उपत्यकाभित्र ‘स्मार्ट सिटी’ बनाउने जमीनमा कित्ताकाट केही खुकुलो, सडक बिस्तार फेरि सुरु हुने

बिजमाण्डू
२०७४ असार ६ गते १४:३४ | Jun 20, 2017

काठमाडौं। उपत्यका विकास प्राधिकरणले नयाँ शहर निर्माणकालागि कित्ताकाट रोकिएको उपत्यकाको १ लाख ३० हजार रोपनी जमीनमा कित्ताकाट गर्न केही खुकुलो बनाएको छ। दाजुभाइका बीचमा नगरपालिकाको सिफारिसमा  अंश वण्डा गर्न मिल्ने गरी प्राधिकरणले नियम केही खुकुलो बनाएको हो।

Tata
GBIME
Nepal Life

यसैगरी अन्य ठाँउमा घडेरी नभएका र ती ठाउँमा मात्र जमीन भएका भुकम्पपीडितले पनि त्यस क्षेत्रमा घर बनाउन पाउने निर्णय भएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले जानकारी दिए। उनका अनुसार अब उपत्यकाका बिभिन्न स्थानमा रोकिएको सडक बिस्तारको कामले पनि गति लिने देखिएको छ ।
बिभिन्न किसिमका विवादका कारण अघि बढ्न नसकेको उपत्यकाको सडक विस्तार अब द्रुत गतिमा अघि बढ्ने पनि आयुक्त तिवारीले बताएका छन्।

लामो समयदेखि मुआब्जामा कुरा नमिल्दा अड्किएको १ सय ५० किलोमिटर सडक निर्माणको काम तत्काल अघि बढ्ने भएको हो।

प्रवक्ता तिवारीले उपत्यकाका सडक विस्तामा बिभिन्न नगरपालिकाका मेयरहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले काम छिट्टै सुरु हुने जानकारी दिए। 

सोमबार राजधानीमा उपत्यका विकास प्राधिकरणले गरेको अन्तरक्रियामा नगरपालिकाका मेयरहरुले उचित मुआब्जा दिएर सडक विस्तारमा खुलेर सहयोगको आश्वासन दिएका थिए।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले लामो समयदेखि विवादमा रहेको चाबहिल-साँखु सडक विस्तारमा उचित मुआब्जा दिए विस्तार नरोकिने बताए। उनले प्राधिकरणले सडकमा परेका घरहरु भत्काउनै नपुग्ने गरी मुआब्जा दिएको भन्दै आपत्ति समेत जनाए। उनले जोरपाटी-सुन्दरीजल सडक विस्तारमा पनि कुनै अवरोध नहुने बताए।

बौद्ध जोरपाटीको सडक तत्काल निर्माण गर्न शङखरापुर, गोकर्णेश्वर र कागेश्वरी मनहरा नगरपालिकाका मेयरले आग्रह समेत गरे। विश्व सम्पदा सूचीमा परेको बौद्ध क्षेत्रको सडक मानवमैत्री नभएको उनीहरुले बताएका छन्। यसलाइ तत्काल निर्माण गर्न आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

यस्तै गोदावरी नगरपालिकाका मेयर राजेन्द्र शर्माले पनि उचित मुआब्जा दिन प्राधिकरणलार्इ आग्रह गरे। सातदोबाटो गोदावरी लगायतका सडक विस्तारमा आफूले सक्दो सहयोग गर्ने उनले बताए। शङखरापुर नगरपालिकाका सुवर्ण श्रेष्ठले पनि सडक विस्तारका लागि उचित सहयोग गर्ने बताए। आफुहरु विकासकै लागि जननिर्वाचित भएर आएकाले न्यायोचित विकासमा सहयोग गर्ने उनको भनाइ छ।

टोखा नगरपालिकाका मेयरले पनि बुढानिलकण्ठ-टोखा सडक विस्तारमा सहयोग गर्ने बताए । घर पनि भत्किनु तर घर भत्काउन लाग्ने ज्याला पुग्ने पैसा नि मुआब्जामा नपाउनुका कारण स्थानीयहरु आक्रोशित भएको उनको ठम्याइ छ।आ-आफ्नो नगरपालिका वरिपरिका सडकहरु विस्तारमा सहयोग गर्ने प्रतिबद्धता आएसंगै उपत्यकाको सडक विस्तार अघि बढ्ने भएको हो।  

उपत्यका सडक विस्तार आयोजनाले दिएको जानकारी अनुसार चावहिल-जोरपाटी-साँखु, त्रिपुरेश्वर-कलंकी-नागढुङगा, सातदोबाटो-गोदावरी, इमाडोल-सिद्धिपुर-गोदावरी, लगनखेल-सातदोबाटो, ढोलिहिटी-सुनकोठी-चापागाँउ, जोरपाटी-सुन्दरीजल लगायतका थुप्रै सडकमा मुआब्जाकै कारण बिबाद देखिएको थियो। त्यसैले सडक बिस्तारको काम लामो समयदेखि अघि बढ्न सकेको थिएन।

उपत्यकामा अहिले ३ सय ३० किलोमिटर सडक विस्तार भैसकेको छ। भने १ सय ५० किलोमिटर सडक विस्तार हुन बाँकी छ।