किशोर महर्जन: रहरै रहरमा ‘जिजी मचान’, ‘हन्ड्रेड फुट बार’ को सपना

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ असार ८ गते ११:४१ | Jun 22, 2017
किशोर महर्जन: रहरै रहरमा ‘जिजी मचान’, ‘हन्ड्रेड फुट बार’ को सपना


काठमाडौं । बैंकिङको 'मिड करियर' मा थिए किशोर महर्जन। विदेशका धेरै 'पव र बार' चहारेका उनलाई एक दिन मनमा लाग्यो-  आँफै '१०० फिट बार' खोल्ने। 
 
बैंकिङ 'ग्रुम' हुँदै गर्दा उनको करियर पनि माथि पुग्न थाल्यो। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भए। त्यसपछि सिभिल बैंक आए। योजना अधुरै रह्यो। 


 
किशोर नयाँ बैंकलाई स्थापित गर्न दिनरात काममा घोटिरहेका थिए। त्यहिबेला साथीभाइको एक समूह 'रेष्टुराँ बिजनेस' गर्न जग्गा खोजिरहेको थियो। ललितपुर, झम्सिखेलका स्थानीय किशोरसँग मूख्य सडकमै पितापुर्खाले जोडिदिएको जमिन थियो।
 
साथीहरुले उनीसँग त्यो जग्गा लिजमा मागे र अफर पनि गरे- 'जग्गा तिम्रो भएपछि तिमी पनि पार्टनरका रुपमा लगानी गर न।' १८/२० बर्षअघि 'एक दिन म पनि १०० फिट बार खोल्छु' भन्ने सपना देख्ने किशोरलाई साथीभाइको अफरले सजिलै तान्यो।
 
'मेरो सुरुदेखि हस्पिटालिटीमा रुची थियो। बार खोल्ने योजना थियो,' उनले सुनाए, 'त्यो पनि १०० फिट लामो बार।' 
 
साथीसँग रेष्टुराँमा साझेदारी गर्न उनी तयार भए। '१०० फिट लङ बार खोल्न नसकिए पनि एक दिन बनाउन सकिएला नि!' उनले भने, 'बार खोल्नुअघि रेष्टुरा आयो।'


 
बैंकिङमा ब्यस्त रहेका बेला आएको अफरलाई सजिलै स्वीकार्नुको कारण अर्को पनि छ। सँधै काममा ब्यस्त रहने पेशा। कामबाट घर जाने बेला साथीभाइसँग बसेर 'एक दुई पेग' लगाउने पनि चलि रहन्थ्यो।
 
'हप्तामा दुई चार पटक खानु नै छ भने ह्वाइ नट ह्याव अ वोन रेष्टुरेन्ट?' उनले भने, 'यसले पनि मलाई रेष्टुराँ खोल्ने अफरले तान्यो।'
 
उनको सपनाको बार पनि चानचुनै छैन। 'ड्रिङ्ग्स गर्नेहरु जति सबैलाई सेयर होल्डर बनाएर पब्लिक लिमिटेड बार योजना थियो,' उनले सुनाए, 'कुनै दिन यसले पनि पूर्ण रुप लेला।' 
 
झम्सिखेलको जग्गामा केराघारी थियो। २३ आना जग्गाको केराघारी फाँडियो। सुरुमा तीन जना साथी थिए, जसमध्ये एक जना रेष्टुराँ क्षेत्रकै थिए। उनकै आँटमा किशोर ‘नयाँ बिजनेश’मा हात हाल्न तयार भएका थिए।
 
रेष्टुराँका लागि नक्शा पास भयो। जग पनि खनियो। तर, रेष्टुराँ पृष्ठभूमि भएको साथीले हात झिके। जसको आँटमा रेष्टुराँ सुरु गर्ने भनेको हो उ नै पछि हट्दा कसरी काम गर्ने भन्नेमा अन्यौल भयो। तर, योजना अगाडि बढिसकेको थियो।  
 
'एक्स्ट्रा हबिका रुपमा रेष्टुराँ गरौं' उनले सुरुवाती दिन सम्झिए, 'ब्यावसायिक ब्यवस्थापन खोजेर अगाडि बढाउँला भन्ने भयो र खोलियो रेष्टुराँ।'


 
रेष्टुरालाई कुन कन्सेप्टमा अगाडि बढाउने त? जग्गामा हरियाली थियो। त्यसलाई नभत्काउने भनेर केरा बाहेक अरु रुख किशोरले काटेनन्। अहिले रेष्टुराँको बार रहेको कोठाको रुखसमेत काटिएको छैन। तीन वटा रुख बारभित्रबाट छानामाथि निस्किएको छन्। रेष्टुरेण्टको पूर्वाधार 'मचान स्टाइल' मा निर्माण गरियो।
 
'हरियोपना कायम राख्न  कम्पनीको नाम नै गो ग्रीन रेष्टुरेन्ट राख्यौं,' किशोरले भने- गो ग्रीन रेष्टुरेन्ट भन्दा लामो नाम भयो।' 
 
र, रेष्टुरेन्टको बोलाउने नाम जुराइयो- जिजी मचान। झम्सिखेलको ब्यस्त सडकमा जिजी मचानले अहिले फरक पहिचान बनाइ सकेको छ।
 
तीन जनाको समूहबाट एक जना बाहिरिएपछि थप तीन जना साथी खोजियो। अहिले रेष्टुरेन्टको स्वामित्व पाँच जनामा छ, यसमध्ये चार जना त बैंकरहरु नै छन्। 
 
रेष्टुरा खोलियो तर चित्तबुझ्दो भएन। पाँचै जना पार्टनरमध्ये कसैसँग पनि रेष्टुरेण्ट चलाएको अनुभव थिएन। खाली ठाउँहरु धेरै निस्किए। ब्यवस्थित रुपमा मचानको डिजाइन हुन सकेन।
 
किशोरको समूहले जिजी मचान खोल्दा पूर्वाधार एकदमै 'टिपिकल' पाराले निर्माण गरिएको थियो। छानो खरको थियो। भित्ता पनि बाँसको। 


 
तीन चार बर्षपछि मर्मतसंहार गर्नु पर्ने भयो। खरको छानो फोहोर हुँदै गयो। सुरुमा वीरगञ्जको कलैयाबाट खर ल्याएर छानो बनाइएको थियो। सुरुमा ल्याउँदा सात/आठ लाख रुपैयाँ परेको खरको भाउ चार बर्षपछि १२/१३ लाख रुपैयाँ पुगिसकेको थियो। खरको ‘मेन्टिनेन्स’ पनि गाह्रो हुँदै गयो। त्यसपछि छानो फेरेर युपिबिसी हालियो। यसो हुँदा सोलार प्यानल राख्न पनि सजिलो भयो। त्यसपछि भित्ताहरु पनि फेरियो। बाँसको भित्तोका कारण जाडोमा एकदमै चिसो हुन्थ्यो। त्यसै भित्ता फेरियो। सुरुमा खुला नै राखिएको थियो। अहिले तल्लो तला सिसा र माथि मचानको स्टाइलमा खुला छाडिएको थियो। 
 
जिजी मचानमा सुरुमा सानै लगानी थियो। तर, काम गर्दा गर्दै लगानीको आकार ठूलो भयो। सूरुमा ४० लाख रुपैयाँमा काम थाल्ने योजना थियो। गर्दै जाँदा 'कन्स्ट्रक्सन' लागत नै एक करोड रुपैयाँ पुग्यो। ‘किचेन इक्विपमेन्ट’ किन्दा ‘फिक्स्ड एसेट्स’मा नै एक करोड ६० लाख रुपैयाँ हाराहारी लगानी पुगेको उनले सुनाए। 
 
सुरुमा जेजति लगानी गरियो, त्यसपछि गोजिबाट थप पैसा हाल्नु परेको छैन। 'लगानी उठेको पनि छैन र घाटा पनि छैन,' किशोरले भने, '२६ जनाले जागिर पाएका छन्। जिजी मचान भन्ने 'ब्राण्ड नेम स्टाब्लिस्ट' भएको छ।'


 
अहिले  किशोरलाई ठाउँठाउँबाट हस्पिटालिटी बिजनेसमा हात हालेका साथीहरुले जिजी मचान शाखा खोलिदिन डाकिरहेका छन्। काठमाडौं र बाहिर दुबैतिरबाट यस्तो अफर आइरहेको छ। भर्खरै लण्डनबाट पनि जिजी मचानको मेनु राखेर रेष्टुराँ खोल्न अफर आएको छ। 
 
अफर आउने क्रमसँगै जिजी मचान फैलिन पनि थालिसकेको छ। ललितपुरको ग्वार्कोस्थित बिएण्डबी हस्पिटलमा जिजी मचानकै सहायक कम्पनी खुलिसकेको छ। सानो आकारको सहायक कम्पनीबाट कफि र स्न्याक्स बिक्री हुन्छ। 
 
यसको आकार केही गुणाले बढाउने तयारी भइरहेको छ। यस्तै कन्सेप्टमा 'हेवी ट्राफिक' भएको संस्थामा पनि जिजी मचानको आउटलेट खोल्ने तयारी भइरहेको छ। 
 
'बिएण्डबीलाई चै एउटा मोडलका रुपमा हेरिरहेका छौं। सक्सेस भएको छ,' किशोरले भने, 'कुनै कुनै दिन बिएण्डबीको सानो युनिटको बिक्री जिजी मचानलाई च्यालेन्ज गर्ने गरि हुने गरेको छ। आकार बढाएपछि त्यहाँको बिक्री थप तीन/चार गुणाले बढ्छ।'
 
जिजी मचान फैलनुको मूख्य कारण हो- त्यहाँ उपलब्ध स्वाद। 'हामीकहाँ केही निश्चित खाना छन् जसले गर्दा यही मेनुमा बाहिर पनि शाखा खोलौं न भनेर अफर आएको हो,' उनले सुनाए।
 
भेजिटेरियनका लागि 'ट्वाक्क मकै' भन्ने स्न्याक्स छ। अर्को 'पराली मसरुम' छ। ननभेजहरुले पराली मसरुमलाई 'ननभेज आइटम' नै ठान्ने स्वाद छ। किशोरको जिजी मचानमा 'झोल मम' पनि प्रख्यात छ। 
 
'भर्खरै एउटा सर्वे भएको थियो। त्यसको टप टेनमा हाम्रो मम पनि परेको छ,' उनले सुनाए, 'टप टेनमा पनि दुई नम्बरमा जिजी मचानको मम छ। कसैकसैले नम्बर एक भनेर पनि रेटिङ गरेका छन्।'
 
किशोरले जिजी मचानबाट 'अस्ट्रिच' को मासुलाई प्रमोट गरिरहेका छन्। उनी सिभिल बैंकमा हुँदा लिड बैंकका रुपमा 'अस्ट्रिच फार्मिङ' का लागि ऋण दिएका थिए। 'सायद सन्सारमा अस्ट्रिचको छोइला भन्ने हुँदैन होला। तर, हामीले यहाँ छोइला बनाएर अष्ट्रिचको मासु बेच्छौं। यो एकदमै पपुलर छ,' उनले सुनाए।


 
चिकेन सिजलर त अधिकांसले खाइरहेकै हुन्छन्। जिजी मचानमा भने अस्ट्रिचको सिजलर पनि पाउँछ। 
 
'अस्ट्रिचको मासु भन्ने वित्तिकै यसको स्पेशल क्वालिटी हुन्छ। फ्याट कम हुन्छ। ओमेगा थ्रि भएको मासु हो यो,' उनले अस्ट्रिचको मासुको गुण ब्याख्या गरे, 'खाँदा पनि दाँतमा नअड्किने मासु यही हो। मुटुको रोगीलाई कुनै पनि मासु खानु हुँदैन भनेका बेलामा समेत अस्ट्रिच भने खान हुने सुचीमा पर्छ।'
 
जिजी मचानको अर्को 'स्पेसल' खाना हो- मटन मम। 
 
'मेरो एक जना साथी यहाँको मटन ममको यति धेरै फ्यान भयो कि उसले हरेक दिन खाने, प्यकिङ लाने गर्न थाल्यो,' उनले सुनाए, 'उसले पहिलो महिनाको बिल मात्र एक लाख रुपैयाँको तिरेको छ।' 
 
६ बर्षमा उतारचढाव
रेष्टुरेण्टको आइडिया भएको साथी बाहिरिएपछि समस्या भयो। रेष्टुरा चलाउन एक जना 'सेफ' ल्याइयो। उनी इन्नोभेटिभ सेफ थिए। खाना त एकदमै मिठो बनाउने तर लागतले डाँडो कटाइदिने। 
 
५०० रुपैयाँको खाना बनायो भने उनले त्यसमा १००० रुपैयाँको 'मटेरियल' प्रयोग गरिदिन्थे। खाने 'इन्ग्रिडियन' त २०० रुपैयाँको हुन्थ्यो तर धेरै खेर जान्थ्यो। १५ एमएल वाइन चाहिने खानामा एक बोतल वाइन खोलेर १५ एमएल हाल्ने अनि बाँकी वाइन कहाँ जान्छ भन्ने पत्तो हुँदैन थियो। 


 
एक डेढ बर्ष यसरी नै बित्यो। त्यसपछि ती सेफ हटे। तर, उनका कतिपय डिस जिजी मचानको मेनुमा अहिले पनि छन्। त्यसपछि अर्को सेफ ल्याइयो। फेरि पनि हिसाबकिताव बलियो भएन। उनी पनि निस्किए। 
 
त्यसपछि भूकम्प गयो। करिव एक महिना रेष्टुरेन्ट बन्द भयो। 
 
त्यसपछि किशोरकी श्रीमती सृजनाले 'म्यानेजमेन्ट टेक अफ' गरिन्। त्यसयताका दुई बर्ष उनैले रेष्टुराँ हाँकी रहेकी छिन्।
 
'त्यसपछि हामीले यहाँ म्यासिभ रिनोभेसन गर्यौं। त्यसमा ३५ लाख रुपैयाँ खर्च भयो। जबकी यति पैसामा त नयाँ रेष्टुराँ सेटअप नै हुन सक्छ,' किशोरले अनुभव सुनाए। रिनोभेसन गर्दा किचनलाई ठूलो पारियो। रेष्टुराँको ग्राहक क्षमता पनि विस्तार भयो। अहिले त्यहाँ एकै पटक १२० ग्राहक अट्छन्। बारमा सजिलै १३ जनासम्म अट्छन्। ‘मिलेर बस्दा बारमा २० जनासम्म अटिन्छ’ उनले भने। 
 
बैंकको ब्यवस्थापन नेतृत्व गरेर बसेका किशोरलाई रेष्टुरेण्टको ब्यवस्थापन चलाउनु निक्कै फरक लाग्छ। 
 
'रेष्टुरेण्टमा अलिकति छुच्चो पनि हुनु पर्ने रहेछ, बैंकमा भन्दा यहाँ हायर एण्ड फायर चाहिँ अलिक चाँडो लागू गर्ने क्षमता चाहिने रहेछ,' उनले भने, 'हायर एण्ड फायर बैंकमा तत्कालै नगरे पनि हुन्छ। तर, रेष्टुरेण्टमा त्यो गरिएन भने गुमाउने सम्भावना वढि हुन्छ।' 
 
किशोर महर्जन अहिलेसम्म हजारौं रेष्टुरेण्टमा गएका छन्। हजारौं खाना चाखेका छन्। फरक फरक हस्पिटालिटीको अनुभव लिएका छन्। कति मन पराए, कति मन पराएनन्। तर उनलाई हस्पिटालिटीमा चार वटा कुरा महत्वपूर्ण लाग्छ।
 
'कुनै पनि रेष्टुरामा जाँदा पहिलो त तत्काल सेवा उपलब्ध हुनु पर्छ,' उनले भने, 'अनि हेल्थ हाइजिन, खानाको गुणस्तर र त्यसको कन्सिस्टेन्सी आवश्यक हुन्छ। र अन्त्यमा खानाको प्रिजेन्टेसन महत्वपूर्ण हुन्छ।' 


 
‘खाना, गुणस्तर, सेवा र सजावट हेरेर नै त्यसको 'कस्ट' को कुरा आउँछ, उनले थपे, 'म यी कुरामा ध्यान दिन्छु। र, म आफ्नो रेष्टुराँमा त झन् बढि ख्याल गर्छु।'
 
जिजी मचानमा सबै पार्टनरहरुले पैसा तिरेरै खान्छन्। उनीहरुले खाँदा अलिक बढि डिस्काउन्ट त हुन्छ,  तर पैसा तिरेर खाने भएकाले क्वान्टिटी, प्रिजेन्टेसन, टेष्टको कन्सिस्टेन्सी, ग्राहकलाई गरिने ब्यवहारलाई उनीहरु पनि 'बाहिरिया' भएरै अनुगमन गर्छन्। 
 
'ग्राहकलाई जसरी सेवा दिइन्छ हामीलाई पनि त्यसरी नै दिइन्छ र हामीलाई जस्तो गरिन्छ ग्राहकलाई पनि त्यही अनुसार गर्नु पर्छ,' उनले बिजिनेस मन्त्र सुनाए। 

Tata
GBIME
Nepal Life