एउटा शर्त, त्यो पूरा गरे हाम्रै पालामा अकल्पनीय विकास देख्छौ, शेखर गोल्छाले देखेको सम्भावना

शेखर गोल्छा
२०७४ असार ११ गते १०:०८ | Jun 25, 2017
एउटा शर्त, त्यो पूरा गरे हाम्रै पालामा अकल्पनीय विकास देख्छौ, शेखर गोल्छाले देखेको सम्भावना

पछिल्ला दिनमा मुलुकको अर्थतन्त्रमा सुधार आएको छ। त्यसको असर नेपालको गरिवी निवारणमा सुधार भएको छ। मानव विकास सूचकांक बढेको छ।
 
अर्थतन्त्रमा सुधार आउँदा नेपालको मार्केट साइज अब बढेर गएको छ। यो एकदमै ठूलो भैसकेको छ। अहिले एफएमसीजी, सिमेन्ट र स्टील उद्योगको टर्नओभर विश्वास नै गर्न नसक्ने गरी बढेको छ।
 
यो क्षेत्रको पहिला करोडको कारोबार हुन्थ्यो अब अर्बको कारोवार सामान्य भैसकेको छ। तर यसको प्रभाव कुल गाहर्स्थ उत्पादनमा भने रिफ्लेक्ट भैरहेको छैन।
 
नेपाल लिभर कम्पनी नेपालमा आउँदा यति ठूलो बन्छ भन्ने अपेक्षा नै थिएन। तर अहिले नेपाल लिभरको बजार केही वर्षमै सय गुणाभन्दा बढीले बढेको छ। म सन्धिखर्क जाँदा त्यहाँ ट्याक्सी चलिरहेको थियो। सन्धिखर्कमा मिटरको ट्याक्सी यो कसरी सम्भव भयो?
 
त्यहाँको बजार पनि एकदमै विकसित भएको पाएँ, होटलमा एयर कण्डिसन लगाइएको छ। सानो रेष्टुरेन्टमा पुग्दा पनि ब्ल्याक लेभल र सिभास रिगल सर्भ हुन्छ। भारतमा पाँच तारे होटल वाहेक अन्त महँगो मदिरा पाउन कठिन हुन्छ। नेपालमा खर्च बढी गर्ने र बचत कम गर्ने बानीले यो सबै सम्भव भएको हो।
 
अब १० वर्षमा हामी कहाँ हुन्छौं?
अबको १० बर्षमा नेपालमा कल्पना गर्न नसक्ने ग्रोथ हुनेछ। त्यसका लागि हामीले दुई वटा पनि होइन एउटा मात्रै शर्त राखे हुन्छ। त्यो हो बन्द, हड्ताल नगर्ने।
 
बन्द र हड्ताल नगरेर अर्थतन्त्रलाई यसै छाड्दा पनि हाम्रो ग्रोथ धेरै माथि जान्छ। र त्यो हाम्रा लागि 'गोल्डेन' दशक हुनेछ। मैले धेरै ठाउँ घुम्दा थाहा पाएको तथ्य के हो भने अब धान रोपेर हामीले पैसा कमाउन सक्दैनौ। यो कुरा हाम्रा किसानले पनि बुझिसकेका छन्।
 
हामीले चामल भारतबाट आयात गरे पनि हुन्छ। अँलैची र अदुवाले पूर्वका पहाडी क्षेत्रको जनताको जीवनस्तरनै परिवर्तन गरिदिएको छ।
 
चिया र कफीले अर्को परिवर्तन गरिदिएको छ। मध्य क्षेत्रमा धानखेती हुने ठाउँमा कफी उत्पादन भैरहेको छ। पश्चिमतिर जडीबुटीको फार्मिङ समेत भैरहेको छ। हामी ‘मेनस्ट्रिम’ खेतीबालीबाट ‘निस प्रोडक्ट’मा सिफ्ट हुँदैछौ।  आफुलार्इ के लगाउँदा फाइदा हुन्छ भन्ने किसानले बुझिसकेका छन्। फाइदा हुने खेती गर्छु तर चामल किनेर खान्छु भन्ने मनस्थितीमा किसान छन्।
 
सुदुरपश्चिमको मुगुमा जाँदा किसानले फाइदाको कुरा गर्न थालेका छन्। विगतमा यस्तो सोंच नै थिएन। पहिला खानको लागि मात्रै खेती गरिन्थ्यो। मैले देखेका किसानको जीवनस्तर परिवर्तन हुन थालिसकेको छ। अब किसानलार्इ सूचना र प्रविधि दिन आवश्यक छ। साथै किसानको आत्मविश्वास बढाउन आवश्यक छ। उत्पादनको सुनिश्चितताको लागि विभिन्न ठाउँमा बजार स्थापना गरिदिनुपर्छ।
 
अब किवीको कुरा गरौ इलामबाट सिधै दिल्ली जान्छ त्यो काठमाडौं समेत आउँदैन। किसानले मकै लगाउनुभन्दा पोखरी खनेर माछापालन गर्दा फाइदा हुन्छ भन्ने जानेर अहिले जहाजबाट यात्रा गर्दा ठाउँ ठाउँमा माछापालन भएको देख्न सकिन्छ।
 
कृषि क्षेत्रले पछिल्ला प्रविधि ल्याएर मूल्य अभिवृद्धि गर्नेतर्फ गैरहेको छ। यी सबै देख्दा कृषि क्षेत्र ड्राइभ भएर जान्छ। हाम्रो भौगोलिक अवस्थाका आधारमा गर्न सकिने सबै खेती नेपालमा विस्तारै हुने क्रममा छ।
 
उद्योगको सबैभन्दा ठूलो अवरोध उर्जा, बजारको आकार, मजदुर सम्वन्ध र स्थानीय मूल्य अभिवृद्धि थियो। उदाहरणकै लागि सिमेन्ट उद्योग अबको दुर्इ वर्षमा विश्वस्तरकै हुनेछ। हामीले कुनै पनि बजारमा गएर प्रतिस्पर्धा गर्न सक्छौं। हामीले दुर्इ वर्षको अवधिमै सिमेन्ट भारत निकासी गरे आश्चर्य नमाने हुन्छ। यो किन सम्भव भयो?
 
त्यो हो अहिले उर्जाको समस्या छैन। हाम्रो चुनढुंगा भारतको भन्दा धेरै नै राम्रो छ। हाम्रो उत्पादन क्षमता पनि बढ्न थालेको छ। अर्घाखाँची सिमेन्ट तीन हजार टन क्षमताको हुँदैछ। चिनियाँ संयुक्त लगानीमा शिवम होङसी सिमेन्ट जस्तो ठूलो उद्योग आगामी केही वर्षमा आउँदैछ।

Tata
GBIME
Nepal Life

 

अर्को भनेको स्टील उद्योग हो। विदेशबाट विलेट ल्याएर अरु सबै भ्यालु एडिसन गरेर हामीले नेपालमा स्टील उत्पादन गर्छौं। नेपालमा स्टीलको लागि आवश्यक कच्चा पदार्थ उत्पादन सम्भव छैन ।फलाम खानीबाट स्टीलका लागि आवश्यक कच्चा पदार्थ निकाल्न सकिने सम्भावना अत्यन्तै न्यून छ। यो आधारमा विदेशबाट कच्चा पदार्थ ल्याएर स्टील उद्योगले राम्रो गरेको छ र अझै धेरै सम्भावना छ।
 
खाद्य प्रशोधन उद्योगमा हामीलाई अहिले सिफ्ट आवश्यक भैसकेको छ। भारतबाट खाद्यान्न आउन थालिसकेको छ। हामी आफैले हुलासबाट खाद्यान्नको प्रशोधन गरेर बजारमा पठाइरहेका छौं। तर अहिले स्थानीय उत्पादनका आधारमा क्षमता बढाउन सक्ने अवस्था छैन। हामीले भारतमा प्रशोधन गरेर ल्याए मात्रै हो नभए नेपालमा चामल नै छैन। हामीसँग यो क्षेत्रमा लिमिटेशन छ।
 
नेपालको भाइब्रेन्ट बजार भनेको अटोनै हो। मोटरसाइकलको बजार यति ठूलो भैसकेको छ की ४० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर एसेम्बल गर्न सकिन्छ। अहिले नेपालमा वार्षिक साढे दुर्इ लाख वटा मोटरसाइकलको बजार छ। साढे एक लाखको बजारमै धेरै गर्न सकिन्छ।

 

अटोमोबाइल उद्योगलाई धेरै उद्योगको 'मदर अफ अदर्स इन्डस्ट्रिज' पनि भनिन्छ। अरु धेरै उद्योगहरु स्थापना हुन्छन् र धेरैलार्इ रोजगारी समेत दिन्छ। बजार बढिसकेपछि धेरै सम्भावनाहरु खुल्दै जान्छन्।
 
हामीले व्यापार घाटाको कुरा बढी गर्छौ। व्यापार घाटा कम गर्नका लागि एउटै उपाय भनेको उर्जा उत्पादननै हो। हामीले उपभोग घटाउन सक्दैनौ र निकासी बढाउन सजिलो छैन। तर एउटा मात्रै परियोजना पञ्चेश्वरले व्यापार घाटा हटाउन सक्छ। त्यही एउटा परियोजनाले व्यापार नाफामा ल्याउन सक्छ। त्यो त एउटा मात्रै सम्भावना हो अरु यस्ता धेरै सम्भावना मैले देखेको छु।
 
अर्को सम्भावना भनेको पानी हो। हाम्रो सबैभन्दा ठूलो राष्ट्रिय स्रोत भनेको जलस्रोत नै हो। विद्युत निकाल्यौ तर पानी विश्वभर नै अभाव हुँदैछ। विश्वमा अर्को युद्ध पानीका लागि हुनेछ। अहिले हामीले पानीलार्इ बगेर खेर जान दिएका छौं। पानीलार्इ हामीले क्यापिटलाइज गर्न सक्छौं। नेपालबाट पानी बगेको होइन सुन बगिरहेको छ।
 
त्यसलार्इ कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक छ। फेरी पञ्चेश्वरकै कुरा गरौं। पञ्चेश्वरको पानी दिल्ली पुग्छ। त्यो पानीका बारेमा सोच्ने हो भने नेपालले ठूलो फाइदा लिनसक्छ। योवाहेक अरु धेरै नदीबाट हामीले फाइदा लिन सकिन्छ। तर हामीले फाइदा लिनेगरी कुनै पनि जलस्रोतको एजेण्डामा छलफल गर्न सकेका छैनौ।
 
हाम्रो पहिला रहेका कन्स्ट्रेन्टहरु हट्दै गएका छन्। राजनीतिक दलले आन्दोलन नगर्ने हो भने मुलुकको अर्थतन्त्रको भबिष्य गाउँ तहसम्म पुग्ने देखेको छु।
 

पर्यटनको कुरा गर्दा वार्षिक ६ लाख पर्यटक आउँछन्। त्रिभुवन विमानस्थल ब्लक जस्तै भैसकेको छ। अब यसको क्षमता बढाउँदा पनि आठ लाखभन्दा बढी ल्याउन सकिने अवस्था छैन। यो विमानस्थलमा एउटा मात्रै रनवे छ। म नीतिनिर्माता तहमा भएको भए आन्तरिक विमानस्थललार्इ तत्कालै त्यहाँबाट सिफ्ट गर्थें। काठमाडौंबाट नजिकै एउटा ठूलो जग्गा एक्वायर गरेर आन्तरिक विमान निर्माण गर्ने र यसलार्इ अन्तर्राष्ट्रिय मात्रै बनाउँथे। अहिले आन्तरिक एयरलाइन्स थपिने क्रममा छ।
 
आन्तरिक एयरलाइन्सकै कारण विमानस्थल भरिने क्रममा छ वाहिरको कुरै छाडौं। पार्किङ वेमै एयरलाइन्स अट्दैन, बाहिरको जहाज कहाँ राख्ने? त्रिभुवन विमानस्थल अहिले नै सबैभन्दा नराम्रो विमानस्थल भनेर विश्वभरी नै घोषित भैसकेको छ। यो अवस्थामा हामीले कसरी पर्यटक ल्याउने? मेरो छतबाट ६ वटा पाँच तारे होटल बनिरहेको देख्छु। होटलमा लगानी एग्रेसिभ छ त्यही अनुसार सरकारले पनि पर्यटन पूर्वाधार एग्रेसिभ रुपमा बनाउनुपर्छ।
 
अहिलेको सात प्रतिशतको आर्थिक बृद्धिदर कायम रहिरह्यो भने १० वर्षमा नेपालको विकास हामिले सोचेभन्दा धरै माथि जान सक्छ। हामीले हाम्रै पालामा अकल्पनिय विकास देख्न पाउँछौ।