फोहोरबाट मोहोरतिर: वालिङ नगरपालिकाले फोहोर बेचेरै पाँच लाखभन्दा बढी आम्दानी गर्यो !

रासस
२०७४ असार ८ गते १५:१२ | Jun 22, 2017

स्याङ्जा। वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहरजन्य वस्तु बिक्रीबाट चालु आवको हालसम्म पाँच लाख ५३ हजार रुपैयाँ आम्दानी भएको छ ।

Tata
GBIME
Nepal Life

फोहर व्यवस्थापनकालागि वालिङ नगरपालिकामा काम गर्दै आएको दिदीबहिनी समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीका अनुसार एक लाख ५० हजार रुपैयाँ बराबरको फोहरजन्य वस्तु बिक्री गर्ने तयारी भइरहेको छ ।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहरजन्य वस्तुको बिक्रीबाट अघिल्लो आवमा  तीन लाख ७९ हजार रुपैयाँ र गत आवमा  पाँच लाख १० हजार रुपैयाँ आम्दानी भएको थियो । फोहरको व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीमा २०७१ असोजमा चार वर्षका लागि सम्झौता भएको थियो ।

“घरघरबाट उत्पादन हुने फोहरजन्य वस्तुलाई वर्गीकरण गरी सङ्कलन गरिन्छ,” अध्यक्ष भण्डारीले भने । फोहरजन्य वस्तु उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरी बिक्री गरिन्छ । फोहरजन्य वस्तु व्यवस्थापन गर्न पाँच जनाले रोजगारी समेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि यहाँका नगरवासीलाई फोहरमैला व्यवस्थापनसम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ ।

“घरघरबाट कुहिने र नकुहिने फोहर छुट्टयाउन लगाउँछौँ,” अध्यक्ष भण्डारीले भने, “कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई खरिद गर्ने व्यवस्था मिलाउँछौँ ।” उक्त फोहरजन्य वस्तु प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्दैआएको छ ।