ब्रोकर लाइसेन्सका लागि बैंकरले पनि लबिङ थाले, बोर्डले फेरि भन्यो- ७५ जिल्लामै दोस्रो बजार

बिजमाण्डू
२०७४ असार ५ गते १७:०४ | Jun 19, 2017
ब्रोकर लाइसेन्सका लागि बैंकरले पनि लबिङ थाले, बोर्डले फेरि भन्यो- ७५ जिल्लामै दोस्रो बजार


काठमाडौं। नेपाल धितोपत्र वोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन ब्यवस्था मिलाउनका लागि समन्वयकारी भूमिका खेलिदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ।
 
आफ्नो बैंक खाता रहेको बैंकबाट प्राथमिक सेयर भर्न पाइने ब्यवस्था (आस्वा) लागू भएपछि ७५ जिल्लाकै लगानीकर्ताको पहुँच सेयर बजारमा पुगेको भन्दै दोस्रो बजारमा पनि पहुँच पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्ने बोर्डको तर्क छ।
 
आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि सुझाव माग्न राष्ट्र बैकले निम्त्याएपछि बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि राष्ट्र बैंकले नीतिगत ब्यवस्था गरिदिन माग गरेको हो।
 
बोर्डका तर्फबाट कार्यकारी निर्देशक परिष्ट पौडेलले अहिले आस्वाले प्राथमिक सेयरमा सर्वसाधारणको पहुँच पुगेको भन्दै बैंकले लाइसेन्स पाएपछि दोस्रो बजारमा पनि पहुँच पुग्ने तर्क दिए।
 
'बैंक तथा वित्तीय संस्था ७५ वटै जिल्लामा पुगेका छन्' उनले भने, 'बैंकलाई लाइसेन्स दिँदा उनीहरुमार्फत सर्वसाधारणले आफू बसेको ठाउँबाट दोस्रो बजारको कारोबार पनि गर्न पाउँछन्।'
 
बैंकर्स संघले पनि 'इन्ष्टिच्युँसन ब्रोकरेज' खुलाइ दिन माग गरेको छ। संघका तर्फबाट सुझाव दिँदै उपाध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, 'बैंकले ब्रोकरेज पाउँदा सर्वसाधारणलाई सेवा लिन सहज हुन्छ।'

Tata
GBIME
Nepal Life