महानगरमा थपिँदैछन् ठूला बस, सुविधाजनक बसले साना गाडी बिस्थापन, सरकारी थप सय बस

बिजमाण्डू
२०७४ जेठ ११ गते १०:२२ | May 25, 2017
महानगरमा थपिँदैछन् ठूला बस, सुविधाजनक बसले साना गाडी बिस्थापन, सरकारी थप सय बस


काठमाडौं। राजधानीका आम मानिसको दैनिकी हो सास पनि फेर्न नसक्ने गरी कोचिएर यात्रा गर्नु। तर अब यो बाध्यताबाट बिस्तारै मुक्ति पाउने बिकल्पहरु तयार भैरहेका छन्। राजधानीमा धेरै यातायात सेवाहरुले ठूला ठूला बसहरु भित्र्याएकाले दैनिकी सहज हुँदै गएको छ।

Tata
GBIME
Nepal Life

साझा यातायात मार्फत सुरु भएको ठूला बस भित्र्याउने क्रमले ३ बर्षयता तिव्रता पाएको छ। यसले विदेशमा जस्तै सहज यात्राका लागि मेट्रो र ठूला बस चलोस् भन्ने सपना देख्ने यात्रुहरुका लागि खुशी थपेको छ। राजधानीमा ठूला र सुविधा सम्पन्न बस भित्रिएपछि यात्रुहरुले  सहजताको महसुस गर्न थालिसकेका छन्।

सरकारले ४० सिटभन्दा बढिका सवारी साधन कम्पनीका मोडलमा दर्ता भएर आएमा ८० प्रतिशतसम्म राजश्व छुट दिने व्यवस्था गरेसँगै उपत्यकाभित्र ठूला सवारी साधन भित्र्याउने एक हिसावले होडबाजीनै चलेको छ।

अहिले काठमाडौ उपत्यकाभित्र साझा यातायात, महानगर यातायात, मेट्रो सिटी यातायात, दुप्चेश्वर प्रालीका ओरेन्ज बस, बाबा गोकर्णेश्वर, नेपाल यातायात, राता बस लगायतका यातायात सेवा स‌ंचालनमा छन्। यि यातायातहरुले तछाडमछाड गर्दै एकले भन्दा अर्कोले बढी सुविधा दिने गरि सवारीसाधन भित्र्याएका छन्।

उपत्यकाबाट साना सार्वजनिक यातायातका सवारी साधन हटाउने लक्ष्यअनुसार ठूला बसहरु सञ्चालनमा आउन थालेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।  सरकारी लगानीमा एक सय वटा ठूला अन्तराष्ट्रिय स्तरका बस सञ्चालन गर्ने योजना समेत रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ। योजना अनुसार केही ढिलाइ भएपनि प्रक्रिया अघि बढेको महानगरपालिकाका अधिकृत राज्यप्रकाशन प्रधानाङगले बताए। उनले योजना अनुसार काम भएमा आगामी दशै अगावै बसहरु सञ्चालनमा आउने जानकारी दिए।

यातायात व्यवस्था विभागले 'मास ट्रान्जिट' यातायात व्यवस्था लागु गर्न पहिलो चरणमा सामाखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गर्न लागिएको जनाएको छ। नयाँ बसपार्कबाट गोगबु-लैनचौर-मैतीदेवी हुदै सिनामंगल रुटमा ठूला बस चलाउने विभागको योजनामा रहेको छ। ट्याम्पो र माइक्रोहरुसँग सम्झौता हुने प्रक्रियामा रहेको विभागले जनाएको छ।

सरकारको ठूला बस सञ्चालन गर्ने योजनालाई निजी क्षेत्रले सुविधा सम्पन्न बस भित्र्याएर टेवा पुर्याएका छन्।

साझा यातायात
राजधानीको सार्वजनिक यातायातमा साझाका बसहरु भित्रिएपछि ठूला बस भित्रिने क्रम बढेको हो।
साझा यातायात सहकारीद्धारा सञ्चालनमा रहेका साझाका बसमा ड्राइभरसहित ५५ सिट क्षमता रहेको छ।
बसभित्र अवाञ्छित गतिविधी नहोस् भनेर दुवैतर्फ सिसि क्यामरा जडित छ। यात्रुलार्इ मनोरञ्जन दिनका लागि एलइडी टिभीसमेत राखिएको छ। चढ्न र झर्नका लागि छुट्टा छुट्टै दुर्इ ढोकाहरु छन्।
 
साझाले विभिन्न रुटमा रात्रीकालिन सेवासमेत उपलब्ध गराउँदै आएको छ। यो उपत्यकामा चल्ने सबैभन्दा ठूलो बस हो।

साझाले कार्ड सिस्टम लागु गरेको छ। साझा यातायातका कार्यकारी प्रमुखका अनुसार साझा यातायातको पछाडि र अगाडिको ढोकामा २ वटा मेसिन राखिएका छन्। ती मेसिनहरुमा कार्ड राखेपछि मेसिन आफैंले भाडा काट्छ। बसमा चढ्ने क्रममा पछाडिको ढोकामा रहने मेसिनमा कार्ड राख्ने र झर्नेबेला अगाडिको ढोकामा रहेको मेसिनमा कार्ड राखेपछि यात्रुले गरेको यात्राको दुरी मेसिनले क्यालकुलेट गर्छ र आवश्यक भाडा काट्छ।

यो सेवा  लगनखेल-रत्नपार्क-नयाँ बसपार्क रुटमा सञ्चालनमा रहेको कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए। साझा बसमा काठमाडौ महानगरपालिकाको १० करोडको लगानी समेत रहेको छ।

महानगर यातायात
साझा यातायातको आगमनसँगै भित्रिएको महानागर यातायात लोकप्रिय भैसकेको छ। यी बसमा ४० सिट रहे पनि ७० जना यात्रु बोक्ने क्षमता रहेको कम्पनीको दाबी छ।

बाँकी ३० जना यात्रुका लागि सिलिङमा स्ट्राइक राखिएको छ जसमा समातेर उभिन सकिन्छ । बसमा चढ्न र ओर्लनका लागि दुइवटा ढोका छन् । गाडी फराकिलो भएको हुँदा कोचिएर यात्रा गर्नु नपर्ने कम्पनीले जनाएको छ।
कम्पनीले ल्याएका सबै बसमा जिपिएस ट्रयाकिङ सिस्टम जडित छ। मोबाइलमा एप डाउनलोड गरेर बसहरु कुन स्थानमा छन् भनेर हेर्न सकिन्छ। मोबाइलमै हेरेर बसको प्रतिक्षा गर्न सकिन्छ।
  

कम्पनीले उच्चस्तरको सुविधा दिएपनि सरकारले तोकेकै भाडा लिएको महानगर यातायातले जनाएको छ।
गन्तव्यको सूचना दिन बसमा डिस्प्ले स्क्रिन र स्पिकर राखिएको छ। गन्तव्यबारे अभ्यस्त नभएका यात्रुहरुलार्इ समेत आफु पुग्ने  गन्तव्य पहिचान गर्न सजिलो हुन्छ।  महानगरका ३९ वटा बस रिङरोडमा परिक्रमा गर्दछन्।

सिटी मेट्रो यातायात
राजधानीमा भित्रिएका सुविधा सम्पन्न बसमा सिटी मेट्रोको नाम पनि अग्रपङ्तिमा आउँछ।
सिटी मेट्रो यातायात प्रालीले १५ वटा बस सञ्चालनमा ल्याएको छ।

सिटी मेट्रोका यी बसहरु काडाँघारीबाट सुरु भएर जडीबुटी-कोटेश्वर-नयाँ बानेश्वर-बवरमहल-माइतीघर-रामशाहपथ-न्यूप्लाजा-पुतलीसडक-नक्साल-टिचिङ-महाराजगन्ज-बसुन्धरा-नयाँ बसपार्क हुँदै बनस्थलीसम्म पुग्छन् र त्यहिबाटो भएर फर्कन्छन्।

बसभित्र ४० भन्दा बढी सिट क्षमता छ। उक्लन र ‍ओर्लनका लागि दुर्इवटा ढोका छन्। बसमा एयर सस्पेन्सन सिस्टम छ। जसका कारणले अन्यभन्दा आरामदायी छ।

यी गाडी भित्र्याउँदा कम्पनीले प्रविधिको भरपुर उपयोग गरेको छ। सिटी मेट्रोको मोबाइल एपमा गाडी कहाँ छ? कहाँ आइपुग्यो भनेर हेर्न सकिन्छ। बसको स्टपपिच्छे कहाँ आइपुगियो भन्ने सूचना स्पिकरबाट बज्ने गर्दछ।

बसमा अगाडि र पछाडि दुवैतर्फ सिसि क्यामेरा राखिएको छ। जसबाट बसमा हुने चोरी, महिला हिंसा लगायतका घटनाहरु कम हुने कम्पनीले दाबी गरेको छ।  यी बस फराकिलो हुने भएकाले उभिएरै पनि सहजै यात्रा गर्न सकिन्छ। कम्पनीले ३ महिनाभित्रमा थप बस ल्याउने जनाएको छ।

ओरेन्ज यातायात
दुप्चेश्वर यातायात प्रालिद्धारा सञ्चालित १० वटा यी बसहरु चक्रपथमा  गुड्छन्। चालकसहित ५५ सिट क्षमता रहेको बसमा यात्रुको सुरक्षाका लागि सिसि क्यामरा पनि जडान गरिएको छ। तत्कालका लागि डिस्प्ले टिभी जडान गर्ने तयारी गरिरहेको अध्यक्ष चित्रबहादुर थापाले बताएका छन्।

यो बसमा ५५ जनाको सिट क्षमता छ। ओरेन्ज बसमा ढोका भने बीचमा रहेको छ। बस कहाँ छ भनेर हेर्नका लागि जिपिएस जडित छ जसले गर्दा यात्रुलार्इ बस कहाँ पुग्यो भनेर हेर्न र प्रतिक्षा गर्न सजिलो हुने दुप्चेश्वर यातायातले जनाएको छ।

यसमा बसेपछि २० रुपैयाँमा पूरा चक्रपथ परिक्रमा गर्न सकिन्छ। छोटो दुरीमा विद्यार्थीले १० र अन्यले १३ रुपैयाँ तिरे पुग्छ। सिटको क्षमता ५५ भएपनि १ सय ३० जनासम्मले यात्रा गर्न सकिने कम्पनीको दाबी छ। निकट भविष्यमा १० वटा बस थप्ने तयारी भएको कम्पनीले जानकारी दिएको छ।

बाबा गोकर्णेश्वरका ठूला बस
राजधानीका भित्री रुटहरुमा पनि ठूला बस भित्रिन थालेका छन्। लामो समयदेखि निलो रङका साना माइक्रोबसको एकाधिकार रहेको माकलबारी क्षेत्रमा समेत ठूला बस भित्रिएका छन्। बाबा गोकर्णेश्वरका नाममा यो क्षेत्रमा समेत २५ ठूला बस चल्न थालेका हुन्।

गत चैतदेखि बस सेवा सञ्चालनमा आएका हुन्। यी बसहरु माकलबारीलार्इ केन्द्र बनाएर विभिन्न रुटमा चल्ने कम्पनीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए। माकलबारीबाट गौरीघाट र जोरपाटी रुटमा बस चल्ने श्रेष्ठले जानकारी दिए।

१० वटा बस माकलबारीबाट नारायणटार-गौरीघाट-मित्रपार्क-गौशला-हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चाबहिलबाट फेरि मित्रपार्क आएर सोहि रुट फर्कन्छन्।
 
बाँकी बस नारायणटार हुँदै जोरपाटीको बाटो बौद्ध-चावहिल-हुँदै चक्रपथ परिक्रमा गरेर चावहिलबाट सोहि रुट फिर्ता हुन्छन्।

ड्राइभरसहित ३५ सिट भएका बसमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ। फराकिलो रहेको कारणले उभिएर यात्रा गर्न सहज हुने अध्यक्ष श्रेष्ठले बताए। सिट पनि अरु गाडीको भन्दा सुविधायुक्त रहेको उनको दाबी छ। यो क्षेत्रमा गोकर्णेश्वरका बस भित्रिएसँगै साना बसको एकाधिकार तोडिएको छ।

नेपाल यातायातका पनि ठूला बस
नेपाल यातायातले पनि ठूला बस सञ्चालन ल्याएको छ। नेपाल यातायातका अधिकांश बसहरु १७ बर्ष पुगिसकेका छन्।

सरकारले २० वर्षे भाडाका सवारी साधनमा पूर्णरुपमा प्रतिबन्ध लगाएकाले नयाँ बस ल्याइएको समितिका सचिव गोपालचन्द्र गुरुङले बताए। उनले जेठ ४ गतेदेखि ४ ठूला नयाँ बस सञ्चालनमा ल्याएको र थप ६ बस छिट्टै ल्याउने तयारी भइरहेको  बताए।

१८ सिट भएका मिनिबस सञ्चालन गर्दै आएको नेपाल यातायातले दोब्वर अर्थात ३६ सिटका ठूला बस सञ्चालनमा ल्याएको हो। ठूला बसमा फराकिलो स्पेस तथा ह्याङ्गर स्ट्रयाप समेत भएकाले उभिएर यात्रा गर्न समेत सहज हुने समितिले दाबी गरेको छ।

यी बसहरु पुरानै रुट गोपीकृष्ण-चक्रपथ-महाराजगञ्ज-टिचिङ-कान्ति-बालुवाटर-पुतलीसडक-अनामनगर-बानेश्वर-कोटेश्वर हुँदै बालकुमारीसम्म पुग्छन् र सोहि रुट फिर्ता हुन्छन्।

रिङरोड घुम्ने राता बस
राजधानीको चक्रपथ रुटमा राता रङका १४ ठूला बस जेठ १ गतेदेखि सञ्चालनमा आएका छन्। मध्य उपत्यका  स्वयम्भू बस सेवा समितिको नामबाट रुट इजाजत लिएर सञ्चालनमा ल्याएको संचालक राजेश डंगोलले बताए। उनले कम्पनी दर्ताको प्रक्रिया अघि बढाएको समेत बताएका छन्।

ड्राइभर सहित ४० सिट क्षमताका बस देख्दा महानगर जस्तै देखिए पनि यो महानगरभन्दा गाढा रातो रङमा उपलब्ध छन्।

एयर सस्पेन्सन प्रविधिका यी बसहरुमा यात्रुहरुको सुविधाका  लागि फस्ट-एड बक्स समेत राखिएको छ। यात्रुले नि:शुल्क वाइफाइबाट इन्टरनेट सुविधा उपभोग गर्न पाउने सञ्चालक डंगोलले बताएका छन्।

यात्रा सहजताका लागि चक्रपथमा चल्ने यी बस कतिवेला आफ्नो पायकको स्थानमा आइपुग्ने छ भन्ने यात्रुले मोबाइलबाटै थाहा पाउन सक्ने प्रविधि जडान यहि हप्ताभित्र हुने समितिले जनाएको छ। जसका लागि बसमा जडित जिपिएस प्रविधि मार्फत सूचना दिने मोबाइल एप्लिकेशन एप समेत डेभलप गरिने छ।

यो एप एन्ड्रोइड र ओएस दुवै भर्सनका मोबाइलमा उपलब्ध हुने समेत बताइएको छ।

यात्रुले उक्त एप मार्फत गाडीमा सिट खाली भए नभएको समेत हेर्न पाउने छन्। बसमा चढ्ने र झर्ने यात्रुको गणनाका लागि काउन्टर सेन्सर जडान गरिने डंगोलले बताएका छन्। आगामी दिनमा राजधानीका ठूला बसहरुसँग सहकार्य गरेर क्यास लेस प्रविधिमा जाने तयारी गरेको छ। बसमा एलइडी टिभी समेत हेरेर मनोरञ्जन लिन सकिन्छ।

विहान छ बजेदेखि बेलुकी ८ बजेसम्म नन स्टप राजधानीको रिङरोडमा फन्को मार्ने यी बसमा आरामदायी सिटका साथै १६ जनाका लागि पुग्ने ह्याङ्गिङ स्ट्रयाप समेत रहेका छन्।