया पूरा भएको समेत जनाएको छ।
 
 
प्रतिमाले आगामी जुलाई १८ देखि २१ सम्म हुने ५०औं टिटलिस्ट म्याच प्ले च्याम्पियनसिप, फाउण्डर्स कप र टेलरमेड टुर च्याम्पियनसिपमा भाग लिनेछिन्। फाउण्डर्स कप जुलाई ३१ मा हुनेछ भने टेलरमेड टुर अगस्ट ५ र ६ मा हुनेछ।
 
अमेरिकामा रहदा अझै धेरै सिक्न पाइने प्रतिमाले बताइन्। 'त्यहाँ गेम कसरी खेलिन्छ अझै त्यसबारे अझ धेरै सिक्न पाउनेछु। जसले यता फर्केपछि खेल्नमा सहयोग गर्नेछ र बाहिर हुने इन्टरनेशनल टुर्नामेन्टहरुमा पनि खेल्ने प्रयत्न गर्नेछु।'
 
यो भ्रमणपछि प्रो गल्फर बन्न सहयोग पुग्ने समेत प्रतिमाको विश्वास छ।'यहाँ भन्दा बाहिरको टुर्नामेन्ट खेल्ने शैलीहरु फरक हुन्छ। निश्चय नै त्यसले मलाई सहयोग पुर्‍याउनेछ र प्रो बन्का लागि पनि मद्दत गर्नेछ।'
उनले आफ्नो अन्तिम इच्छा पनि प्रो गल्फर बन्ने नै रहेको सुनाइन्। 'मेरो लक्ष्य भनेको नेपालको नम्बर वान फिमेल प्रो गल्फर बन्नु हो। त्यसपछि एलपिजिए टुरमा सहभागी हुने इच्छा छ।'
 
बाहिर हुने टुर्नामेन्टहरु खेलेपछि प्रो को लागि लड्ने उनले बताइन्।
 
नेपाल गल्फ संघका महासचिव सि बी भण्डारीले अमेरिकाले प्रशिक्षण लिएपछि प्रतिमाको खेलस्तर बढ्नुका साथै नेपालको नाम पनि फैलने बताए।
 
'सन् २०१० मा एनजिएले महत्वाकांक्षी योजना लन्च गरेको थियो। प्रतिमा त्यही ट्रेनिङबाट उत्पादन भएकी प्रतिभा हुन्। उनले एनजिपिएको सहयोगमा विभिन्न टुर्नामेन्ट खेलेर ३२ वटा ट्रफी जितिसकेकी छिन्।'
 
१८ वर्षिय प्रतिमा घरेलु गल्फ कोर्समा सर्वाधिक उपाधि जित्ने महिला गल्फर हुन्। उनले जुनियर र सिनियर सबैखाले गरी कूल ३२ टुर्नामेन्ट जितिसकेकी छिन्।

Tata
GBIME
Nepal Life