sagoon advert

तेल कारोबारमा नाममा भारतीय सञ्जाल विस्तार गर्दै आयल निगम, ५० पम्प खोल्ने रणनीतिक योजना




काठमाडौं । पेट्रोलियम कारोबारको एकाधिकारलार्इ थप संस्थागत गर्ने रणनीति सहित इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपालका विभिन्न स्थानमा ५० वटा पेट्रोल पम्प स्थापना गर्ने भएको छ।
 
तेल कारोबार मार्फत नेपालमा आफ्नो राजनीतिक एजेण्डा कार्यान्वयन गराउने भारतीय रणनीतिलार्इ पम्प स्थापनाले थप बल पुर्याउनेछ। नयाँ संविधान जारी भएपछि नाकाबन्दी गरेर तेल ठप्प पारेको भारतले पम्प स्थापना गरेमा भोलिका दिनमा थप समस्या आउन सक्ने चिन्ता व्यवसायीको छ। आइओसीले भुटान र श्रीलंकामा पनि पम्प खोलेको छ।


 
नेपाल आयल निगम र आइओसीको संयुक्त लगानीमा नेपालका विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने सहमति भइसकेको छ। दुई निकायबीच हालै भएको आपूर्ति सम्झौतामा यो सहमति भएको थियो। अब सरकारी तहमा स्वीकृति पश्चात यो निर्णय कार्यान्वयनमा जानेछ। नेपाल र भारतका आपूर्ति मन्त्रीले यसमा स्वीकृत दिन सक्नेछन्। राप्रपा सरकारबाट बाहिरिएपछि आपूर्ति मन्त्री खाली रहेको कारण दुई निकायबीच भएको सहमति मन्त्रालय गएको छैन।  
सरकारी स्वीकृति बाँकी रहेपनि आइओसीका कर्मसियल विभाग महाप्रवन्धक एसएस बोश नेतृत्वको पाँच सदस्यीय टोली आएर नेपालका विभिन्न पम्पको स्थलगत भ्रमण समेत गरिसकेको छ। टोलीले राजधानीमा पाँचवटा पम्पको स्थलगत निरीक्षण गरेर कारोबारबारे जानकारी लिएको थियो। स्रोतका अनुसार पम्प स्थापनाकालागि शेयर संरचना समेत तय भइसकेको छ। निगमको ५१ र आइओसीको ४९ प्रतिशत शेयर लगानीमा पम्प हुनेछ।
 
किन चाहियो भारतीय लगानीको पम्प?
मुलुकभित्र अहिलेपनि २१ सय भन्दा बढी पम्प छन्। निजी क्षेत्रले संचालन गरिरहेका पम्प तुलनात्मक रुपमा व्यावसायिक छैन। ती पम्पबाट गुणस्तर र परिमाणमा ठगिएको उपभोक्ताको चर्को गुनासो छ। यस्तोमा चुस्त नियमन गर्नुको साटो उपभोक्ता हितलाई बहाना बनाएर निगम नेतृत्वले भारतीय लगानीमा पम्प खोल्ने बहाना बनाए। 
 
संयुक्त लगानीमा पम्प खोल्दा भौतिक पूर्वाधार लगायत निर्माणमा आउने कमिशनको लालचमा निगम उच्च अधिकारीले यो प्रस्ताव भारत पुर्याए। नेपालमा प्रभाव विस्तारको उपाय खोजिरहेको भारतका लागि यो प्रस्ताव सोचे भन्दा बढी आकर्षक थियो। त्यसैले उनीहरु तत्कालै तयार भए। ५० पम्प स्थापना गर्दा कम्तिमा पनि १० अर्ब रुपैयाँ लाग्ने हुँदा १० प्रतिशत मात्र कमिसन आए पनि ‘मालामाल’ हुने बुझाइका साथ निगम नेतृत्वले यो प्रस्ताव अघि सारेको स्रोतको दावी छ। 
 
नाकाबन्दी पश्चात नेपालले चीनबाट तेल ल्याउने बिकल्प खुला गरेपछि भारत जुनसुकै हालतमा आफ्नो एकाधिकार बढाउने उपायको खोजीमा थियो। नेपालबाटै पम्प खोल्ने प्रस्ताव गएपछि उनीहरु उत्साहित भएका थिए। सोही कारण भारतीय पक्ष एक महिनामै नेपालका पम्प अध्ययन गर्न आयो।


 
उपनिवेश बनाउने काम हुँदैछ - सरोज पाण्डे
आइओसीलार्इ पम्प खोल्न दिनुका पछाडी नेपाललार्इ भारतको उपनिवेश बनाउने ‘षड्यन्त्र’ रहेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष सरोज पाण्डेले बताए।  
 
‘साधारण रुपमा हेर्दा आइओसीले पम्प खोल्दा प्रतिस्पर्धा हुने र उपभोक्ताले गुणस्तरीय तेल पाउने देखिएको छ’, उनले भने- ‘तर भित्री रुपमा आइओसीले पम्प स्थापना गरेर तेलको एकाधिकार कायम गरेर राजनीतिक प्रभाव बढाउने रणनीति प्रस्ट छ।’

कुनै विदेशी कम्पनीलार्इ खुला रुपमा ट्रेडिङमा आउन दिनु गलत हुने उनको भनाइ छ। ‘नेपालका व्यवसायी नै उच्च गुणस्तरको पेट्रोल पम्प स्थापनाका लागि सक्षम छन्,’ उनले भने- ‘नेपाली व्यवसायीलार्इ नराम्रो देखाएर भारतलार्इ व्यापारमा ल्याउन खोजिएको छ।’ 
 
भारतले भनेभन्दा कम तेल दिँदा व्यवसायीले कम परिमाणमा बेच्नु परेको यथार्थलाई निगमले वेवास्ता गरेको उनको गुनासो छ। ‘आइओसीले तेल दिँदा भने भन्दा कम परिमाण उपलब्ध गराए पनि आयल निगमले केही भन्न सकेको छैन’, उनले भने- जसको प्रत्यक्ष मारमा उपभोक्ता छन्।’


Share this Story

   

तेल कारोबारमा नाममा भारतीय सञ्जाल विस्तार गर्दै आयल निगम, ५० पम्प खोल्ने रणनीतिक योजना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.