‘श्रीमान्’ लाई नै लाग्यो न्याय पाउन ६ बर्ष, रामप्रसादको निर्णय ओमप्रकाश र मीराले उल्ट्याए

सविन ढकाल/बिजमाण्डू
२०७४ असार ८ गते १५:३९ | Jun 22, 2017
‘श्रीमान्’ लाई नै लाग्यो न्याय पाउन ६ बर्ष, रामप्रसादको निर्णय ओमप्रकाश र मीराले उल्ट्याए
काठमाडौँ। २०६७ चैत २७ गते न्याय परिषदले तत्कालीन पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीलाई सेवाबाट बर्खास्त गर्‍यो।
 

Tata
GBIME
Nepal Life

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई जिल्ला अदालत काठमाडौँमा रहदा धरौटीमा रिहा गर्ने आदेशलाई लिएर कार्कीले जागिरबाट हात धुनु पर्‍यो। जाँचबुझ समितिको प्रतिवेदन विपरीत कार्कीलाई पदबाट हटाउने निर्णय गर्ने प्रधानन्यायाधीश थिए –रामप्रसाद श्रेष्ठ।

 
भ्रस्टाचार मुद्दामा कडा नीति लिएको भन्दै प्रधानन्यायाधीशको कार्यकालमा श्रेष्ठको हाइहाई थियो। सञ्चारमाध्यमबाट समेत बलियो साथ पाएका श्रेष्ठले कार्कीलाई बर्खास्त गरे। आदेशपछि पुनरावेदन तहमा बढुवा भइसकेका कार्कीले न्यायिक लडाइँ सुरु गरे।
 
२०६८ साउन ३० गते कार्कीले सर्वोच्चमा रिट दायर गरे। ६ वर्षपछि कार्कीले बुधबार सर्वोच्चबाट न्याय पाए। अदालतले उनलाई पूर्ववत हैसियतमा पदस्थापनका लागि समेत आदेश ग¥यो।  बुधवार न्यायाधीश ओमप्रकाश मिश्र र मीरा खड्काको संयक्त इजलासले परिषदको निर्णय बदर गर्ने फैसला सुनायो।
 
फैसलापछि बिजमाण्डूसँगको कुराकानीमा अदालतले आफूलाई न्याय दिलाएको कार्कीले बताए।
 
उनले भने ‘न्याय पाएको महसुस गरेको छु। तर यति समय नलाग्नु पर्ने हो, अलिकति ढिलो भयो।’
 
६ बर्षसम्म अदालतमा मुद्धा चलिरहदा आफूलाई शारिरीक तथा मानसिक तनाब भएको कार्कीले बताए।
 
‘समय भुलाउन केही कलेजमा पढाएँ।  समय त विताउनै प¥यो। मैले कुनै गलत काम गरेको थिइन। प्रधानन्याधीशको सनकको भरमा कारबाही गरिएको थियो’ कार्की भन्छन् ‘कुनै पनि संवैधानिक निकाय प्रमुख विकेक शून्य भए भने दुःख पाइदो रहेछ।
 
के थियो विवाद
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश रहेका बेला कार्कीले अपहरण तथा शरीर बन्धक मुद्दाका दुई अभियुक्तलाई कार्कीले धरौटीमा छाडे। धरौटीमा छुट्ने अभियुक्त थिए रोहित पालीवाला अग्रवाल र भीमसेन पण्डित। धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्तहरु अर्को मुद्दामा थुनामा नै थिए। 
 
तीनै अभियुक्तले पछि भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरण समेत गरेको रहस्य खुलेपछि कार्की विवादमा तानिएका थिए।
 
बढुवा भइसकेका कार्कीको विवाद जाँचबुझका लागि न्याय परिषदले एक सदस्यीय समिति बनायो। जसका संयोजक थिए –न्यायाधीश बलराम केसी। केसीको समितिले भने कार्कीलाई एक पटकका लागि सचेत मात्र गराउने राय परिषदलाई दिएको थियो।
 
तर, प्रधानन्यायाधीश श्रेष्ठले कार्कीलाई पदमुक्त नै गरे। परिषदमा उक्त समयमा सदस्य थिए खिलराज रेग्मी, कृष्णबहादुर महरा, बासुदेव ढुङ्गाना र मोतिकाजी स्थापित। ढुङ्गाना र स्थापितको निधन भइसकेको छ।
 
भक्तमान प्रकरणको मुद्दामा कार्कीमात्र हैन, तत्कालीन न्यायाधीश रणबहादुर बम, र हरिबहादुर बस्नेत समेत जोडिए। छानविनकै क्रममा बस्नेतले राजीनामा दिए। बम र कार्कीले राजीनामा इन्कार गरे।
 
महाभियोगका लागि सिफारिस समेत भएका बम’को नैतिक प्रश्न नसकिँदै हत्या भयो। बस्नेतले राजीनामा दिए। कार्कीले बुधबार सर्वोच्चबाट सफाइ पाए।
 
तर, कार्कीलाई आफु निर्दोष रहेको सावित गराउन ६ वर्षको समय लाग्यो।
 
६ वर्षको अवधिमा उनले ३६ वटा तारेख बुझ्नुप¥यो। २१ पटक पेसीमा चढेर पनि उनको मुद्दा हेर्न नभ्याउने सूचीमा सामेल भयो।