snickers

विदेशी कम्पनीले लगानी ल्याए पनि विवरण राष्ट्र बैंकमा बुझाएनन्, कतिले स्वीकृति नै लिएनन्




काठमाडौं। नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले लाभांश तथा लगानी फिर्ता लैजान असार मसान्तसम्म आफ्नो लगानी लेखांकन गर्नुपर्ने भएको छ। असार मसान्तसम्म पनि लेखांकन नगराए नेपाल राष्ट्र बैंकले लाभांश तथा लगानी फिर्ता लैजान नदिने भएको छ।
 
पछिल्लो समय कतिपय कम्पनीले राष्ट्र बैंकसँग स्वीकृति नलिइ नेपालमा विदेशी लगानी भित्र्याउने गरेका छन्। स्वीकृति लिएर लगानी भित्र्याएकाहरुले पनि त्यसको लेखांकन नगराएको राष्ट्र बैंकले जनाएको छ। उनीहरुका लागि राष्ट्र बैंकले असार मसान्तसम्मको समय दिएर लेखांकन गर्न निर्देशन दिएको हो।
 
असार मसान्तसम्म पनि आवश्यक कागजपत्र ल्याएर लेखांकन नगराउनेलाई राष्ट्र बैंकले लाभांश तथा लगानी फिर्ता लैजान विदेशी मुद्राको सटही नदिने भएको हो।
 
लगानी लेखांकन गराउन कम्पनीहरुले १३ वटा कागजपत्रहरु राष्ट्र बैंकमा बुझाउनु पर्छ। राष्ट्र बैंकका अनुसार, विदेशी लगानीकर्ताले नेपाल विदेशी लगानीको रुपमा लगानी गर्दा सम्बन्धित नियमनकारी निकाय तथा संस्थाहरुको स्वीकृति पत्र सबैभन्दा पहिले बुझाउनु पर्छ।
 
त्यसपछि लगानी लेखांकन गर्नका लागि संस्थाको औपचारिक निर्णयको पत्र, राष्ट्र बैंकबाट यसअघि नै विदेशी मुद्रा भित्र्याउन प्राप्त गरेको स्वीकृति पत्र पनि बुझाउनु पर्छ। यो पत्र नलिएको भए अब लिनु पर्छ। 
 
नेपालमा लगानी कुन बैकमार्फत भित्र्याएको हो, त्यो बैंकबाट जारी भएको लगानीको प्रमाणपत्र, लगानी भित्र्याउने कम्पनी आफू कालोसुचीमा नरहेको प्रमाण, प्रबन्धपत्र तथा नियमावली, ब्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, अद्यावधिक कर चुक्ता गरेको प्रमाणपत्र पनि बुझाउनु पर्छ। 
 
ब्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति लिनु पर्ने भए त्यसको प्रमाणपत्र, विदेशी लगानीकर्ता कम्पनीको दर्ता प्रमाणपत्र र व्यक्तिको हकमा राहदानी वा त्यस्तै प्रकृतिको पहिचान खुल्ने कागजपत्र पनि लगानी लेखांकनका लागि राष्ट्र बैंकलाई बुझाउनु पर्छ।
 
लगानी गर्ने सम्बन्धि विदेशी लगानीकर्ता कम्पनीको औपचारिक निर्णय, लगानी भित्र्याउने संस्थाको लेखापरीक्षण भएको अद्यावधिक वित्तीय विवरण तथा लगानी गर्ने विदेशी संस्थाको हकमा लेखापरीक्षण भएको वित्तीय विवरण पनि अनिवार्य गरिएको छ।
 
कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक सेयरधनी दर्ता कितावका साथै राष्ट्र बैंकले आवश्यक ठानी माग गरेको स्रोत खुल्ने अन्य कागजपत्र तथा विववरण पनि वुझाउनु पर्छ। तर एक पटक पेश भइसकेका कागजातहरु भने फेरि पेश गर्नु पर्दैन।
 
राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन स्वीकृति दिएका कम्पनीहरुले भित्र्याएको शेयर तथा ऋण लगानीको विवरण प्रत्येक आर्थिक बर्ष सकिएको तीन महिनाभित्र अद्यावधिक भने गराउनु पर्छ। साथै लगानी रकम, सेयर स्वामित्व तथा लगानी संरचना परिवर्तन भएमा त्यसको विवरण पनि अद्यावधिक गराउन राष्ट्र बैंकले अनिवार्य गरेको छ।
 
विदेशी लगानीमा प्राप्त लाभांश तथा ऋणको साँवा ब्याज भुक्तानी गर्न यसअघि राष्ट्र बैंकले बैंक विभिन्न उद्योग तथा बैंकहरुलाई दिएको सम्पूर्ण स्थायी सटही सुविधा खारेज गरेको छ। अब त्यस्तो सटही सुविधा दिनुअघि राष्ट्र बैंकसँग स्वीकृति लिनु पर्ने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुड्गानाले जानकारी दिए।


Share this Story

   

विदेशी कम्पनीले लगानी ल्याए पनि विवरण राष्ट्र बैंकमा बुझाएनन्, कतिले स्वीकृति नै लिएनन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.