स्वदेशी लघुवित्तले बाँडफाँडमा नपरेकाको पैसा फिर्ता गर्दै, आस्वा आवेदकको खातामा आजै जम्मा हुने

बिजमाण्डू
२०७४ जेठ १२ गते १४:५७ | May 26, 2017

काठमाडौँ । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँडमा नपरेका आवेदनकर्ताको पैसा शुक्रबारदेखि फिर्ता गरिँदै छ । आस्वा आवेदकको आजै बैंकमा रकमान्तर हुने एनएमबि क्यापिटलले जनाएको छ ।

Tata
GBIME
Nepal Life

यसैगरी २४ बैंकका खाता बाहकको खातामा सोझै रकम पठाइएको पनि क्यापिटलले जानकारी दिएको छ । बाँकीले भने आफुले आवेदन बुझाएको संकलन केन्द्रबाट चेक बुझ्न सक्ने छन् ।           

स्वदेशी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण शेयर गएको आइतबार बाँडफाँड गरेको थियो । कम्पनीको शेयरमा ११२० कित्तासम्मकालागि आवेदन गर्नेहरुले गोलाप्रथाबाट बाँडफाँड शेयर पाएका थिए । उनीहरुले १० कित्तासम्म शेयर पाएका हुन् ।
 
यसभन्दा बढि कित्तामा आवेदन दिनेहरुले १०, ११ र १२ कित्ताका दरले शेयर पाएका थिए । १२ कित्ताभन्दा भन्दा बढी शेयर कसैले पाएनन्।
 कम्पनीले दुई करोड ७३ लाख रुपैयाँ बराबरको दुई लाख ७३ हजार कित्ता शेयर निष्कासन गरेको थियो। यसमा करिब  तीन अर्ब रुपैयाँ  बराबरको आवेदन परेको थियो।

कम्पनीको शेयरमा आस्वामार्फत एक अर्ब ६ करोड रुपैयाँ र पुरानै शैलीमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। ८१ हजार आवेदकमध्ये २३ हजार ६ सय ५७ आस्वा र ५७ हजार तीन सय पुरानैशैलीमा आवेदन दिएका थिए। कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरका शेयर चैत २५ देखि २९ सम्म निष्कासन गरेको थियो।