काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ विपी चोकमा बावुराम कार्कीले सञ्चालन गरेको 'ओम कृषि फर्म'मा शनिबार अनायस आगलागी भयो। परिणाम यति अत्यासलाग्दो निस्क्यो की ६० भन्दा धेरै गाई मरे। शनिवार बिहान करिब ११ बजे विद्युत सर्ट भई लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आउँदा यो सत्यनाश भइ सकेको थियो।
आगलागीबाट गाईको दाना, एउटा जेनेरेटर र गाई बस्ने टहरा समेत जले। फार्ममा ७५ दुहुना, २२ ब्याउने र बाच्छाबाच्छी समेत गरि १२२ गाई थिए। आगलागीबाट घाइते भएका गाईको अहिले उपचार चलि रहेको छ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक रहेका कार्कीले गौपालनका लागि २२० फिट लम्बाई र ४० फिट चौडाईको गोठ बनाएका थिए। चार बर्ष अघि भक्तपुरको खरिपाटीमा स्थापना गरि गाई पाल्न थालेका उनी छ महिना अघि मात्र सुन्दरीजल सरेका थिए।
खरिपाटीमा झन्डै ४० लाख रुपैयाँ घाटा भएपछि सुन्दरीजल सरेको उनले बताए। जहाँ त झन् छ महिनामा सबै सत्यनाश भयो।
यसरी भयो घटना
सञ्चालक कार्की सँधै विहानको खाना खाएर एकपटक फार्मको घुमेर मात्र आराम गर्थे। तर शनिवार उनलाई अलि थकाई लाग्यो र आछ्यानमा पल्टिए। एकैछिनमा निदाएछन्। निन्द्रामै होहल्लाको आवाज सुनेपछि ब्युँझिए। यसो हेर्छन् त अगाडि रहेको लैना र व्याउन लागेका गाई बाधेको गोठ दन्दनी बलि रहेको छ। दाम्लोमा बाँधिएका गाँई आगोको रापमा ड्वाँ ड्वाँ गराई रहेछन्। स-साना बाछाबाछीहरु भाग्ने उपाय नपाएर छट्पाउँदैछन्।
आगो दन्किएपछि काम गर्ने सबैजना आत्तिएर भागे। उनी आफु पनि के गर्ने भनेर निकैबेर अलमल परे। मनमा झल्याँस्स भयो- घाँस काट्ने हँसिया भेटिए त मैले गाई बाँधेको दाम्लो काट्न पाउथेँ। उनी खोज्न थाले तर तर कहिँ भेटेनन्। 'आत्तिएको बेला सँगै रहेको र नियमित रुपमा चलाउने हतियार पनि भेटिँदो रहेनछ, उनी भन्छन्- आफ्नै अगाडि त्यत्रो २० हजार लिटरको पानी ट्याँक्की भरी थियो त्यसलाई पनि उपयोग गर्न सकिनँ।'
एकछिनमा छिमेकी सहित वरपरबाट मान्छे त आए तर कसैले केहि गर्न सक्ने अवस्था रहेन। आगोको दन्कोमा परेका गाई बचाउन कसैले सकेनन्। पछि उनी आफैँले एउटा हँसिया भेट्टाए र तीनवटा गाईको दाम्लो काट्न भ्याए।
प्रारम्भिक चरणको अनुसन्धान गर्दा त्यहाँ बिजुलिको तारमा करेन्ट सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ। तर त्यसको स्वतन्त्र पुष्टि अझै हुन सकेको छैन। सँधै आफू खाना खाएर एकपटक घुमेपछि कामदारलाई हेरिराख है भनेर मात्र सुत्ने कार्कीको ज्यानमा शनिबार आएको आलश्य उनका लागि जीवनकै ठूलो अफशोस बनेको छ।
यस्तो थियो विभत्स दृश्य
'फार्ममा आगो लागेपछि निभाउन कसैले आँट गरेन। म अताल्लिएर घरि यता घरि उता घुम्दै गरेँ। फार्ममा गाइहरु ड्वाँ ड्वाँ कराइरहे। तर आगोको दन्कोबाट बाहिर निकाल्न सकै पनि आँट समेत गर्न सकेन। जलेर मर्ने मध्ये आधा गाइ दुहुना थिए। उनीहरुका तीन दिनदेखी ६ महिनासम्मका बाच्छा थिए। र, आधाजति गाइ आज भोलिदेखि दुई महिनाभित्र व्याउने अवस्थाका थिए।
व्याएका गाईहरुलाई त त्यति पिडा भएन होला तर ति व्याउने तरखरमा रहेका गाईहरु आगोको मुस्लो भित्र जलेर ग्वाँ ग्वाँ कराउँदा तिनीहरुलाई के भयो होला, आँशु पुछ्दै कार्की ले भने। जीवनमा पहिलोपटक गर्भिणी गाईको पेटवाट आगोले पिल्सिएका वाच्छा पाँच मिटरजति पर उछिट्टिउको देखे उनले। जुन दृश्यले अहिले पनि उनलाई हर बखत रुवाइ रहन्छ।
हेर्दाहेर्दै धेरैजसो गाई आगोले सुकुटी जस्तै भए र मेर। कुनै कुनै गाई आगोले दाम्लो डढेपछि पर मकैवारिमा समेत पुगेका रहेछन्त। विहान नेपाली सेनाले भेट्टाएर ल्याएर गाडिदिए। अझै एउटा गाई पुरै सुकुटिजस्तो हालतमा छ। मरेको छैन। त्यसालई घामवाट जोगाउन जस्ताले छोपिदिएका छन् कार्कीले। शनिवार नै तीनवटा स्काभेटर ल्याएर धेरै गाईलाई यहि फार्मको छेउमा पुरिएको छ। अब उनीसँग दाम्लो छिनाएका तीनै तीनवटा गाई मात्र दूध दिन सक्ने अवस्थामा छन्।
'यति दुख गरेँ कि अहिले सम्झिदा लाग्छ मेरो भाग्यले लिमिटमा मात्र प्राप्ति गर्न लेखेको रहेछ, उनले सुनाए- खरिपाटिवाट सुन्दरिजल सारेपछि यति छिटो ग्रोइङ भयो की केहि महिनाभित्र उपत्यकाको एउटा क्षेत्रलाई पुग्ने दुध उत्पादन गर्न सक्ने भएको थिएँ।' पछिल्लो दुई महिना उनको आम्दानी मासिक १० लाख रुपैयाँको दरले भएको थियो।
'नेपाली सेनाले समयमा एक्सन लिएको भए धेरै क्षति हुँदैनथ्यो'
फार्म रहेको स्थानभन्दा ५० मिटरभन्दा नजिकै नेपाली सेनाको व्यारेक रहेको छ। सुरुमा आगलागी के कारणले लाग्यो भन्ने थाहा नहुँदा अन्यौल सृजना भयो। सवै जना आत्तिएर भागे। नजिकै रहेको नेपाली सेनाको व्यारेकवाट समयमा नै आगो निभाउनका लागि जनशक्ति खटिएको भए क्षति कम हुन सक्ने कार्कीको आँकलन छ। त्यहाँ रहेको सेनाका जवानहरु आगलागि भएको करिब १५ मिनेटपछिमात्र उद्धारका लागि पुगेका थिए।
घटना हुने वित्तिकै नजिकै रहेका छिमेकीले दमकललाई बोलाएपनि दमकल दुईघण्टाभन्दा पछि पुगेको उनले बताए। 'नजिकै दमकल पनि उपलब्ध छैन र जुद्धवारुणयन्त्रबाट आइपुग्न समय पनि लागेको हुनसक्छ, उनले भने- आगो यसरी सल्कियो की मानौँ सुख्खा याममा भिरमा डढेलो लागिरहेको छ।'
अढाइ करोड क्षति
कार्कीले २०६९ सालमा ओम कृषि फार्मका नाममा यो व्यवसायमा हात हालेका थिए। क्रमशः विस्तार हुँदै गएकोमा व्यवसाया पछिल्लो समय चार करोड रुपैँ लगानी पुगेको थियो। सुन्दरीजल सरेपछि कामले राम्रै ट्रयाक समातेमा उत्साहित थिए। थप लगानी गरेर अझै गाईको संख्या बढाउने सोचमा थिए उनी।
विभिन्न सहकारी र बैङ्कसँग थप लगानीका लागि कुराकानी भइ रहेको थियो। जनता बैङ्कसँग यहि साउनदेखि थप ऋण लगानीका गर्न कुराकानी अन्तिम चरणमा पुगेको थियो। तर, हिजो दुई घण्टा आफ्नै आँखा अगाडी मञ्चन भएको नाटक जस्तो दृश्यले सबै सपना खोलै खोला बनाइदिएको छ। अब के गर्ने भनेर अझै उनले सोच्न सकेका छैनन्।
झन्डै चार बर्ष खरिपाटीमा घाटा खाएपछि सुन्दरीजल सर्ने वित्तिकै उनले आफुलाई फापेको अनुभव गरेका थिए। माघदेखि फागुनसम्म दैनिक पाँचहजार नाफा कमाएका उनी बैसाख यता महिनाको करिव १० लाख रुपैयाँ आम्दानी भएपछि झन् उत्साहित थिए। 'दशाले हो की भाग्य नै यस्तै हो एकै दिनमा अहिलेसम्म जिन्सी कमाएको करिब साँढे दुई करोड रुपैयाँ दुई घण्टा नष्ट भयो' उनले भने।
फर्ममा १० टनभन्दा धेरै गाईको दाना थियो। सँगै दानामा मिलाएर खुवाउने भिटामिन लगायत अन्य धेरै औषधि पनि थिए। ति सबै जलेर नष्ट भए। फार्मको निर्माणका लागि प्रयोग गरिएका फलामका डन्डीबाहेक अरु केहि बचेको छैन। सबै अँगार र खरानी बनेको छ।
गाईको मात्र इन्योरेन्स
उनीसँग हिजोसम्म उनको गोठमा १२२ वटा गाई थिए। ति मध्ये कति मरे अझैसम्म गन्न हिम्मत जुटाएका छैनन्।
सबैको इन्स्योरेन्स पनि गरेका थिएनन्। युनाइटेड इन्स्योरेन्सबाट लैना र दुहुना गाईको इन्स्योरेन्स गराएका थिए। घटना भएको थाहा पाएपछि शनिवार नै बीमा कम्पनीका कर्मचारी फार्म अवलोकन गर्न पुगेका र प्रारम्भिक रिपोर्ट लिएर फर्केको उनले बताए।
गाईको इन्स्योरेन्स गरे पनि गोठ लगायत फार्मको बीमा छैन। त्यसैले व्यवसायलाई फेरि कसरी ब्युँताउने भनेर समेत उनले सोच्न भ्याएका छैनन्। 'ऋण लिएर चलाएको व्यवसायले विस्तारै गति लिँदा ब्याज केही घट्दै थियो, भाग्यले यसरी धोका दियो की जब लागत उठ्ने तरखरबाट नाफाको पैसा देख्न खोज्दैथिएँ, एक्कासी शुन्यमा आइपुग्नुपर्यो' उनले पिडा सुनाए।
गाउँले पहिचानले किसानी तिर मोह
पेशाले विश्वविद्यालयको उप-प्राध्यापक रहे पनि गाउँमा दूध खाएको बानीले उनलाई काठमाडौंमा पनि एउटा गाई पाल्ने रहर पलायो। एउटा गाई ल्याएपछि विस्तारै यसलाई व्यवसायीक रुप दिने रहर पलायो। त्यसपछि भक्तपुरमा पाँचवटा गाईवाट गौपालन सुरु गरे। अध्यापनबाट बचेको समय गाईकै थलो भकारोमा दिन थाले।
त्यसपछि विस्तारै गाई थप गर्दै गए र अहिलेको अवस्थामा पुगे। अहिलेको उनको कृषि फार्म ५० रोपनी क्षेत्रफलमा फैलिएको छ।
'युनिभर्सिटिमा पढाउनु मेरो कर्तब्य थियो, गाईफर्म सञ्चालन गरेपछि म दैनिक किर्तिपुरजाँदा मोटरसाइकलको दुवैतर्फ दुधको क्यान राखेर बाटोमा दुध दिँदै जान्थेँ र फर्किदा त्यो क्यान लिएर आउँथेँ' उनले सुनाए।
उनले अहिले उनको फार्ममा मासिक औषत २० हजार तलब बुझ्ने १५ जनाले प्रत्यक्ष र अन्य केहिले अप्रत्यक्ष रोजगारी पाएका थिए। विहानैदेखी काम गर्नुपर्ने भएका कारण उनीहरुलाई फार्ममै खाने बस्ने व्यवस्था मिलाएका थिए कार्कीले। 'मेरो त यस्तै भइगयो, म सँग आश्रित रहेका यी १५ जनालाई के विकल्प दिने हो सोचिरहन सकेको छैन' उनी भन्छन्।
क्याविनेटमा प्रस्ताव लगिदिने सचिवको आश्वासन
घटना घटेको भोलिपल्ट (आइतबार) पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी कार्कीको गाई फार्ममा पुगेका थिए। घटनाको विस्तृत अवलोकन र क्षतिको अवस्था हेरेपछि सचिव जिसीले जतिसक्दो चाँडो क्षतिपूर्तीका लागि क्याविनेटमा प्रस्ताव लैजाने आश्वासन दिएको उनले बताए।
सरकारले आफुजस्तै अफ्ठ्यारोमा परेका किसानीलाई भैपरी कोषबाट अथवा केहि वैकल्पिक व्यवस्था गरि राहत दिने व्यवस्था मिलाए कृषि पेशामा लागेकाहरुलाई हौसला मिल्ने उनको भनाइ छ।
सचिवको आश्वासन अनुसार क्षतीको केहि रकम सरकारले उपलब्ध गराइदिए यो फार्मलाई पुनः सञ्चालन गर्न सक्ने थोरै आश उनको मनमा अझै पनि छ। अढाई करोड हाराहारी ऋण तिर्न बाँकी रहेको हुँदा व्यवसाय ब्युँताउनु उनका लागि बाध्यता पनि छ। सरकारले गाई गोठ निर्माणका लागि केही राहत दिए फेरि फार्म सञ्चालनमा ल्याउन सक्ने सोच उनको मनमा बेला बेला पलाउँछ। तर, जब आगोले अर्धकल्चो डढेका गाई तर्फ आँखा पुर्याउँछन् उनमा भक्कानो छुटीहाल्छ। 'मलाई त्यो ठाँउँ हेर्न पनि मन छैन त्यहाँ गयो की मुर्छा परिहाल्छु, आँखाबाट आँशुका ढिक्का चुहाउँदै भने।