अब सञ्यच कोषबाट पेन्सन पनि, कोरियाको नेशनल पेन्सन सर्भिसबाट प्राविधिक सहयोग लिने

बिजमाण्डू
२०७४ असार ७ गते १४:०० | Jun 21, 2017

काठमाडौं । कर्मचारी सञ्चय कोषले अब पेन्सन सेवा पनि सुरु गर्ने भएको छ। सञ्चय कोष ऐनको पछिल्लो संशोधनले अवसर दिएसँगै पेन्सन सेवा सुरु गर्ने तयारी कोषले गरेको हो।

Tata
GBIME
Nepal Life

पेन्सन सेवा सुरु गर्न कोषले कोरियाले नेशनल पेन्सन सर्भिस (एनपिएस)सँग सम्झौता समेत गरेको छ। एनपिएसले पेन्सन सेवा सञ्चालनका लागि निशुल्क प्राविधिक सेवा दिने भएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले जानकारी दिए।

आचार्य अर्थ मन्त्रालयका सह सचिव गणेश ढकाल लगायतको टोली गत साता कोरिया गएर एनपिएससँग सम्झौता गरेर आएको हो। कोरिया सरकारको समेत लगानी रहेको स्वायत्त संस्था एनपिएस विश्वको पाँचौँ ठूलो पेन्सन सेवा प्रदायक हो।

३० बर्ष अघि स्थापना भएको एनपिएस स्थापनाकाल देखिका विज्ञ सम्मिलित टोली पठाएर सञ्चय कोषको सूचना प्रविधि देखि कर्मचारीको क्षमता अभिबृद्धिसम्म सहयोग गर्न तयार रहेको आचार्यले जानकारी दिए। ‘पेन्सन हाम्रो लागि नयाँ क्षेत्र भए पनि सुरुवातमा सञ्चय कोषको काम र पेन्सन मिल्दो जुल्दो नै हुन्छ। सुरुमा सञ्चयकर्ता या पेन्सन होल्डरबाट रकम संकलन हुने हो, उनले भने-  उत्तरार्धमा भने सञ्चय कोष एकमुष्ट भुक्तानी गरिन्छ, पेन्सन समान दरले मासिक रुपमा उपलब्ध गराउनु पर्ने हुन्छ।’ पेन्सन वितरणका लागि आवश्यक सिष्टम विकास गर्न एनपिएसको सहयोग महत्वपुर्ण हुने उनको भनाइ छ।

सरकारले आगामी साउन १ गतेबाट भर्ना हुने कर्मचारीलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने घोषणा गरि सकेको छ। त्यसका लागि आफूहरुलाई जिम्मा दिए काम सुरु गर्न तयार रहेको कोष प्रशासक आचार्यले बताए। ‘सुरुमै सञ्चयकोषकै ढाँचामा रकम संकलन र लगानी गर्ने हो, उनले भने- तत्काल कसैलाई पेन्सन दिनु पर्ने हुँदैन र ५/६ बर्ष भित्र पेन्सन वितरणको चुस्‍त ढाँचा तयार भइसक्छ।’

सरकारले आफ्ना कर्मचारीलाई योगदानमा आधारित पेन्सनको जिम्मा दिए/नदिए जे गरे पनि निजी क्षेत्रका लागि पेन्सन स्किम चाँडै सुरु गर्ने सञ्चय कोषको तयारी छ। त्यसका लागि हरेक महिना निजी क्षेत्रको कर्मचारीले रकम जम्मा गर्दै जाने र निश्चित समय पछि तोकिएको ढाँचामा कोषले पेन्सन उपलब्ध गराउन थाल्नेछ। अधिकांश विकसित देशमा पनि यही प्रणाली लागु भएको छ। कोरियाको एनपिएसले पनि ३० बर्ष अघि यहि प्रणाली सुरु गरेको थियो। अहिले त्यहाँको निजी क्षेत्रमा कार्यरत ठूलो हिस्सा एनपिएसमा आवद्ध छन्। कतिपय पेन्सन होल्डरले मासिक रकम बुझ्न पनि थालेका छन्।

सामाजिक सुरक्षा एक्सचेञ्जको संभावना
कोरियामा कार्यरत नेपाली र कोरियामा कार्यरत कोरियालीलाई स्थानीय नीति नियम अनुसार सामाजिक सुरक्षा प्रदान गर्ने बारे समेत कोष र एनपिएसबीच छलफल भएको छ। तर, यसका लागि कानुनी आधार तयार भइ नसकेको हुँदा ठोस टुङ्गो भने लागेको छैन।

यस सम्बन्धि कानुन बने कोरियामा कार्यरत नेपालीहरुले त्यहाँको सामाजिक सुरक्षा नीति अनुरुप सेवा सुविधा पाउनेछन्। साथै नेपालले पनि यहाँ कार्यरत कोरियाली नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु पर्ने हुन्छ।

नेपालमा कार्यरत कोरियालीको तुलनामा कोरियामा काम गर्ने नेपाली संख्या ठूलो रहेको हुँदा यो प्रावधान लागु भए नेपाललाई नै फाइदा हुने आचार्यको भनाइ छ।

 
वैदेशिक रोजगारीमा गएकालाई सञ्चयकोषमा आवद्ध गराइने
वैदेशिक रोजगारीमा गएका नेपालीलाई सञ्चय कोषमा आवद्ध गराउनेबारे पनि कोषले ठोस छलफल सुरु गरेको छ। यसको सुरुवात कोरियाबाट नै गर्ने गरि त्यहाँ स्थित नेपाली राजदूत अर्जुनबहादुर सिंहसँग छलफल भएको आचार्यले जानकारी दिए।

कोषले श्रम सहचारीसँग समन्वय गर्ने गरि एक जना कर्मचारीले राजदूताबासमा राख्ने र उसले त्यहाँ कार्यरत सबै नेपालीलाई सञ्यचकोषको दायरामा समेट्ने मोडालिटीबारे छलफल भएको हो। जसमा कोरियामा कार्यरत नेपालीले आफ्नो तलवबाट मासिक निश्चित रकम सञ्चयकोषको खातामा पठाउन सहमति जनाउनेछन्। दूतावासले तयार गरेको फर्म भरेर रोजगारदातालाई उपलब्ध गराएपछि उसले सोझै तलवबाट उक्त रकम कोषको खातामा जम्मा गराइदिनेछ।

यसो भएमा विदेशमा बस्ने नेपालीहरुको लगानीबाट कोषले कुनै बृहत परियोजना निर्माण गर्न सक्ने आचार्यको भनाइ छ। विदेशमा कार्यरत नेपालीले कोषमा रकम जम्मा गर्न थाले बैंकिङ च्यानलबाट भित्रिने रेमिट्यान्सको मात्रा पनि बढ्ने उनी बताउँछन्।

‘विदेशमा बस्ने नेपालीको रकम संकलन गर्नेबारे कोषले नियमावली पारित गरि सरकारबाट स्वीकृत गराए समन्वयका लागि तयार रहेको राजदूत ज्यूले बताउनु भएको छ, आचार्यले भने- अब छिटै हामी यो प्रकृया अघि बढाउँछौँ।’