भरतपुरको षड्यन्त्र खुल्छ भनेर सचिवको कल डिटेल निर्वाचन आयोगले हेर्न खोज्यो : ओली

बिजमाण्डू
२०७४ असार १२ गते ०८:३१ | Jun 26, 2017
काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको मतपत्र च्यातिएको र त्यसपछिका घटनामा भएको षड्यन्त्र खुल्यो कि भन्ने डरले निर्वाचन आयोगका तत्कालीन सचिवको कल डिटेल हेर्ने निर्णय गरी उनको सरुवा गरिएको आरोप लगाएका छन्। 
 

दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि आइतबार साँझ पार्टीले गरेको फेसबुक लाइभमा बोल्दै ओलीले भने, 'सचिव सरुवका केही पाटा छन्। खुल्न नहुने कुरा खुल्यो कि भन्ने आशंकाले निर्वाचन आयोगले सचिवको कल डिटेल हेर्ने निर्णय गरेको हो।'
 
'निर्वाचन आयोग भनेको खुल्न नहुने कुरा गर्ने संस्था होइन। अपारदर्शी, गोप्य र षड्यन्त्रपूर्ण क्रियाकलापमा संलग्न हुने संस्था हैन,' ओलीले भने, 'सचिवको कल डिटेल किन चाहियो उहाँहरुलाई? यसले स्पष्ट पार्छ निर्वाचन आयोग कुन अवस्थामा छ।'
 
सरकारले दोस्रो चरणको निर्वाचनको मतदान हुनु पाँच दिन अघि निर्वाचन आयोगका सचिवको सरुवा गरेको थियो। आयोगमा सचिव रहेका गोपिनाथ मैनाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काउँदै आयोगमा एनसेल कान्डमा विवादास्पद बनेका महेश्वर न्यौपानेलाई निमित्त सचिवका रुपमा लगिएको थियो। 
 
पहिलोपोस्टसँगको अन्तर्वार्तामा सचिव मैनालीले निर्वाचन आयोगमा विलासी गाडी खरिद र फजुल खर्च रोक्न खोज्दा सरुवा गरिएको खुलासा गरेका थिए। 
 
ओलीले यससम्बन्धमा भने, 'गाडी ठीकैका मोलका किने पनि हुन्छ। गाडी प्रक्रिया पुर्या एर किने हुन्छ। तर तिनै गाडी निर्वाचन सामाग्रीका नाममा विलासी गाडी किन्नु उपयुक्त हैन।'उनले धुलो धुँवामा सर्वसाधारणले चढ्ने मोटरसाइकललाई विलासी सामान भनी चर्को कर लगाइएको तर निर्वाचन सामाग्रीका नाममा आयुक्तहरुले विलासी गाडी कर छुटमा किन्न लागिएकोमा आलोचना गरे। 
 
'सचिवसँग यत्रो लडाइँ गरेर गाडी किन्ने? सरकार, गठबन्धन सबै लागेर एउटा कर्मचारी फेर्नुपर्ने? बहादुरीका साथ  जितेर आफ्नो मिसन गाडी किन्ने सफल पार्न खोज्ने?', उनले भने।  
 

Tata
GBIME
Nepal Life